दशैं भन्नेबित्तिकै बाल्यकालको पिङ, लडेको याद र सय रुपैयाँ दक्षिणाको खुसी: हेमराज ढकालको सम्झना
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालका लागि दशैं भन्ने बित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँको नयाँ नोट दक्षिणा पाउँदा प्राप्त हुने अद्भूत खुसीको याद ताजा भएर आउँछ।
भोजपुरमा बिताएको बाल्यकाल, झापा झरेपछि आफन्तकहाँ टीका लगाउन जाँदाको उल्लास र दसैँका अवसरमा परिवार तथा इष्टमित्रहरूसँग भेटघाट गर्दाका ती अमूल्य क्षणहरू उनका लागि जीवनभर सम्झिरहने मीठा स्मृति बनेका छन्।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीका क्रममा उनले बाल्यकालमा दसैँ मनाउँदाको रमाइलो र उत्साह अहिलेको आधुनिक समयको तुलनामा निकै फरक रहेको अनुभव सुनाए। त्यतिबेला गाउँघरमा मनोरञ्जनका आधुनिक साधनहरू सीमित भए तापनि पिङ खेल्ने, आफन्तकहाँ धाउने, मीठो-मसिना परिकार खाने र दक्षिणा पाउने उत्साहले नै दसैँलाई निकै विशेष बनाउने गरेको उनको भनाइ छ।
‘पिङ खेलेको र पिङबाट लडेको अझै राम्ररी याद छ। पहाडतिर बाँसका चारवटा अग्ला खम्बा गाडेर बाटोका डोरी बाँधेर पिङ बनाइन्थ्यो। पिङ हरेक गाउँ, टोल र डाँडामा हालिन्थ्यो। दसैँ नजिकिएपछि रोटेपिङ खेल्ने र लिङ्गेपिङ खेल्ने होडबाजी नै चल्थ्यो,’ उनले विगत सम्झिए।
पिङ खेल्ने क्रममा साथीभाइ र आफन्तहरूबीच कसले बढी माथिसम्म पिङ मच्चाउने भन्ने प्रतिस्पर्धा हुने गरेको उनले सम्झिए। कहिलेकाहीँ मच्चाउने क्रममा चिप्लिएर लड्ने र पिङबाट पल्टिने अवस्था आए तापनि त्यसले बाल्यकालको त्यो अनुपम रमाइलोमा अलिकति पनि कमी नल्याएको उनले बताए।
‘कसले धेरै माथि पुर्याउने भनेर ठूलो प्रतिस्पर्धा हुन्थ्यो। कहिलेकाहीँ त धेरै माथि पुर्याएर पल्टिएको पनि याद छ। तर अहिले डिज्नील्यान्डमा गएर रमाइलो गर्दा पनि त्यतिबेलाको जस्तो अर्कै आनन्द आउँदैन। त्यो त जीवन रहुञ्जेलसम्म कहिल्यै बिर्सन नसकिने स्मृति हो जस्तो लाग्छ,’ उनले भने।
ढकालको प्रारम्भिक बाल्यकाल भोजपुरमा बितेको थियो। उनले आफ्नो प्राथमिक तहको अध्ययन भोजपुरमै पूरा गरे। त्यसपछि अध्ययनका क्रममा झापाको चन्द्रगढी पुगेका उनी उच्च शिक्षा हासिल गर्न भारत र अस्ट्रेलियासम्म पुगे। पछि जापान, अमेरिका, अस्ट्रेलिया तथा युरोपका विभिन्न विकसित मुलुकहरूमा बसेर व्यवसाय सञ्चालन गर्ने र त्यहाँको सामाजिक-सांस्कृतिक परिवेश बुझ्ने अवसर पनि उनले प्राप्त गरे।
तर, यतिका देश भ्रमण गरे पनि बाल्यकालका स्मृतिहरूमा भने भोजपुर र झापाका दसैँहरू नै विशेष रूपमा मानसपटलमा आउने गरेको उनले बताए। उनका हजुरबुबा तत्कालीन समयका बडाहाकिम थिए भने बुबा गाउँका प्रधानपञ्च थिए। त्यसैले परिवारमा आफन्त, नातागोता र शुभेच्छुकहरूको बाक्लो आउजाउ भइरहन्थ्यो। दसैँको बेला टाढाटाढाबाट मानिसहरू घरमा टीका लगाउन आउने र विभिन्न मौलिक कोसेलीहरू लिएर आउने गरेको उनले सुनाए।
‘हाम्रो बुबाकहाँ धेरै टाढा–टाढाका मान्छेहरू टीका लगाउन आउँथे। आफन्त मात्रै नभएर शुभेच्छुकहरू पनि आउने गर्थे। उहाँहरू घरमै बनाएको शुद्ध घिउ, ठेकीमा जमाएको मीठो दही र विभिन्न प्रकारका स्थानीय कोसेलीहरू लिएर आउनुहुन्थ्यो। त्यो शुद्ध कोसेली खान पाउँदाको क्षण अत्यन्तै रमाइलो हुन्थ्यो,’ उनले भने।
उनका लागि मामाघरको दसैँ झनै विशेष र उत्साहजनक हुन्थ्यो। भोजपुरको पितौलातिर रहेको मामाघरमा जाँदा भान्जाभान्जीलाई विशेष माया गर्ने, मीठामीठा खानेकुरा खुवाउने, नयाँ लुगा किनिदिने र दक्षिणा दिने चलन थियो। त्यतिबेला विद्यालय जाँदा सामान्यतया १० वा २० रुपैयाँ मात्रै पकेट खर्च पाउने बालबालिकाका लागि दसैँमा सोझै सय रुपैयाँको नोट पाउनु ठूलो उपलब्धि जस्तै हुन्थ्यो।
‘ड्याम्म परेको हरियो सय रुपैयाँको नयाँ नोट पाउँदाखेरि त मानौँ करोडपति बनेजस्तै फिलिङ हुन्थ्यो। त्यो पैसाले के–के मात्रै गर्न पाइन्छ भन्ने लाग्थ्यो। चाउचाउ, मिठाई, मिश्री, चकलेट सबै किन्न पाइन्छ भन्ने हुन्थ्यो। अहिले एक करोड रुपैयाँ पाउँदा पनि सायद त्यस्तो खुसीयाली मिल्दैन होला,’ उनले बाल्यकालको त्यो निश्छल खुसी सम्झँदै भने।
त्यतिबेला दसैँमा तयारी कपडा किनेर मात्रै नभई कपडाको थानबाट नापअनुसार सिलाएर दिने चलन रहेको पनि उनले सुनाए। परिवारका हरेक सदस्यको नापअनुसार टेलरमा लुगा सिलाइदिने गरिन्थ्यो। बालबालिकाका लागि दसैँमा नयाँ लुगा लगाउन पाउनु पनि यो चाडको अर्को मुख्य आकर्षण थियो।
भोजपुरबाट झापा झरेपछि उनको दसैँको अनुभव अझ फराकिलो र व्यापक बन्यो। झापामा धेरै आफन्त र मामाघरका सदस्यहरू बसोबास गर्ने भएकाले टीका लगाउनका लागि मात्रै २० देखि ३० वटासम्म घरमा पुग्नुपर्ने अवस्था हुन्थ्यो। कतिपय आफन्तहरूबाट पाँच सय रुपैयाँसम्म दक्षिणा पाउँदा बाल्यकालको खुसी थप द्विगुणित हुने गरेको उनले बताए।
‘झापा झरेपछि दक्षिणाको भोल्यूम पनि बढ्यो। पैसा खर्च गर्ने ठाउँहरू पनि थिए। सिलगढी जान पाइन्थ्यो, परिवारबाट लुकेर सिनेमा हेर्न गलगलियासम्म जान पाइन्थ्यो। भद्रपुर बजारमा पुगेर सिङ्खडा, जिलेबी र लालमोहन खान पाइन्थ्यो। त्यो पनि दसैँको रमाइलोको एउटा बिर्सन नसकिने पाटो थियो,’ उनले भने।
झापामा दसैँको टीकाको दिन बिहानैदेखि घरमा ठूलो चहलपहल हुने गरेको उनले सम्झिए। परिवार ठूलो भएकाले टीकाको दिन ५० देखि सय जनासम्म मानिसहरू एकै ठाउँमा भेला हुने गर्थे। बिहानै उठेर खानपानको तयारी गर्ने, पाहुनाको स्वागत सत्कार गर्ने र त्यसपछि आफू पनि दाइदिदीहरूसँगै टीका लगाउन निस्कने चलन थियो।
उनका अनुसार पहिले दसैँ केवल चाड मात्र नभएर सिङ्गो परिवारको पुनर्मिलनको पवित्र अवसर थियो। वर्षभरि भेटघाट हुन नसकेका आफन्तहरू एकै ठाउँमा भेला हुन्थे। खेतीपातीको मुख्य काम सकेपछि मनाइने पर्व भएकाले पनि गाउँघरमा यसको छुट्टै सांस्कृतिक महत्त्व थियो।
‘सबै कामधन्दा र स्कुल बन्द गरेर आफ्ना मान्छेहरूकहाँ जाने, मीठो-मसिना खाने, सबै मिलेर काम गर्ने, टीका लगाएर ठाँटले हिँड्ने, कानमा जमरा सिउरिने र परिवारको पुनर्मिलन गर्ने मुख्य कुरा हुन्थ्यो। वर्षभरि भेट नभएका मानिसहरूबीच आत्मीयता साटासाट गर्ने बलियो माध्यम दसैँ थियो,’ उनले भने।
तर, पछिल्लो समयमा तीव्र सहरीकरण र वैदेशिक बसाइँसराइका कारण दसैँमा आफन्तहरूकहाँ पुगेर भेट्ने पुरानो चलन बिस्तारै घट्दै गएको उनको तीतो अनुभव छ। अहिले नजिकका परिवारका सदस्यहरूबीच मात्रै टीका लगाउने र त्यसपछि घुम्न वा भ्रमणमा जाने प्रवृत्ति बढेको उनले बताए। टाढाका काका, मामा र अन्य आफन्तहरूकहाँ पुगेर आशीर्वाद लिने परम्परा भने कमजोर बन्दै गएको उनको भनाइ छ।
यद्यपि, दसैँले देशको समग्र अर्थतन्त्रमा पुर्याउने सकारात्मक योगदानलाई भने उनले उच्च महत्त्व दिएका छन्। नयाँ लत्ताकपडा, सुनचाँदी, विभिन्न उपहार, खाद्यान्न र घरायसी सामग्रीहरूको व्यापक किनमेलले बजारमा आर्थिक गतिविधिलाई ठूलो गति दिने उनको भनाइ छ।
‘दसैँ–तिहारका बेला घरमा बत्ती बाल्ने, रमाइलो गर्ने, लुगाफाटो किन्ने, उपहार दिने र सुन जोड्ने परम्पराले देशको आर्थिक पक्षमा अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ। यसले समग्र बजारलाई चलायमान बनाउन ठूलो सहयोग गरेको छ,’ उनले भने।
नेपाल उद्योग वाणिज्य महासङ्घको निवर्तमान उपाध्यक्ष तथा आगामी नेतृत्वका आकाङ्क्षीका रूपमा उनले दसैँलाई पारिवारिक मिलन र सामाजिक सद्भावसँगै राष्ट्रिय आर्थिक गतिविधि बढाउने उत्तम अवसरका रूपमा पनि हेरेका छन्। तर, चाडपर्व मनाउँदा अनावश्यक तडकभडक र फजुलखर्च भन्दा आपसी माया, भाइचारा र सद्भावलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
यसैगरी, उनले दसैँको बिदामा विदेश घुम्न जानुभन्दा नेपालकै विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुमेर आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न पनि सर्वसाधारणसँग आग्रह गरे। नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालीहरूले स्वदेशभित्रै खर्च गर्दा देशको अर्थतन्त्रलाई सीधा सहयोग पुग्ने बताए।
अन्तमा, उनले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण उद्यमी, व्यवसायी र आम नेपालीहरूमा दसैँको हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वलाई मनको शुद्धीकरण गर्ने, परिवारसँग नजिक हुने र आपसी माया साटासाट गर्ने पवित्र अवसरका रूपमा लिन सबैमा आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment