यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु

डिसी नेपाल
१८ कार्तिक २०८३ १५:३३

काठमाडौं। यस वर्षको मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा परी १३३ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेक ती विपद्का घटनामा परी १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता राम केसीले त्यस्ता मनसुनजन्य विपद्बाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिनुभयो। यस वर्षको मनसुन ११८ दिनसम्म रहेको थियो।

गत वर्षको मनसुन अवधिमा १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० जना घाइते भएका थिए। उक्त अवधिमा पाँच हजार ९९५ परिवार प्रत्यक्ष प्रभावित भएका भएको प्राधिकरणबाट उपलब्ध तथ्याङकमा उल्लेख छ।

प्रवक्ता केसीका अनुसार यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट ७७ वटै जिल्ला प्रभावित भए भने मानवीय क्षतिको आधारमा ४५ जिल्ला बढी प्रभावित भएका थिए।

मनसुन अवधिमा यस बर्ष भोटेकोशी बाढी तथा असोज ७ गतेदेखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र डुवान प्रमुख विपद्का घटनाका रूपमा रहेका छन्। यसै बर्षको मनसुन अवधिमा बुढीगण्डकी बाढीबाट गोरखा जिल्ला समेत प्रभावित भयो।

प्राधिकरणका अनुसार यस वर्षको मनसुनमा समग्रमा औसत वर्षा भएको थियो। तथापि, छोटो अवधिमा भएको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *