एनपीएल: ११ मध्ये ७ अर्धशतकसहित नेपाली खेलाडीको दबदबा, रन र चौका-छक्कामा लोकेश बम अगाडि
काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वर्चस्व कायम गरेका छन्। हालसम्म शतक बन्न नसके पनि प्रहार भएका ११ अर्धशतकमध्ये ७ वटा नेपाली खेलाडीकै नाममा रहेका छन्।
बक्स अफिस जस्तै मैदानमा पनि लोकेशको दबदबा
विराटनगर किङ्सका लोकेश बम प्रतियोगितामा सबैभन्दा बढी छाएका छन्। उनले ४ खेलमा २ अर्धशतकसहित १८८ रन बनाएर सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थान ओगटेका छन्। साथै, एकै खेलमा ८७ रन जोडेर उनी व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडीसमेत बनेका छन्। लोकेशले हालसम्म सर्वाधिक १६ छक्का र ११ चौकासमेत हानेका छन्।
लोकेशका अतिरिक्त विराटनगरकै इमरान शेख, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, कर्णाली याक्सका कप्तान सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन्।
विदेशी खेलाडीतर्फ आन्द्रे रसेल, मोइन अली, शैफ हसन र डेभिड मलानले १-१ अर्धशतक जोडेका छन्। प्रतियोगिताको उच्च साझेदारी पनि विराटनगरका लोकेश बम र इमरान शेखबीच जनकपुरविरुद्ध भएको १०७ रनको रहेको छ।
८ प्लेयर अफ दी म्याच नेपालीलाई, विकेटमा मोइन अली अगाडि
हालसम्म भएका १२ खेलमध्ये ८ खेलमा नेपाली खेलाडी ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् भने ४ खेलमा मात्र विदेशी खेलाडीले यो उपाधि पाएका छन् (जसमा आन्द्रे रसेलले दुई पटक पाएका छन्)। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले प्रतिखेल ५० हजार रुपैयाँ पुरस्कार पाउने गरेका छन्।
विकेट लिने होडमा भने विदेशी खेलाडी अगाडि छन्। जनकपुरका मोइन अली र विराटनगरका एन्जेलो म्याथ्यूजले समान ७-७ विकेट लिएका छन् भने कर्णालीका कप्तान सोमपाल कामीले पनि ७ विकेट नै लिएका छन्। यस्तै, क्याच समात्ने सूचीमा कर्णालीका गुल्सन झा ५ क्याचसहित शीर्ष स्थानमा छन्।
टोलीको स्थिति र अंकतालिका
प्रतियोगितामा कर्णाली याक्सले एकै इनिङ्समा बनाएको १८७ रन हालसम्मको उच्च टोली स्कोर हो भने वर्षाले ५ ओभरमा घटाएको खेलमा सुदूरपश्चिमले बनाएको ७० रन न्यून स्कोर बनेको छ।
अंकतालिकामा ५ अंकसहित लुम्बिनी पहिलो स्थानमा छ। समान ४-४ अंक जोडेका विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिम क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्। चितवन छैटौँ, काठमाडौँ सातौँ र पोखरा अंकतालिकाको पुछारमा रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको यो प्रतियोगिता आउँदो मंसिर ५ गते समापन हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment