नेपालको आँखा स्वास्थ्य सेवा: मानवीय सेवासँगै विदेशी मुद्रा आर्जनको बलियो आधार
काठमाडौं। नेपालले आँखा स्वास्थ्यका क्षेत्रमा हासिल गरेको अभूतपूर्व उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकहरूलाई निरन्तर प्रदान गरिरहेको उपचार सेवा तथा विभिन्न मुलुकहरूमा सञ्चालन गर्ने निःशुल्क आँखा शिविरहरू यसको उत्कृष्ट उदाहरण हुन्। हाल सङ्घको सञ्जालभित्र २८ वटा आँखा अस्पताल र २२६ वटा आँखा उपचार केन्द्रहरू सक्रिय रहेका छन्।
यी अस्पताल तथा उपचार केन्द्रहरूले उत्कृष्ट सेवा प्रदान गरेपछि आँखाको इलाजका लागि काठमाडौँ धाउनुपर्ने वा सीमापारि पुग्नुपर्ने बाध्यताको अन्त्य गरिदिएका छन्। अचेल परिस्थिति बदलिएको छ; सीमापारिबाट हजारौँ बिरामीहरू उपचारका लागि नेपाल आउने गरेका छन्।
उनीहरूका लागि नेपाली आँखा अस्पतालहरू दृष्टि जोगाउने भरोसाका केन्द्र बनेका छन्। नेपाली नेत्र चिकित्सकहरूको उच्च दक्षता, भित्रिएका आधुनिक प्रविधि तथा नवीन उपकरणहरूको अधिकतम प्रयोगले नै यो जनविश्वास आर्जन गरेको हो। यसै भरोसाका कारण नेपालको स्वास्थ्य क्षेत्रमा वैदेशिक आम्दानीको नयाँ सम्भावना ढोका खुलेको छ।
यसै विषयमा नेपाल नेत्रज्योति सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तले भने, “नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन थालेको छ। नेपालका आँखा अस्पतालहरूमा उपचार गराउन आउने विदेशी बिरामीहरूको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ। उनीहरूबाट प्राप्त हुने आम्दानीले देशका लागि नयाँ आर्थिक सम्भावनाहरू उजागर गरिदिएको छ।”
उनका अनुसार संघको सञ्जालभित्रका अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/८३ मा मात्रै विदेशी बिरामीलाई उपचार सेवा दिएबापत १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी विदेशी मुद्रा देशमा भित्र्याएका छन्। पन्तले थपे, “यो केवल एउटा आर्थिक तथ्यांक मात्र होइन, नेपाली स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय जगत्मा कमाएको अभूतपूर्व विश्वासको गतिलो नमुना पनि हो। यति ठूलो परिमाणमा विदेशी मुद्रा भित्र्याउनुले प्रचुर सम्भावनाका नयाँ ढोकाहरू खोलिदिएको छ।”
गुणस्तरीय सेवाले निर्माण गरेको जनविश्वास
नेपालमा उपचारका लागि आउने विदेशी बिरामीमध्ये सबैभन्दा धेरै भारतका रहेका छन्। यसबाहेक बङ्गलादेश, भुटान र अन्य विभिन्न मुलुकका नागरिकहरूले पनि नियमित रूपमा नेपाली आँखा अस्पतालहरूको सेवा लिइरहेका छन्।
बिरामीका आफन्तहरूले उपचारका लागि आफ्ना मान्छेलाई अर्कै देशमा लैजाने निर्णय गर्नु सामान्य कुरा होइन। यसमा उपचारको गुणस्तर, चिकित्सकप्रतिको भरोसा, उपचार खर्च, सेवाको सहज पहुँच, पर्खने समय र विगतका अनुभवहरू जस्ता पक्षहरूले अहम् भूमिका खेलेका हुन्छन्।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले भने, “आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा सङ्घअन्तर्गतका अस्पताल र केन्द्रहरूले स्वदेशी तथा विदेशी गरी कुल ५ करोड २ लाख ४८९ जना बिरामीलाई आँखा उपचार सेवा प्रदान गरिसकेका छन्। यसका साथै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको सफल शल्यक्रिया भइसकेको छ।”
डा. मिश्रले अगाडि भने, “अनुभवी नेत्र विशेषज्ञ, अत्याधुनिक प्रविधि, शल्यक्रियाको उत्कृष्ट नतिजा, बिरामीप्रतिको समर्पण, छोटो पर्खाइ अवधि र सर्वसुलभ खर्चका कारण नै नेपाली आँखा उपचार पद्धति अब्बल बनेको हो। यसै कारण सीमावर्ती क्षेत्रका साथै अन्य देशका बिरामीहरू पनि नेपाली आँखा अस्पतालमै आएर सेवा लिन रुचि देखाइरहेका छन्।”
विदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमित रहँदैन। उनीहरूले उपचार खर्चबाहेक स्थानीय होटल, यातायात, खानपान, औषधि र बजारमा समेत रकम खर्च गर्दछन्। बिरामीसँग आउने सहयोगी तथा परिवारका सदस्यहरूले गर्ने खर्चले अन्य व्यावसायिक गतिविधिहरूलाई पनि चलायमान बनाएको छ।
धेरैजसो बिरामीहरूले उपचारसँगै नेपालका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणसमेत गर्ने गरेका छन्। यसरी आँखा स्वास्थ्य पर्यटनले अस्पतालबाहिरका व्यवसाय र रोजगारी सिर्जनामा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ।
अन्धोपन न्यूनीकरणमा नेपालको आफ्नै अभ्यास
नेपालबाट रोकथाम र उपचार गर्न सकिने अन्धोपनलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ वि.सं. २०३५ मा नेपाल नेत्रज्योति संघको स्थापना भएको थियो। त्यस समयमा विशेषज्ञ आँखा उपचार सेवा सीमित सहरहरूमा मात्रै केन्द्रित थियो, जसले गर्दा ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरू सेवाबाट वञ्चित थिए।
संघका अनुसार त्यसयता अस्पताल र उपचार केन्द्रहरूको सञ्जाल विस्तार गर्दै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया र अन्य विशेषज्ञ सेवाहरू गाउँ-गाउँसम्म पुर्याइएको छ। समुदायमै पुगेर आँखा परीक्षण गर्ने र जटिल बिरामीलाई अस्पतालसम्म प्रेषण गर्ने अभ्यासले सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन ठूलो सहयोग गरेको छ।
तथ्याङ्क अनुसार नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर अहिले करिब ०.२८ प्रतिशतमा सीमित भएको छ। सन् २०३० सम्ममा यस दरलाई ०.२० प्रतिशतमा झार्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ। दृष्टि जोगिनु भनेको व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिने विषय भएकाले यस उपलब्धिको सामाजिक महत्त्व निकै उच्च छ।
सङ्घका महासचिव भरतबहादुर चन्दले भने, “सङ्घको मूल उद्देश्य सम्पूर्ण नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। यही सामाजिक उत्तरदायित्वलाई कायम राख्दै सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान थप उँचो हुनेछ र देशको आर्थिक गतिविधिमा समेत ठूलो टेवा पुग्नेछ।”
चन्दले थप स्पष्ट पार्दै भने, “अब आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउनु आवश्यक छ। साथै, अस्पतालको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन सरकारले ध्यान दिनुपर्छ। स्वास्थ्य संस्थाहरूबीचको सहकार्य र अन्तर्राष्ट्रिय बजारीकरणलाई विस्तार गर्नु पनि उत्तिकै आवश्यक छ।”
समग्रमा, नेपालको आँखा स्वास्थ्य सेवा केवल रोगको उपचार र दृष्टि पुनःस्थापनामा मात्र सीमित छैन। यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एउटै सूत्रमा बाँधेको छ। सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य क्षेत्र देशको आर्थिक समृद्धि र विदेशी मुद्रा आर्जनको प्रमुख आधार बन्न सक्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment