भारतीय विदेश सचिव आज आउँदै, नवनियुक्त राजदूत मंगलबार काठमाडौं आइपुगे
काठमाडौं। नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र उच्चस्तरीय भ्रमणको तयारीका लागि भारतीय कूटनीतिक टोलीको सक्रियता बढेको छ।
भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधवार) काठमाडौं आउँदै छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिस्री काठमाडौं आउन लागेका हुन्।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय वार्ता हुनेछ। उक्त बैठकमा नेपाल-भारत सम्बन्ध, दुईदेशीय साझेदारी तथा पूर्वाधार र ऊर्जा विकासका विविध पक्षमा छलफल हुने बताइएको छ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्च अधिकारीहरू तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेटघाट गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको कार्यसूची (एजेन्डा), प्राथमिकता र सम्भावित उपलब्धिबारे गहन छलफल हुनेछ।
साथै, गत जुनमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएका छलफललाई निरन्तरता दिँदै दुई देशबिचको समग्र द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धको समीक्षा गरिनेछ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार, विदेश सचिवको यो भ्रमणले दुई देशबिचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग पुर्याउनेछ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेपछिको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुने भएकाले पनि यसको कूटनीतिक तयारीलाई दुवै देशले उच्च प्राथमिकता दिएका छन्।
यसैबीच नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले उनलाई स्वागत गरे। कार्यभार सम्हाल्न काठमाडौं आएका राजदूत दलेलाले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि उनको औपचारिक कार्यकाल सुरु हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment