पश्चिमी वायुको प्रभाव: पहाडी भूभागमा आंशिक बादल र हल्का वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भइरहेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका अन्य भूभागमा मौसम सफा रहनेछ।
यसैबीच, काठमाडौ उपत्यकालगायत देशका तराई भूभाग तथा खोँचहरूमा बिहानपख थोरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
उपत्यकामा आजको अधिकतम तापक्रम करिब २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ देखि १३ डिग्री सेल्सियसको वरपर रहने मौसम पूर्वानुमान छ। बिहानको समयमा हुस्सु र चिसो बढ्न थालेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment