विगतको आत्मसमीक्षा बिना एमालेको आगामी यात्रा सम्भव छैन: महासचिव शंकर पोखरेल
काठमाडौं। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा हासिल भएका अनुभवहरूको वस्तुनिष्ठ समीक्षा नगरी पार्टीको आगामी यात्रा सहज नहुने बताएका छन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ चुनौतीहरूको सामना गर्न पार्टीले आफ्ना विगतका कमी-कमजोरीको गम्भीर विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले राज्यसत्ता सञ्चालनको जगमा उभिएर मात्र आगामी राजनीतिक रणनीति तय गर्न सकिने स्पष्ट पारे।
‘राज्यसत्ता सञ्चालनका सन्दर्भमा हाम्रा अनुभवको जगमा आगामी कार्यभार तय गर्नुपर्ने आवश्यकता छ। विगतको समीक्षा नगरी र त्यसको सही विश्लेषण नगरी अगाडिको यात्रा तय गर्न सकिने अवस्था छैन,’ पोखरेलले भने, ‘चुनौतीको सामना गर्न नयाँ सन्दर्भअनुसार अघि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा हामी अगाडि बढिरहेका छौँ।’
सम्बोधनका क्रममा पोखरेलले २०८२ साल भदौ २३ र २४ गतेका घटनाले एमालेको राजनीतिक जीवनमा ठूलो धक्का पुर्याएको स्वीकार गरे। आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेका बेला भएका ती घटनाहरूले पार्टीको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको उनको भनाइ थियो।
उक्त घटनापछि देशको राजनीति प्रतिगमनतर्फ धकेलिएको एमालेको निष्कर्ष रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रै पार्टीको नेतृत्व रहेको समयमा मुलुकमा जुन प्रकारको घटना घट्यो, त्यसले स्वाभाविक रूपमा हाम्रो पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा गर्यो। त्यसलाई सामना गर्न हामीले निरन्तर प्रयत्न गर्यौँ। खासगरी भदौ २३ र २४ पछाडि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको हाम्रो विश्लेषण रह्यो।’
मुलुकमा विकसित राजनीतिक घटनाक्रम र प्रतिगमनको खतरालाई मध्यनजर गर्दै एमालेले भूराजनीतिक चुनौतीहरूको सामना गर्न ठोस योजना बनाएर अघि बढिरहेको पोखरेलले बताए। विश्लेषणात्मक निष्कर्षका आधारमा नै पार्टीले भूराजनीतिक दबाब र संयन्त्रहरूको सामना गर्ने रणनीति तय गरी अगाडि बढ्ने प्रयत्न गरिरहेको उनको दाबी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment