दशैंको रमाइलोमा स्वास्थ्यलाई नभुलौं: मासु, चिल्लो र अनिद्राबाट जोगिन डा. पौडेलको सुझाव
काठमाडौं। बडादशैंको विशेष अवसरमा आफन्तजनसँगको आत्मीय भेटघाट, मीठोमसिनो खानपान र रमाइलो वातावरणमा व्यस्त रहँदा आफ्नो स्वास्थ्यप्रति अलिकति पनि लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा. सुवर्ण पौडेलले गम्भीर आग्रह गरेका छन्।
चाडपर्वका बेला मासुका विभिन्न परिकार तथा अत्यधिक चिल्लो युक्त खानेकुराको अनियन्त्रित सेवन, मदिरापान, शरीरलाई आवश्यक पर्ने पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने कुबानीले पेट तथा मलद्वारसँग सम्बन्धित गम्भीर समस्याहरू बढाउन सक्ने उनले चेतावनी दिएका छन्।
डा. पौडेलले चाडपर्वमा मानिसको खानपान, बानीव्यहोरा र दैनिक दिनचर्या सामान्य दिनको तुलनामा सर्वथा फरक हुने भए तापनि मानव शरीरको आन्तरिक जैविक प्रणाली भने कहिल्यै परिवर्तन नहुने स्पष्ट पारे। दसैँको रमाइलोमा मानिसहरूले खानेकुराको मात्रा नमिलाउने, समयमा नसुत्ने र आवश्यक शारीरिक गतिविधि वा व्यायाममा ध्यान नदिने गर्नाले विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्ने उनको ठम्याइ छ।
उनले भने, ‘विशेष गरेर चाडपर्वमा मानिसहरूमा हर्षोल्लास हुन्छ। तर आहारजन्य र विहारजन्य दुवै पक्षमा हामी थोरै चुक्छौँ। शरीरको आन्तरिक सिस्टम कहिल्यै परिवर्तन हुँदैन; चाडबाड होस् अथवा सामान्य दिन, हाम्रो शरीरको प्रणाली उस्तै रहन्छ। तर चाडबाड मनाउने बहानामा हामी आफ्नो शरीरप्रति नै चरम लापरबाही गरिरहेका हुन्छौँ।’
उनका अनुसार शैंकोको समयमा खानपानमा मात्रै होइन, सुत्ने समय, पानी पिउने बानी र हिँडडुल वा शारीरिक सक्रियतामा पनि उत्तिकै सन्तुलन कायम गर्नुपर्छ। शरीरले सामान्य अवस्थामा जसरी काम गर्छ, चाडपर्वका बेला पनि त्यसको प्राकृतिक आवश्यकता उस्तै रहने भएकाले केवल क्षणिक रमाइलोका नाममा दैनिक जीवनशैलीका बानीमा धेरै ठूलो परिवर्तन गर्नु कदापि उचित हुँदैन।
खानपान नमिलाउँदा पाचन प्रणालीमा गम्भीर असर
दसैँको समयमा मासुका विभिन्न परिकार, सेलरोटी, चिउरा तथा अन्य अत्यधिक चिल्ला खानेकुराहरूको सेवन स्वाभाविक रूपमा बढी हुने गर्छ। त्यसमा पनि आफन्त तथा इष्टमित्रहरूको घरमा जाँदा पटक-पटक खानेकुरा खाने परम्परागत चलनले शरीरमा आवश्यकताभन्दा धेरै गुणा बढी आहार पुग्न जान्छ। डा. पौडेलका अनुसार एकै दिनमा धेरै ठाउँमा पुगेर फरक-फरक परिकारहरू खाँदा खानेकुराको मात्रा नियन्त्रण गर्न निकै कठिन हुने गर्छ।
विशेष गरी सहरमा बसोबास गर्ने मानिसहरू दसैँ मनाउन गाउँ जाँदा आफन्त तथा छिमेकीको घरमा पुग्ने, चिया पिउने र विभिन्न परिकारको स्वाद लिने गर्छन्। एउटा घरमा चिया पिएपछि अर्को घरमा पुगेर पुनः चिया पिउने वा एकै दिन धेरै पटक भारी खाना तथा खाजा खाने बानीले गर्दा खानपान पूर्ण रूपमा असन्तुलित हुन पुग्ने उनले बताए।
उनले आफन्तको घरमा पाइने आतिथ्य र सत्कार स्वीकार गर्दा पनि आफ्नो व्यक्तिगत स्वास्थ्य स्थितिअनुसार बुद्धिमानीपूर्वक खानेकुरा छनोट गर्न सकिने सुझाव दिए। एउटा घरमा मासु खाइसकेको अवस्थामा अर्को घरमा पुगेर पनि मासु नै खानुपर्छ भन्ने कुनै सामाजिक बाध्यता नरहेको उनको भनाइ छ। त्यस्तो अवस्थामा मासुको सट्टा फलफूल, काँक्रो, मुला वा अन्य कुनै हलुका खानेकुरा रोज्न सकिन्छ।
नेपाली सामाजिक संस्कृतिमा पाहुनालाई विभिन्न खानेकुरा खुवाएर सत्कार गर्ने परम्परा अत्यन्तै महत्त्वपूर्ण भए पनि त्यसलाई आफ्नो स्वास्थ्यअनुकूल बनाउन सकिने उनले उल्लेख गरे। खानेकुरा खान मन नभएको वा पेट भरिएको अवस्थामा अरूको आग्रह वा दबाबका कारण जबर्जस्ती खानुभन्दा आफूलाई उपयुक्त र सहज हुने खानेकुरा निर्धक्क रोज्नु नै उत्तम हुन्छ।
‘यदि एक ठाउँमा मासु खानुभएको छ भने अर्को ठाउँमा जाँदा अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन। मैले उता खाएर आएको छु भनेर प्रस्ट भन्न सक्नुहुन्छ। बरु मासुको सट्टा स्याउ वा फलफूल खानुहोस्,’ उनले भने।
मासु खाँदा मात्रा र पकाउने तरिकामा ध्यान दिनुपर्ने
दसैँमा मासुका परिकारहरू नै प्रमुख खानाका रूपमा रहने गर्छन्। पक्कु, सेकुवा, रोस्ट, तारेको तथा भुटेको मासु धेरैले असाध्यै रुचाउने परिकार हुन्। तर, मासु खाने तरिका र यसको मात्रा नमिलाउँदा मानिसको पाचन प्रक्रियामा गम्भीर समस्या आउन सक्ने डा. पौडेलले बताए।
उनका अनुसार मासु सर्वथा खानै नहुने भन्ने होइन। मुख्य कुरा कति मात्रामा खाने, कसरी पकाउने र त्यससँग अन्य कस्ता सहायक खानेकुराहरू समावेश गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। अत्यधिक चिल्लो, तारेको वा आगोमा पोलेको परिकारको सट्टा सजिलै पच्ने गरी स्वास्थ्यकर ढङ्गले पकाइएको मासु खानु उपयुक्त हुन्छ।
‘सेकुवाहरू अथवा पोलेर, तारेर र भुटेर खानुभन्दा पनि पाचन प्रणालीले सजिलै पचाउन सक्ने किसिमले कुकरमा सिट्टी हानेर, झोल बढी राखेर खानु धेरै राम्रो हुन्छ,’ उनले भने।
उनले मासु खाँदा सधैँ मात्रा नियन्त्रण गर्न, दाल तथा हरियो सागसब्जी पनि पर्याप्त मात्रामा खान र शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम राख्न विशेष सुझाव दिए। मासु मात्रै अत्यधिक खाने र सागसब्जी तथा फलफूल कम खाने खराब बानीले पाचन प्रक्रियालाई सहज हुन दिँदैन।
दसैँमा सेलरोटी, चिउरा र मासु एकैसाथ धेरै मात्रामा डकाउने चलनले पनि पाचन प्रक्रियामा भारी दबाब पर्न सक्ने उनले बताए। शरीरले अघिल्लो पटक खाएको खाना पूर्ण रूपमा पचाउन नपाउँदै पुनः धेरै भारी खानेकुरा सेवन गर्दा पेटमा असजिलो र गडबडी देखिने भएकाले खानाको मात्रा मिलाउनु अनिवार्य हुन्छ।
उनका अनुसार खाना खाँदा सधैँ आफ्नो शरीरको वास्तविक अवस्थालाई बुझ्नुपर्छ। सबै मानिसको शरीरको प्राकृतिक बनावट र खानेकुरा पचाउन सक्ने क्षमता एउटै नहुने भएकाले अरूले खाएको देखेर वा सबैले खाइरहेका छन् भन्दैमा आफूले पनि त्यति नै धेरै खानु कदापि उचित हुँदैन।
मदिरा सेवनले थप गम्भीर समस्या निम्त्याउन सक्ने
दसैँमा मासुका परिकारहरूसँगै मदिरा सेवन गर्ने चलन पनि धेरै ठाउँमा व्यापक छ। तर, मदिराको अनियन्त्रित सेवन र असन्तुलित खानपानले स्वास्थ्यमा झन् थप जटिल समस्याहरू निम्त्याउन सक्ने डा. पौडेलले चेतावनी दिए। उनका अनुसार धेरै खानेकुरा सेवन गर्ने, मदिरा पिउने र राति अबेरसम्म जाग्राम बस्ने बानी एकैसाथ हुँदा शरीरको नियमित जैविक दिनचर्या पूर्ण रूपमा प्रभावित हुन पुग्छ।
उनले मदिरा सेवनपछि खानपानमा झन् बढी सावधानी अपनाउनुपर्ने बताए। चाडपर्वका बेला मदिरा सेवनका कारण पर्याप्त पानी नपिउने, समयमा नसुत्ने तथा नियमित खानपानको तालिका पूर्ण रूपमा बिग्रिने जोखिम रहन्छ।
डा. पौडेलले मदिरा सेवन गरेर सवारी साधन चलाउने तथा अन्य जोखिमपूर्ण गतिविधिहरू गर्ने बानीबाट सधैँ टाढा रहन पनि कडा आग्रह गरे। चाडपर्वमा केही समयको मात वा रमाइलोका लागि आफ्नो र अरूको अमूल्य जीवन जोखिममा पार्न नहुने उनले बताए।
‘एकछिनको क्षणिक रमाइलोले गर्दा भोलि कुनै ठूलो दुर्घटना वा दुःखद घटना हुन सक्छ। रक्सी नै खाएर, तास नै खेलेर, होहल्ला गरेर वा झगडा नै गरेर मात्र रमाइलो हुन्छ भन्ने सोच्नु गलत हो,’ उनले भने।
उनका अनुसार चाडपर्वमा रमाइलो गर्ने अन्य धेरै स्वस्थ र राम्रा माध्यमहरू छन्। परिवारका सदस्यहरूसँग गुणस्तरीय समय बिताउने, आफन्तहरूलाई भेट्ने, परम्परागत सांस्कृतिक गतिविधिमा सहभागी हुने तथा स्वास्थ्यलाई अलिकति पनि असर नगर्ने तरिकाले खुसी साटासाट गर्न सकिन्छ। मदिरा सेवन वा अनावश्यक होहल्लालाई मात्रै रमाइलोको एकमात्र माध्यम बनाउनु पूर्ण रूपमा अनुचित हुन्छ।
कब्जियत र पाइल्सको उच्च जोखिम
डा. पौडेलले खानपानमा हुने असन्तुलन र त्यसबाट हुने कडा कब्जियतलाई पाइल्सको समस्या निम्त्याउने प्रमुख कारणहरूमध्ये एकका रूपमा उल्लेख गरे। पर्याप्त मात्रामा पानी नपिउने, फाइबरयुक्त खानेकुराहरू कम खाने र दिसा कडा हुने अवस्था सिर्जना हुँदा मलद्वारको नशामा अत्यधिक दबाब पर्न जाने उनको भनाइ छ।
उनका अनुसार पाइल्स हुनुका विभिन्न कारणहरू हुन्छन्। खानपान र आहारविहारमा हुने असन्तुलनका अलावा गर्भावस्था, भारी तौल उठाउने कठिन काम तथा उमेर बढ्दै जाँदा हुने स्वाभाविक शारीरिक परिवर्तनले पनि पाइल्सको जोखिमलाई उल्लेख्य रूपमा बढाउन सक्छ।
पाइल्स भित्री र बाहिरी गरी दुई प्रकारका हुने स्पष्ट पार्दै उनले यसको लक्षण पनि व्यक्तिअनुसार फरक-फरक पर्न सक्ने बताए। कसैलाई दिसा गर्दा थोरै वा धेरै रगत बग्न सक्छ भने कसैमा मलद्वार वरिपरि सुन्निने वा मासुको डल्ला बाहिर निस्कने समस्या देखिन सक्छ। यस्तो संवेदनशील अवस्थामा समस्यालाई सामान्य ठानेर बेवास्ता नगरी तुरुन्तै सम्बन्धित चिकित्सकसँग परामर्श लिनुपर्ने उनले बताए।
पर्याप्त पानी र फाइबरयुक्त खानेकुराको अपरिहार्यता
चाडपर्वका बेला मानिसहरूको ध्यान मासु र चिल्लो खानेकुरामा मात्र बढी जाँदा हरियो सागसब्जी, फलफूल तथा शुद्ध पानीको सेवन निकै कम हुने गरेको डा. पौडेलले बताए। शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने पानी नपुग्दा र फाइबरयुक्त खानेकुरा कम खाँदा कब्जियतको कडा समस्या देखिन सक्छ।
उनले खानाको थालीसँगै दाल, गेडागुडी, हरियो सागसब्जी तथा ताजा फलफूललाई पनि उत्तिकै प्राथमिकता दिन सुझाव दिए। मासु खाने क्रममा सागसब्जी तथा अन्य पौष्टिक खानेकुराहरू पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने उनको भनाइ छ।
‘यदि हरियो सागसब्जीहरू र दालहरू अलि प्रशस्त मात्रामा खानुभयो भने ठिक्क मात्रामा मासु खाँदैमा स्वास्थ्य बिग्रिने अवस्था रहँदैन,’ उनले भने।
उनका अनुसार खानपानको सन्तुलन कायम राख्न ठूलठूला वा कठिन उपायहरू अपनाउनै पर्दैन। आफन्तको घरमा जाँदा हरेक पटक मासु नै खानुको सट्टा कुनै ठाउँमा ताजा फलफूल, अर्को ठाउँमा हल्का खाजा र आवश्यकताअनुसार मात्रै नियमित खाना खान सकिन्छ। यसले गर्दा सामाजिक भेटघाटलाई निरन्तरता दिँदै खानेकुराको मात्रा मिलाउन ठूलो सहयोग पुग्ने उनले बताए।
उनले मिठो खानेकुरा धेरै खान मन लागे पनि आफ्नो शरीरले कतिसम्म पचाउन सक्छ भन्ने कुरामा सदैव ध्यान दिनुपर्ने बताए। शरीरलाई असहज हुने भारी खानेकुरा कम गर्ने र आफूलाई सहज हुने खानेकुरा सन्तुलित रूपमा सेवन गर्ने बानीको विकास गर्नुपर्ने उनको मुख्य सुझाव छ।
अनिद्रा र अनियमित दिनचर्याले पार्ने नकारात्मक असर
दसैँको समयमा राति अबेरसम्म तास खेल्ने, आफन्तहरूसँग गफिएर बस्ने वा अन्य मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुने कारणले गर्दा निद्राको नियमित समय पूर्ण रूपमा बिग्रिन सक्छ। डा. पौडेलले समयमा नसुत्ने र बिहान ढिलो उठ्ने बानीले दैनिक शारीरिक दिनचर्या प्रभावित हुने बताए।
उनका अनुसार चाडपर्वमा मानिसहरूले हिँडडुल र खानपान बढाए पनि त्यसको अनुपातमा आवश्यक आराम तथा पानीको मात्रा मिलाउन नसक्ने अवस्था आउँछ। राति अबेरसम्म जाग्राम बस्ने, धेरै खाने र बिहानको नियमित दिनचर्या छुट्ने बानीले स्वास्थ्यमा अनेकौँ जटिलताहरू निम्त्याउन सक्छ।
उनले सामान्य दिनहरूमा जस्तै चाडपर्वका बेला पनि पर्याप्त निद्रा, नियमित खानपान र शारीरिक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए। रमाइलोका नाममा रातभर जाग्राम बस्ने र त्यसले पार्ने दीर्घकालीन असरलाई बेवास्ता गर्ने बानीबाट जोगिन उनले विशेष सुझाव दिए।
डा. पौडेलले पछिल्लो समय बालबालिकाको जीवनशैलीमा आएको तीव्र परिवर्तनप्रति पनि अभिभावकहरू गम्भीर हुनुपर्ने बताए। अहिले धेरैजसो बालबालिकाहरू घरभित्रै बसेर मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल माध्यमहरूमा धेरै समय बिताउने अवस्थामा पुगेका छन्।
चाडपर्वका बेला बालबालिकालाई पनि आवश्यकताभन्दा बढी चिल्लो, भुटेको तथा अत्यधिक गुलियो खानेकुराहरू खुवाउनुभन्दा सन्तुलित र पौष्टिक खानपानमा ध्यान दिनुपर्ने उनले बताए।
अन्तमा, उनले नियमित दिनचर्या कायम राख्ने, आवश्यकताभन्दा बढी नखाने, प्रशस्त पानी पिउने, मदिराबाट टाढा रहने, पर्याप्त निद्रा लिने र दैनिक शारीरिक गतिविधिलाई निरन्तरता दिने बानी अपनाउन सबैमा आग्रह गरे।
उनले चाडपर्वमा आफ्नो व्यक्तिगत स्वास्थ्यका साथै परिवार र आफन्तको समग्र सुरक्षालाई पनि उच्च महत्त्व दिनुपर्ने बताए। दसैँको रमाइलो क्षणिक हुन सक्ने भएकाले आजको अलिकति असचेत व्यवहारले भविष्यमा पछुताउनुपर्ने दुःखद अवस्था नआओस् भन्नेतर्फ सधैँ सचेत रहनुपर्ने उनको अन्तिम सुझाव छ।
‘आजको दसैँ हजुरका लागि अत्यन्तै रमाइलो होला, तर आज गरिएका ससाना गल्तीहरूका कारण आउने भविष्यका दसैँहरू नरमाइलो हुन नपाऊन्,’ उनले निष्कर्षमा भने, ‘शान्तिपूर्ण हिसाबले आफ्नो स्वास्थ्यलाई माया गर्दै चाडपर्व मनाउनुहोस्, जसले गर्दा यस्ता महान् चाडपर्वहरू जीवनभर सधैँभरि मनाउन पाइयोस्।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment