तिहार नजिकिँदा बजारमा भाइमसला र ड्राइफ्रुट्सको मूल्य आकाशियो, आयात बढ्दा पनि आपूर्ति प्रभावित
काठमाडौं। तिहार पर्व नजिकिएसँगै नेपाली बजारमा भाइमसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुवैमा उच्च वृद्धि भएको छ। तिहारलाई लक्षित गरेर आयात बढाए पनि आपूर्ति व्यवस्था प्रभावित हुँदा उपभोक्ताहरू महँगो मूल्य तिर्न बाध्य भएका छन्।
व्यापारीहरूका अनुसार गत वर्षको तुलनामा अधिकांश ड्राइफ्रुट्समा वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य बढेको छ भने केही वस्तुको मूल्यमा अझ ठुलो छलाङ आएको छ।
विशेष गरी पिस्ताको मूल्यमा सबैभन्दा बढी वृद्धि देखिएको छ। गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले बढेर ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ भने माग र बजारको अवस्था हेर्दा यो ३ हजार ८०० रुपैयाँसम्म पुग्न सक्ने व्यापारीहरूको अनुमान छ।
आपूर्ति प्रभावित हुनुका कारणहरू
कालिमाटीका व्यवसायी अनुराग चौधरीका अनुसार गत भदौ महिनामा रसुवामा आएको विनाशकारी बाढीका कारण ढुवानी सेवा नराम्ररी प्रभावित भएको थियो। यसका साथै, दसैँका कारण भन्सार कार्यालयहरू करिब एक साता बन्द हुँदा आयात ठप्प भएको थियो।
भन्सार खुलेलगत्तै तिहारको अत्यधिक माग आए पनि समयमा पर्याप्त सामान बजारमा भित्रिन नसक्दा मूल्यमा दबाब परेको व्यापारीहरूको भनाइ छ। खरिद लागत र ढुवानी खर्च बढेका कारण खुद्रा मूल्य स्वतः बढेको उनीहरूको तर्क छ।
आयातको तथ्यांक
नेपालमा तिहारको अवसरमा दाजुभाइलाई सगुनका रूपमा काजु, बदाम, किसमिस, पिस्ता, ओखर र नरिवललगायतका ड्राइफ्रुट्स दिने चलन रहँदै आएको छ। स्वदेशी उत्पादनले बजारको माग नधान्ने हुनाले नेपालले भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका देशहरूबाट यी वस्तुहरू ठूलो मात्रामा आयात गर्ने गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १७ हजार मेट्रिक टन काजु, बदाम, हेजलनट, पिस्ता, सुपारी र नरिवललगायतका वस्तु आयात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको १६ हजार मेट्रिक टन मात्र आयात भएको थियो। यस हिसाबले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात परिमाण १ हजार मेट्रिक टनले र आयात मूल्य ३७ करोड रुपैयाँले बढेको छ। चाडपर्वका बेला भाइमसलाको माग अत्यधिक बढ्ने हुँदा बाह्य देशको निर्भरता र आयातित मूल्यको चाप नेपाली बजारमा स्पष्ट रूपमा देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment