साँच्चै नेपाल बिग्रिन लागेकै हो त?
पृष्ठभूमिसँगै बजारको वर्तमान भाष्य
आजकल नेपालको राजनीतिक तथा सार्वजनिक बहसमा अरू रचनात्मक विषयहरूले प्राथमिकता पाएका छैनन्। मूलतः देशका “मै हुँ” भन्ने स्थापित राजनीतिज्ञ र हाल विपक्षमा रहेका विद्वानहरू दिनहुँजसो युट्युब तथा सामाजिक सञ्जालमा देखा परेर हालको दुई-तिहाइ बहुमतप्राप्त बालेन सरकारलाई सत्तोसराप गर्नमै व्यस्त देखिन्छन्।
कोही संसद्मा निरन्तर हंगामा मच्चाइरहेका छन् भने कोही अनलाइन माध्यममा एउटा-एउटा टीका-टिप्पणी गर्दै सरकारलाई अलिकति पनि टिक्न र सहज रूपमा काम गर्न नदिने वातावरण बनाइरहेका छन्।
अर्काले गरेको राम्रो कामको सराहना गर्नु त परै जाओस्, सरकारले कहाँ बिराउँछ, कहाँ गल्ती गर्छ वा कहाँ खोट भेटिन्छ भन्ने कुराको मात्र खोजी गरी समाजमा भ्रम फैलाउने र वातावरण भाँड्ने दुष्प्रयास भइरहेको देखिन्छ।
नेपाली विद्वानहरूको चिन्तन शैली र प्रवृत्तिको विश्लेषण
यो हाम्रा कतिपय राजनीतिक विश्लेषक तथा विद्वान भनाउँदाहरूको मानसिक रोगजस्तै बनेको छ। अरूलाई भित्तामा पुग्ने गरी गाली नगरेसम्म आफूले खाएको भात नै नपच्ने प्रवृत्तिले गर्दा नै आज देशमा जस्तोसुकै योग्य र नेतृत्वदायी व्यक्ति आए पनि सरकार चलाउन नसक्ने, बुद्धि नभएको, काँचो, ठेट्ना र अपरिपक्व भनी चौबीसै घण्टा फलाक्ने काम भइरहेको छ।
आफू कहिल्यै निश्चित गन्तव्यमा नपुग्ने र अरूलाई पनि पुग्न नदिने यस्तै नकारात्मक प्रवृत्तिले गर्दा देश सधैँ अप्ठ्यारो र अस्थिरताको चक्रब्यूहमा फसिरहेको हो।
नेपालमा जेन्जी आन्दोलनपश्चात् बनेको यो दुई-तिहाइ बहुमतको सरकारले काम गर्न थालेको कति नै समय भएको छ र! सिर्फ चार महिना। चार महिनाको छोटो अवधि भनेको त आमाको गर्भभित्र हुर्कँदै गरेको भ्रूणजस्तै हो, जसको पूर्ण विकास हुन निश्चित समय लाग्छ।
यो सामान्य व्यावहारिक कुरा पढेलेखेका विद्वान, डाक्टर, सेवाग्राही, कृषक, व्यापारी र सर्वसाधारण सबैले बुझ्नुपर्ने होइन र? पक्कै पनि बुझ्नुपर्ने हो।
सरकारलाई निरन्तर रचनात्मक सुझाव र सल्लाह दिनुको साटो केवल विरोधका लागि विरोध मात्र गरिरहने दुष्प्रवृत्तिलाई आजैका मितिदेखि सबैले त्याग्नैपर्छ। यसको सट्टा देशलाई कसरी माथि उठाउने र सुशासन कायम गर्ने भन्नेतर्फ सबैको ध्यान जानु नितान्त आवश्यक छ।
सरकारलाई काम गर्न दिने न्यूनतम अवधि र पुरानो नेतृत्वको चरित्र
यो सरकारलाई कमसेकम तीन वर्ष ढुक्कसँग काम गर्न दिनुपर्छ। उसले कहाँ, के र कसरी काम गर्दैछ भन्ने कुरा धैर्यतापूर्वक हेर्नुपर्छ। सरकारमा बस्नेहरू ह्विस्की-बियर खाएर ऐस-आराम गरिरहेका छन् कि बिहानैदेखि आफ्ना कार्यालयमा पुगेर जनताको काममा खटिएका छन्, त्यसको सूक्ष्म अनुगमन हुनुपर्छ।
विगत ३० वर्षअघि गणतन्त्र र लोकतन्त्र ल्याएको दुहाइ दिँदै अनेक काण्डमा मुछिएका र अकुत सम्पत्ति कमाएका केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरूको जस्तो सरकार अवश्य पनि यो होइन।
यो त अहिलेसम्म भ्रष्टाचारको ‘भ’ सम्मको गन्ध नलागेका एक देशभक्त प्रधानमन्त्री बालेनको सरकार हो; जहाँ भ्रष्टाचार गर्ने जो-कोही मन्त्री वा राष्ट्रसेवकलाई नियम-कानुन अनुसार ठाडो र तुरुन्त कारबाही हुन्छ।
प्रधानमन्त्रीले देशका लागि काम भइरहेको र कतै गल्ती भइहालेमा त्यसलाई सच्याएर अघि बढ्ने प्रण गरिसकेका छन्। इमानदार र कम बोल्ने, तर काममा विश्वास गर्ने प्रधानमन्त्री देशले पाउँदा कसलाई के आपत्ति भयो?
विगत ३० वर्षमा देशलाई खोक्रो बनाएका पूर्वशासकहरूले आज यो भएन र उ भएन भन्नुको मुख्य कारण सत्तामा बसेर रजाइँ गर्न नपाउनुको छटपटी र कोकोहोलो मात्र हो, अरू केही होइन।
सत्ताबाट भित्तामा पुगेका कुनचाहिँ पुराना नेताहरूले उनलाई मन पराएका छन् र? कोही उपचारको बहानामा सिङ्गापुर भागेर राजनीतिको नयाँ जाल बुन्दै, सम्भव भए छैटौँ पटक प्रधानमन्त्री बनेर देशलाई थप दोहन गर्ने र ऐस-आराम गर्ने धुनमा छन्।
कोही गुण्डुमा बसेर आफ्ना अतीतका सुख-सयल, दम्भ र जनताप्रति गरेको नृशंस हत्या/हिंसाको लेखाजोखा गर्दै आफ्ना झोलेहरूलाई “उठ साथी हो, बालेन सरकार सरकार नै होइन, उनी जनताले भोट हालेर जितेका व्यक्ति होइनन्, दुष्ट जनताहरूबाट अरूको सीता खाएर हालेको मतबाट जितेका बालक हुन्” भन्दै ठूलो राग अलापेर दिनरात डुकुरिरहेका छन्।
अर्कातर्फ प्रचण्ड प्रधानमन्त्री हुन नपाएको झोंकमा दिनरात सुट-प्यान्ट र टाई लगाएरै “अझै म नै कट्टर माओवादी हुँ र देश विकास गर्ने जिम्मा मेरै हो” भन्दै जनतालाई ढाँट्ने र झुक्याउने कोसिस गरिरहेका छन्।
आफ्ना मरिसकेका विचारहरू बोकेर कहिले सहर, कहिले गाउँ, कहिले डाँडापाखा त कहिले पँधेरामा पुगेर २-४ गाग्रो पानी लिन आएका महिलाहरूलाई कानेखुसी गर्दै “यो सरकार ढालौँ, मलाई प्रधानमन्त्री बनाउनुभयो भने फेरि जे मन लाग्यो त्यही गर्न छुट हुन्छ” भन्दै ताल न तुुकका कुरा गर्दै हिँडेका देखिन्छन्।
पुराना नेताहरूको जीवनशैली र नियति
धन्य छ, यी तीन नेताहरूको जीवन र जीवनका चरित्रहरू! आजसम्म जनतालाई ढाँटेर, भ्रममा पारेर र सत्ता टिकाउन अनेक लोभ-लालच देखाइ जनतालाई दिग्भ्रमित गर्ने यस्ता नेताहरूलाई जेन्जी आन्दोलनपछि पनि अझै चेत र चेतना आएको छैन।
सधैँ एउटै खालका पुराना शासकहरूको यहाँ अब राज हुनुहुँदैन। ३० वर्षसम्म देशको शासन हातमा लिएर न विकास, न समृद्धि, न त राज्य र अर्थतन्त्रमा कुनै सुशासन कायम गर्न सके। यस्ता असफल नेताहरूलाई देशले अब कुनै पनि हालतमा स्वीकार्न सक्दैन, चाहे उनीहरूले जतिसुकै “अब गर्छु” भनेर भाषण किन नगरून्।
अब देशमा जे गर्छ, यही सरकारले गर्छ। पुराना र खोक्रा नेताहरूलाई कानुन र नियम अनुसार जे-जस्तो कारबाही वा व्यवस्थापन गर्नुपर्ने हो, यो सरकारले गरे हुन्छ। यो गनाउने पोकोलाई कहाँ लगेर फाल्नुपर्ने हो, फ्याँके हुन्छ; नत्र यसले देशमा थप विसङ्गति र विकृति नल्याउला भन्न सकिन्न।
वर्तमान सरकारको दायित्व र कार्यदिशा
अबको सरकारको मुख्य जवाफदेहिता भनेको देशमा पिएसिएका, निर्धा, निमुखा र मध्यमवर्गीय जनसमुदायलाई भरपूर राहत दिने नै हो।
उनीहरूका लागि गाँस, बास र कपासको उचित व्यवस्था मिलाउने, साना तथा मध्यम वर्गलाई करमुक्त वा करमा छुट दिने, कृषि र कृषिजन्य उत्पादनमा विशेष जोड दिने र खेतीयोग्य जमिन कुनै पनि अवस्थामा बाँझो राख्न नदिने नीति लिनुपर्छ। कसैले जमिन बाँझो राखेमा त्यसलाई सरकारीकरण गरी उत्पादनमा जोड्ने र बजारमा कृषिजन्य वस्तुको अभाव हुन नदिने व्यवस्था मिलाउनुपर्छ।
उद्योग-व्यापारमा नाफाखोरी र ठगी गर्नेहरूलाई तत्काल भारी जरिवानासहित कडा चेतावनी दिने र बजार व्यवस्थापन चुस्त बनाउने काम हुनुपर्छ। कालोबजारी गर्ने जुनसुकै निकायलाई हदैसम्मको सजाय तत्काल तोक्ने, बन्द भएका सबै सरकारी तथा निजी उद्योगहरू पुनः सञ्चालनमा ल्याउने र युवाहरूलाई भरसक विदेश जानबाट रोक्ने वातावरण बनाउनुपर्छ।
यसैगरी, सामाजिक सञ्जालमा सत्य र तथ्य कुराहरू प्रमाणसहित मात्र सम्प्रेषण गर्न निर्देशन दिने, देशमा भ्रम र अफवाह फैलाउने मनगढन्ते समाचार छाप्ने पत्रपत्रिका तथा मिडियालाई सचेत गराउने र सरकार स्वयं कुनै पनि कुरामा नचुक्ने अनि नचिप्लिने गरी सतर्क भएर काम गर्नुपर्छ।
परराष्ट्र मामिलामा ठूलो विचार पुर्याएर प्रस्तुत हुने, देशको हितका लागि आवश्यक सहयोग खुला रूपमा लिने, विश्व रंगमञ्चमा बलियो कूटनीतिक सम्बन्ध कायम गर्ने तथा छिमेकी राष्ट्रहरू भारत र चीनसँग सधैँ सुमधुर र सन्तुलित सम्बन्ध कायम राख्ने काम यो सरकारले गर्नुपर्छ। यसैमा नै यो सरकारको पूर्णता, सबलता र सफलता निर्भर रहनेछ।
निष्कर्ष
विगतका घटना र परिघटनाहरूलाई मिहीन ढंगले अध्ययन गरी आजको लोकतान्त्रिक युगमा एउटा इमानदार सरकारले जनतालाई के र कसरी हेर्नुपर्छ, उनीहरूको दैनिक उपभोग्य वस्तु सुलभ मूल्यमा उपलब्ध गराएर कसरी मन जित्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। योग्यता र सिप अनुसारको रोजगारी स्वदेशमै प्रदान गरी नेपालीहरूलाई विदेशमा श्रम बेच्न जाने बाध्यता अन्त्य गर्नुपर्छ।
राजनीतिमा पूर्ण इमानदारिता कायम गर्दै अर्थ-राजनीतिलाई चुस्त, दुरुस्त र सबैका लागि फलदायी बनाउनुपर्छ। भ्रष्टाचारमाथि निरन्तर नियमन र नियन्त्रण गरी राज्यमा सुशासनको प्रत्याभूति जनतालाई दिलाउनुपर्छ।
उद्योग-कलकारखानाहरू तीव्र रूपमा खोल्दै जानुपर्छ र देशमा कुनै पनि वस्तुको अभाव हुन दिनु हुँदैन। देश विकास हुन नदिने र सधैँ विरोध मात्र गरेर हिँड्ने तत्त्वहरूलाई कानुनको दायरामा ल्याएर ठेगान लगाउनैपर्छ।
प्रधानमन्त्री जनताको प्रत्यक्ष समर्थन र मतको भावनाबाट आएका हुनाले उनी बेलाबेलामा जनताकै माझमा खुला रूपमा उपस्थित भई देशबासीलाई सम्बोधन गरिरहनुपर्छ। परराष्ट्र नीति अत्यन्त दर्बिलो र नेपालको राष्ट्रिय स्वाभिमान तथा इज्जत बढाउने खालको हुनुपर्छ, ताकि कसैले पनि नेपाललाई हेप्न र दबाउन नसकोस्।
No ads found for this position




Facebook Comment