प्राकृतिक नाकाबन्दीमा सिमकोट-हिल्सा सडक: दुई दिनभित्र खुलाउने गरी हिउँ पन्छाउने काम तीव्र
सुर्खेत। लगातारको बाक्लो हिमपातका कारण अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडकखण्ड दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी हिउँ हटाउने कार्यलाई तीव्र पारिएको छ। नाम्खा गाउँपालिकास्थित नारा लेक क्षेत्रका विभिन्न स्थानमा पाँच मिटरसम्म हिउँ थुप्रिएकाले सडक खुलाउन ठूलो चुनौती थपिएको छ।
सडक योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार सडकमा जमेको बाक्लो हिउँ पन्छाउन भारी उपकरण र जनशक्ति खटाइएको छ। यदि मौसमले साथ दिएमा आगामी मङ्गलबारसम्म सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए।
सिमकोटदेखि चीनको सीमावर्ती नाका हिल्सासम्मको करिब ९५ किलोमिटर लामो सडकखण्ड हिमपातका कारण ठप्प बनेको छ। विशेष गरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा अत्यधिक हिउँ जमेको नेपालीले बताए। लगातार तीन पटकसम्म हिमपात भएकाले सडक पन्छाउने काम कठिन बनेको हो।
“नारा लेक क्षेत्रका कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको छ। अहिले हिउँ हटाउने कार्य निरन्तर भइरहेको छ। मौसम अनुकूल रहे सोमबारसम्म नै सडक खुलाउने हाम्रो प्रयास छ,” योजना प्रमुख नेपालीले भने।
समुद्री सतहबाट करिब ४,५०० मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा भीषण हिउँ जमेकाले प्राविधिक टोलीलाई काम गर्न कठिन भइरहेको छ। त्यसमध्ये पनि ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकखण्डमा बढी हिउँ थुप्रिएको छ। हिउँ पन्छाउने कार्यका लागि जेसिभी (JCB) प्रयोग गरिएको आयोजनाले जनाएको छ।
कुल ९५ किलोमिटर लामो सिमकोट-हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटर भागमा ग्राभेलिङ भइसकेको छ भने बाँकी सडकमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। सडक योजनाले आफ्नै मेसिन, इन्धन र अपरेटर परिचालन गरेर हिउँ पन्छाउने कार्य गरिरहेको नेपालीले जानकारी दिए।
सडक खुलाउने काममा दुई जनाको प्राविधिक टोली खटिएको छ। उक्त टोलीले दिनभर हिउँ हटाउने काम गर्छ र साँझपख बास बस्न तथा खाना खान यारी फर्किने गरेको छ। विकट भौगोलिक बनावट र कडा चिसोका कारण कार्यस्थलमा खटिन निकै सकस भइरहेको छ।
पुनः हिमपात भएमा सडक पूर्ण रूपमा बन्द हुने र खुलाउने कार्य थप लम्बिने जोखिम रहेको नेपालीको भनाइ छ। यद्यपि, मौसम सफा रहेमा सोमबारसम्ममा सवारी आवगमन सुरु गराउने आयोजनाको योजना छ।
दसैँ मनाउन घर फर्किने नेपालीहरू बाटोमै रोकिए
सडक ठप्प भएपछि हिल्सा क्षेत्रमा रहेका पर्यटक, व्यापारी तथा स्थानीयवासी प्रत्यक्ष प्रभावित भएका छन्। चीनको ताक्लाकोट क्षेत्रमा व्यापार-व्यवसाय तथा मजदुरीका लागि पुगेका हुम्लासहित देशका विभिन्न भागका नेपालीहरू दसैँ मनाउन घर फर्किन नपाएर अलपत्र परेका छन्।
चीनको पुराङ क्षेत्रबाट हिल्सा नाका हुँदै नेपाल प्रवेश गरेका नागरिकहरू सडक बन्द भएपछि बीच बाटोमै रोकिनुपरेको छ। महान् चाड दसैँका लागि घर फर्किने पर्खाइमा रहेका नेपालीहरू अहिले बाटो खुल्ने आशामा दिन गनिरहेका छन्। हिल्सा क्षेत्रका स्थानीय बासिन्दासमेत यातायात सञ्चालन हुने प्रतीक्षामा छन्।
नेपाल–चीन सीमावर्ती क्षेत्र हिल्सामा सडक अवरुद्ध हुँदा दैनिक आवतजावतका साथै खाद्यान्न तथा अत्यावश्यक सामान ढुवानी ठप्प भएको छ। सडक सञ्चालनमा आएपछि सीमा क्षेत्रमा रोकिएका नागरिकलाई घर फर्किन सहज हुने विश्वास लिइएको छ।
यसअघि पनि नारा लेक क्षेत्रमा हिमपात हुँदा जेसिभी प्रयोग गरेर सडक खुलाइएको थियो। तर पटक-पटकको हिमपात र अत्यधिक हिउँका कारण सडकलाई पूर्ण रूपमा नियमित बनाउन हम्मे-हम्मे परिरहेको छ।
हिमपातले लिमी जोड्ने सडकसमेत अवरुद्ध
हुम्लाको नाम्खा गाउँपालिकास्थित प्रसिद्ध लिमी उपत्यका जोड्ने सडकसमेत बाक्लो हिमपातका कारण पूर्ण रूपमा बन्द भएको छ। सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा सवारी साधन चल्न नसक्दा स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ।
गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ थुप्रिएपछि लिमीका तिल, हल्जी र जाङलगायतका गाउँहरूको आवतजावत विच्छेद भएको छ। सडक बन्द हुँदा दैनिक उपभोग्य सामग्रीको ढुवानी, बिरामीलाई अस्पताल लैजाने कार्य र अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या परेको छ।
सवारी साधन चल्न नसक्ने अवस्था आएपछि गम्भीर बिरामीलाई समेत उपचारका लागि बाहिर लैजान कठिनाइ भइरहेको स्थानीयवासी बताउँछन्। यसका साथै स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीहरूसमेत प्रभावित भएका छन्।
लिमी उपत्यका कैलाश–मानसरोवर क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। मानसरोवर दर्शन तथा हिमाली पदयात्रामा जाने पर्यटकहरू समेत सडक अवरुद्ध हुँदा बीचमै रोकिएका छन्।
लिमी जाने सडक प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले तुरुन्त हिउँ पन्छाएर यातायात सुचारु गराउनुपर्ने स्थानीयको माग छ। पुनः हिमपात जारी रहेमा सडक खुल्न अझै धेरै समय लाग्ने जोखिम छ।
सिमकोट–हिल्सा र लिमी जोड्ने दुवै मुख्य सडक ठप्प भएपछि उत्तरी हुम्लाको समग्र आवतजावत, व्यापारिक गतिविधि र पर्यटन क्षेत्र प्रभावित बनेको छ। मौसम अनुकूल हुने बित्तिकै दुवै सडक खुलाउन सम्बन्धित निकायले तीव्र पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।
No ads found for this position




Facebook Comment