आयुष्मान र साराको फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रतिबन्ध

डिसी नेपाल
२ कार्तिक २०८३ १२:२९

काठमाडौं। बलिउड कलाकार आयुष्मान खुराना र सारा अली खान अभिनीत नयाँ हिन्दी फिल्म ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको आधिकारिक वितरण कम्पनी नेसनल सिने ग्रुपलाई औपचारिक पत्र लेख्दै सो फिल्म प्रदर्शनका लागि अनुमति नदिइएको स्पष्ट उल्लेख गरेको छ।

आकाश कौशिकको निर्देशनमा बनेको यो फिल्म यही शुक्रबारदेखि नेपालका सिनेमा घरहरूमा प्रदर्शनको तयारीमा थियो। तर, मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ (३) ले पूर्ण रूपमा निषेध गरेको विषयवस्तुमा चलचित्र निर्माण भएको पाइएकाले सोही नियमानुसार सार्वजनिक प्रदर्शनको अनुमति दिन नसकिएको जनाएको छ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ ले यस्ता संवेदनशील विषयवस्तु भएका फिल्मको प्रदर्शन उपयुक्त नहुने ठहर गरेको छ। ऐनको एउटा महत्त्वपूर्ण बुँदामा भनिएको छ, ‘कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको वा विभिन्न वर्ग वा जातिका बीचको सुसम्बन्धमा खलल वा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन।’

‘उड्ता तीर’ मुख्यतया एउटा स्पाई-कमेडी (जासुसी हास्य) विधाको फिल्म हो। निर्देशक आकाश कौशिकको यो पहिलो फिचर फिल्म हो। यस फिल्मलाई धर्मा प्रोडक्सन्स र सिख्या इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गरेका हुन्।

फिल्ममा अभिनेता आयुष्मान खुरानाले ‘बिलाल अहमद’ नामका एक पाकिस्तानी जासुसको मुख्य भूमिका निर्वाह गरेका छन्। कथा अनुसार उनलाई भारतमा एउटा विशेष गुप्त मिसनका लागि पठाइन्छ।

तर, एउटा अनपेक्षित दुर्घटनापछि उनले आफ्नो पुरानो स्मृति (याददाश्त) गुमाउँछन्। स्मृति गुमाएपछि उनले आफूलाई भारतीय प्रतिआतङ्कवाद अधिकारी ठान्न पुग्छन् र अद्भूत देशभक्तिमा डुबुल्की मार्दै अघि बढ्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *