एनपीएलमा ट्यालेन्ट हन्टको कमाल: १६ वर्षे राहुल यादवसहित चम्किँदै नवयुवा प्रतिभा

डिसी नेपाल
१७ कार्तिक २०८३ १२:२३

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नयाँ प्रतिभाहरूको उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिचेको छ। विशेष गरी जनकपुर बोल्ट्सका १६ वर्षे युवा बलर राहुल यादव दुई वटा खेलमा सानदार प्रदर्शन गरेपछि चर्चाको शिखरमा पुगेका छन्।

पहिलो खेलको पहिलो बलमै विकेट लिएका राहुलले दोस्रो खेलमा चार विकेट चट्काउँदै ‘प्लेयर अफ द म्याच’ बनेका थिए। बिहीबारको खेलपछि पोष्ट म्याच सेरोमनी र पत्रकार सम्मेलनमा प्रस्तुत भएका राहुलको चर्चा देशभर चुलिएको छ।

यद्यपि, अत्यधिक अन्तर्वार्ताका कारण ध्यान भङ्ग हुन सक्ने भन्दै टिम व्यवस्थापनले हाललाई उनको मिडिया अन्तर्वार्तामा रोक लगाएको छ। वर्षौंदेखि प्रतिस्पर्धा गरिरहेका सयौँ खेलाडीका बिच १६ वर्षे युवा कसरी टोलीमा परे र प्लेइङ इलेभेनसम्म पुगे भन्ने चासो सर्वत्र छ।

जनकपुर बोल्ट्सका टिम व्यवस्थापक अनुज जैसवालका अनुसार दसैंअघि मधेस प्रदेशका विभिन्न जिल्लाबाट कुनै पनि उमेर समूह वा लिगमा नपरेका ४ सय ४६ जनाबिच प्रतिस्पर्धा गराएर राहुलको छनोट गरिएको थियो।

रौतहटमा सञ्चालित ट्यालेन्ट हन्टबाट छानिएका राहुलसहित १० जनालाई समेटेर ‘डेभलपमेन्ट स्क्वाड’ बनाइएको थियो। जनकपुरले पहिलो संस्करणमा पनि ट्यालेन्ट हन्टमार्फत विशाल सुसलिङलाई भित्र्याएर पछि अक्सनमार्फत टोलीमा निरन्तरता दिएको थियो भने पप्पु यादवलाई पनि यसै गरी समावेश गरेको छ।

नयाँ प्रतिभाको खोजी गर्ने क्रममा अन्य टोलीहरूले पनि विभिन्न स्थानमा ट्यालेन्ट हन्ट सञ्चालन गरेका छन्। कर्णाली याक्सले सुर्खेत र सल्यानमा ३ सयभन्दा बढी खेलाडीबिच ‘एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्ट’ सञ्चालन गरेको थियो।

कन्सल्टेट प्रशिक्षक राजु बस्न्यातको नेतृत्व र प्रमुख संयोजक सरिता श्रेष्ठको टोलीले दैलेखका हिक्मतबहादुर शाही, रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्कामध्येबाट हिक्मतबहादुर शाहीलाई टोलीमा चयन गरेको छ।

त्यसैगरी, पोखरा एभेन्जर्सले स्याङ्जा र पोखरामा १ सय ५६ खेलाडीबिच प्रतिस्पर्धा गराई ‘पोखरा एभेन्जर्स ग्रिन’ र ‘पोखरा एभेन्जर्स रेड’ बनाएर खेलाएको थियो र छानिएका चार ‘गण्डकी हिरो’ मध्ये विश्वास पराजुलीलाई ‘आइकोनिक प्लेयर’का रूपमा टोलीमा समावेश गरिएको छ।

लुम्बिनी लाइन्सले पनि प्रदेशका १२ जिल्लाका १२ टोलीबिच प्रतियोगिता गराएर एकै खेलमा आठ विकेट लिने १७ वर्षीय करण घर्ती मगरलाई टोलीमा स्थान दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य एवं एनपीएल प्रतियोगिता निर्देशक धीरेन्द्र साउदका अनुसार नयाँ प्रतिभालाई अवसर दिन पहिलो संस्करणदेखि नै ट्यालेन्ट हन्टबाट कम्तीमा एक जना खेलाडी अनिवार्य चयन गर्नुपर्ने व्यवस्था गरिएको हो।

यस व्यवस्थाले भर्खरै उदाउँदै गरेका युवा खेलाडीहरूलाई स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्ने र उनीहरूबाट धेरै कुरा सिक्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *