दशैं मनाउन गाउँ फर्कनेको घुँइचो: दशैं गाउँमा नै रमाइलो

डिसी नेपाल
२ कार्तिक २०८३ ६:४७

कर्णाली। बडादशैं नजिकिएसँगै देश तथा विदेशबाट घर फर्कनेहरूको यतिबेला कर्णालीका सडक र विमानस्थलहरूमा बाक्लो घुँइचो लागेको छ। टिकट पाउन निकै सकस हुनुका साथै यात्रा खर्चिलो र कष्टकर भए पनि परिवार, आफन्त र इष्टमित्रहरूसँग भेट हुने आशामा यात्रुहरू खुसीसाथ गाउँतिर हानिएका छन्।

अमेरिका र युरोपदेखि खाडी मुलुक तथा भारतका विभिन्न स्थानमा काम गर्न गएका परदेशीहरू दसैँमा परिवारसँग पुनर्मिलन हुने आशाले बाटोका सबै दुःख भुल्दै यात्रा गरिरहेका छन्। वर्षौंपछि आफन्त र सङ्गी-सङ्गीनीहरूलाई भेट्ने व्यग्र चाहनाले गर्दा साना-ठूला सास्तीका बाबजुद यात्रुहरूको अनुहारमा खुसी र उमङ्ग देखिन्छ।

भारतको बैंगलोरबाट घर फर्केका जुम्ला तिला गाउँपालिका*४ का नमराज शाहीले सहरको कोलाहलबाट गाउँ पुग्दा शान्तिभूमिको अनुभूति भएको बताए।

“सहरमा घरहरू जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी भेटिन्छ,” उनले भने, “गाउँमा घरहरू छुट्टाछुट्टै भए पनि सोच, मन र मानवीय भावनाहरू अति नजिक छन्।” उनले यतिबेला गाउँमा सिमी, मकै, कोदो जस्ता बाली भित्र्याउने, न्वागी खाने, छिमेकीबीच अन्न आदानप्रदान गर्ने र पिङ खेलेर रमाइलो गर्ने क्रम चलेको जानकारी दिए।

त्यस्तै हुम्ला अदानचुली गाउँपालिकाका मनरुप परियारले सुर्खेत, दैलेख, कालीकोट र कर्णाली करिडोर हुँदै दुई दिनको गाडी र पैदल यात्रापछि मात्र घर पुगेको बताए। “मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ, सहर छाडेर घर पुग्दा बेग्लै आनन्द मिलेको छ,” उनले भने।

सर्लाहीदेखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले पनि यात्राको दुःखभन्दा मातृभूमि भेट्ने रहर ठूलो भएको बताइन्। “रोजगारीका लागि सहर पस्नु हाम्रो बाध्यता हो,” उनले भनिन्, “सामाजिक अपराध र अमानवीयताले भरिएको सहरभन्दा गाउँ नै सम्पन्न छ, सहरको धुमिल वातावरणभन्दा झुपडीमै बढी शान्ति मिल्छ।”

नागरिकहरू दसैँ र तिहार मनाउन गाउँ फर्केपछि सहरमा चहलपहल घट्दै गएको छ भने विमानस्थल र बसपार्कहरूमा गाउँ जाने यात्रुहरूको मात्रै बाक्लो भीड देखिएको छ। कर्णालीका दुर्गम गाउँहरू यतिबेला रहर, आशा, सामाजिक एकता, सद्भाव र दसैँको बहारले उमङ्गित बन्दै गएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *