हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

भीष्मराज ओझा/रासस
२ कार्तिक २०८३ १०:५०

काठमाडौं। नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकहरूले यही असोज ६ गते भुटानमा आयोजना हुने ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’का अवसरमा ‘हिमालय याक कृषक सञ्जाल’को औपचारिक शुभारम्भ गर्दैछन्।

हिमालय क्षेत्रका याक कृषक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यस सञ्जालको स्थापना कृषक, सरकार र विकास साझेदारहरूबीच करिब एक दशकदेखि निरन्तर जारी सहकार्यको महत्त्वपूर्ण प्रतिफल हो।

जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण तथा तीव्र बसाइँसराइका कारण हिमाली समुदायले सामना गरिरहेका विभिन्न जटिल चुनौतीहरूको समाधानका लागि यो सञ्जाल स्थापना हुन लागेको हो। भुटानमा हुने उक्त विशेष महोत्सवमा भुटानका राजा तथा प्रधानमन्त्रीको समेत सम्मानजनक उपस्थिति रहने इसिमोडले जनाएको छ।

यो सञ्जाल याक कृषक समुदायहरूबीच सामूहिक पैरवी, ज्ञान तथा अनुभवको आदानप्रदान, क्षमता अभिवृद्धि र आपसी सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको एक साझा क्षेत्रीय मञ्च हो।

कृषकहरूकै पहलमा स्थापित र उनीहरूकै नेतृत्वमा सफलताका साथ सञ्चालित विश्व ‘रेनडियर एसोसिएसन’को मोडेलबाट प्रेरित यस सञ्जालको मुख्य नेतृत्व पनि हिमालय क्षेत्रका याकपालक कृषकहरूले नै गर्नेछन्। यस सञ्जालको केन्द्रीय सचिवालय भुटानमा रहनेछ।

उक्त महोत्सवमा याक तथा चौँरी कृषक महासङ्घ नेपाल, भुटान याक महासङ्घ र भारत याक महासङ्घका प्रतिनिधिहरूका साथै नेपाल, भुटान र भारतका सरकारी प्रतिनिधिहरू, विषयगत अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागिता रहनेछ। यो ऐतिहासिक महोत्सव यही असोज ६ र ७ गते भुटानमा आयोजना हुँदैछ।

हिमाली भेगमा बसोबास गर्ने सर्वसाधारणको जीविकोपार्जन, स्थानीय संस्कृति र हिमाली अर्थतन्त्रमा याकपालनको अत्यन्तै महत्त्वपूर्ण योगदान रहँदै आएको छ। तथापि, तिनै देशका याकपालक समुदायहरूले उस्तैप्रकृतिका धेरै चुनौतीहरू झेलिरहेका छन्।

इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार याकपालक समुदायले खास गरी याक तथा चौँरीको सङ्ख्यामा आइरहेको तीव्र गिरावट, चरन क्षेत्रहरू खुम्चिँदै र क्षयीकरण हुँदै जानु, जलवायु परिवर्तनका नकारात्मक असरहरू, याकको आनुवंशिक विविधतामा ह्रास आउनु, वन्यजन्तुको आक्रमणबाट हुने पशुधनको क्षति, आधुनिक बजार तथा भेटेरिनरी सेवामा सीमित पहुँच र उच्च पहाडी एवं हिमाली क्षेत्रबाट युवा पुस्ताको बढ्दो बसाइँसराइजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्।

यी समस्याहरू कुनै एक देशको राष्ट्रिय सीमाभित्र मात्र सीमित नरही सम्पूर्ण हिमाली क्षेत्रभर फैलिएकाले तिनको दीर्घकालीन समाधानका लागि बलियो क्षेत्रीय सहकार्य अपरिहार्य बनेको हो।

हिमालय याक कृषक सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सीमापार सहकार्यका लागि एउटा अभूतपूर्व मञ्च प्रदान गर्नेछ। तीनै देशका राष्ट्रिय महासङ्घहरूलाई एउटै साझा थलोमा ल्याउँदै यस सञ्जालले हिमाली समुदायको उत्थानशील जीविकोपार्जनका अवसरहरू विस्तार गर्ने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोतहरूको संरक्षणलाई थप सुदृढ बनाउने मुख्य लक्ष्य राखेको विशेषज्ञ दोर्जीको भनाइ छ।

यस क्षेत्रीय याक कृषक सञ्जालको प्रारम्भिक परिकल्पना सन् २०१६ मा गरिएको थियो। त्यस समयमा इसिमोडको ‘कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहल’मार्फत तीनै देशका याक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधिहरू पहिलो पटक एकै ठाउँमा भेला भएका थिए।

त्यसपछि सन् २०१८ मा यस क्षेत्रका प्रतिनिधिहरू नर्वेमा आयोजित ‘आर्कटिक फ्रन्टियर्स सम्मेलन’मा सहभागी भई विश्व रेनडियर कृषक सङ्घका प्रतिनिधिहरूसँग गहन अन्तरक्रिया गरेका थिए।

उक्त सङ्घले अपनाएको सफल सीमापार मोडेलबाट प्रभावित भई हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै किसिमको क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकास भएको हो। त्यसपछि तीनै देशले क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि आ-आफ्नो देशमा सशक्त राष्ट्रिय महासङ्घ गठन गर्ने सहमति जुटाएका थिए। सोही सहमतिअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासङ्घहरू औपचारिक रूपमा गठन भएका थिए।

यस्तै, सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशहरूका लागि दिगो पशु कृषि सम्बन्धी दशौँ सम्मेलनका क्रममा तीनै देशका महासङ्घका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिहरूले ‘हिमालय याक कृषक सञ्जाल’को स्थापना गर्ने औपचारिक प्रतिबद्धता व्यक्त गरेका थिए। भुटानको रोयल हाइल्यान्ड महोत्सवमा हुन लागेको यो औपचारिक शुभारम्भ हिमालयका याक कृषक समुदाय र उनीहरूका साझेदार संस्थाहरूबीच करिब एक दशकदेखि हुँदै आएको अथक सहकार्यको महत्त्वपूर्ण उपलब्धि हो।

तीन देशमा चरन क्षेत्र र याकपालनको वर्तमान अवस्था

समग्र हिन्दूकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भू–भाग प्राकृतिक चरन क्षेत्रले ओगटेको छ। आफ्नो जीविकोपार्जनका लागि प्रत्यक्ष रूपमा चरन क्षेत्रमा निर्भर रहेका २ करोड ५० लाखदेखि ३ करोड आदिवासी तथा स्थानीय समुदायका लागि यो क्षेत्र नै आम्दानी र जीवनयापनको प्रमुख स्रोत बनेको छ।

नेपालको राष्ट्रिय कृषि गणना (२०२०/२१) को तथ्याङ्क अनुसार, देशका ९ हजार ८९९ कृषक परिवारले अनुमानित ५३ हजार १९५ वटा याक, नाक र चौँरी पालेका छन्। नेपालको कर्णाली प्रदेशमा मात्रै चरन क्षेत्रले प्रदेशको कुल क्षेत्रफलको ३४ प्रतिशत हिस्सा ओगटेको छ।

कर्णालीका चरन क्षेत्रहरूमा ९२ प्रजातिका बहुमूल्य औषधीय वनस्पतिहरू पाइन्छन्, जसमध्ये ८२ प्रजातिको हाल बजारमा सक्रिय रूपमा व्यापारिक कारोबार हुने गरेको छ। यी बहुमूल्य जडीबुटीको व्यापारबाट मात्रै सो क्षेत्रमा वार्षिक करिब ३ करोड ६० लाख नेपाली रुपैयाँ आम्दानी हुने गरेको छ।

यसैगरी, भारतको २०औँ पशुधन गणना (२०१९) अनुसार, त्यसबेला देशभर करिब ५८ हजार याक रहेका थिए। तर, याक फेडेरेसन अफ इन्डियाका अनुसार सन् २०२६ मा आइपुग्दा फेडेरेसनका ५२६ सदस्य घरधुरीहरूसँग करिब ३२ हजार मात्र याक बाँकी रहेका छन्।

अर्कातर्फ, भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनएसबी) को सन् २०२४ को प्रतिवेदन अनुसार, देशका ७४६ घरधुरीले कुल २९ हजार ४३२ वटा याक पालेका छन्। भुटानको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान करिब चार प्रतिशत रहेको छ।

नेपाल, भुटान र भारत तीनै देशमा विगत केही दशकयता भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको तीव्र क्षयीकरण, जलवायुजन्य दबाब र सामाजिक–आर्थिक परिवर्तनका कारण याकको सङ्ख्यामा उल्लेख्य गिरावट आइरहेको इसिमोडको तथ्याङ्कले स्पष्ट पार्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *