बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, छ जना घाइते
धनगढी। बझाङ जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब १० बजेको समयमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरतर्फ जाँदै गरेको ‘सु.प.प्र.०१–००१ च ४३७६’ नम्बरको जिप भित्री सडकखण्डमा अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी केदारस्युँ गाउँपालिका-७ काँडाचौर निवासी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन्।
दुर्घटनामा परेर केदारस्युँ गाउँपालिका-७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय अर्का रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन्। यसैगरी, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी भने मध्यम घाइते भएकी छिन्।
दुर्घटनालगत्तै स्थानीय बासिन्दाहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेका थिए। दुर्घटनास्थल भौगोलिक रूपमा विकट र टाढा रहेका कारण त्यहाँ पुग्न प्रहरीलाई करिब तीन घण्टाको समय लागेको थियो। सूचना प्राप्त हुनासाथ इलाकाबाट प्रहरी टोली उद्धार तथा अनुसन्धानका लागि घटनास्थलतर्फ परिचालन भइसकेको छ।
प्रहरीका अनुसार बुगल नगरपालिका-२ का करिब ३१ वर्षीय मोहन धामीले उक्त जिप चलाएका थिए। उद्धार गरिएका घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment