१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा सम्पन्न: जगदुल्ला ताल क्षेत्रमा झल्कियो धार्मिक र सांस्कृतिक रौनक
सुर्खेत। डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित उच्च हिमाली क्षेत्रमा रहेको पवित्र जगदुल्ला तालमा हरेक १२ वर्षमा आयोजना हुने ऐतिहासिक ‘बोन मेला’ तथा तीर्थयात्रा भव्यताका साथ सम्पन्न भएको छ। सोमबार सम्पन्न भएको उक्त मेला तथा तीर्थयात्रा क्षेत्रमा राक्षस ताल, प्रेम ताल तथा मूल जगदुल्ला तालहरू रहेका छन्।
प्राचीन धार्मिक तथा सांस्कृतिक विधि अनुसार सम्पन्न भएको यस जगदुल्ला तीर्थयात्रा र मेलाले डोल्पा जिल्लालगायत समग्र कर्णाली प्रदेशको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई पुनः अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा उजागर गरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिं रोकायाले बताए।
लामो समयको प्रतीक्षापछि लागेको यस ऐतिहासिक मेलाले जगदुल्ला क्षेत्रका बासिन्दाहरूको धार्मिक आस्थालाई पुनर्जीवित मात्र गरेन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृति, परम्परा र लोकविश्वासहरूलाई समेत एकै थलोमा जोड्ने काम गरेको अध्यक्ष रोकायाको भनाइ छ।
यस वर्षको १२ वर्षे जगदुल्ला मेलामा गाउँपालिका अध्यक्ष रोकायासँगै ८२ वर्षीय वरिष्ठ धर्मगुरु गेशे तेन्जिन् ङिमा होइजेर रिन्पोछे, गेशे फुन्छोग ङिमा, गेशे लोडोई छोग्लेग्, ढुवथोन्पा छुल्ठिम साङ्ग्य, गेशे ङिमा तेन्जिन्लगायतका सम्मानित धर्मगुरुहरू र हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो। अत्यन्तै दुर्गम हिमाली भूगोल, कडा उकालो-ओरालो परेको कठिन पदमार्ग र सीमित स्रोत-साधनका बीच सम्पन्न यात्राले धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र प्राकृतिक सम्पदाको महत्त्वलाई फेरि एक पटक उजागर गरेको स्थानीय युवा भास्कर बस्नेतले बताए।
तुङुतुङ पाटनका गोठालाहरूद्वारा भव्य स्वागत
तीर्थयात्राका क्रममा तुङुतुङ पाटनमा बसोबास गर्दै आएका स्थानीय चौँरीगोठालाहरूले धर्मगुरुहरू तथा यात्रामा सहभागी सम्पूर्ण श्रद्धालुहरूलाई हार्दिक स्वागत गरेका थिए। आधुनिक भौतिक सुविधा र साधनको अभाव भए तापनि हिमाली भेगका बासिन्दाहरूको सरल जीवनशैली, अद्भूत आत्मीय व्यवहार र पाहुनाप्रतिको अगाध सम्मानले यात्रालाई थप अविस्मरणीय बनाएको बस्नेतले बताए।
३,८०० मिटरको उचाइमा मौलिक संस्कृतिको झल्को
यात्राका क्रममा हुरिकोट आधारभूत विद्यालयको आयोजनामा समुद्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा स्थानीय लोकसंस्कृति झल्काउने विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। चिसो हिमाली परिवेशमा विद्यार्थी तथा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका परम्परागत लोकनाच, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिहरूले जगदुल्लाको पृथक पहिचानलाई जीवन्त बनाएका थिए।
धार्मिक अनुष्ठानसँगै आयोजना गरिएको यो सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, इतिहास र परम्परासँग नजिकबाट जोड्ने अवसर प्रदान गरेको थियो। हुरिकोट गुम्बा तथा आधारभूत विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरूको उत्साहमय सहभागिताले कार्यक्रमलाई एक भव्य सामुदायिक उत्सवका रूपमा स्थापित गरिदियो।
सो अवसरमा धर्मगुरु रिन्पोछेबाट विभिन्न दुर्लभ धार्मिक तथा आध्यात्मिक सामग्री र पवित्र धातुहरूको प्रत्यक्ष दर्शन गराइएको थियो। स्थानीय जनश्रुति अनुसार करिब एक सयदेखि दुई सय वर्षअघिका गुरुहरूको समाधि तथा शरीरबाट प्राप्त भएका भनिएका पवित्र अवशेषहरू र लामो समयको ध्यान तथा तपस्यासँग जोडिएका धार्मिक सामग्रीहरूको दर्शन गर्ने विरलै मिल्ने अवसर श्रद्धालुहरूले प्राप्त गरेका थिए। गुरु रिन्पोछेबाट आशीर्वाद ग्रहण गरेपछि स्थानीय लोकसंस्कृति झल्काउने नाचगान तथा विविध सांस्कृतिक प्रस्तुतिहरू निरन्तर अघि बढेका थिए।
कठिन पदमार्ग, तर आस्थाले जितेको थकान
जगदुल्ला तीर्थयात्रा सहज र साधारण यात्रा होइन। विकट हिमाली भूगोल, निरन्तरको उकालो–ओरालो, लामो पदमार्ग र आधारभूत सुविधाको कमीका कारण यहाँ पुग्न ठूलो शारीरिक तथा मानसिक तयारी आवश्यक पर्छ। त्यसमाथि यस वर्षको कठिन यात्रामा ८२ वर्षीय वृद्ध रिन्पोछेको सहभागिता र उपस्थितिले यात्रालाई थप ऊर्जावान् र विशेष बनाएको थियो। बाटोको कडा थकान पनि आध्यात्मिक आस्था र भक्तिभावका अगाडि अलौकिक आनन्दमा परिणत हुने अनुभूति यस यात्राले गराएको स्थानीयहरू बताउँछन्।
प्राकृतिक तथा सांस्कृतिक यात्राको विस्तार
जगदुल्लाको यो यात्रा केवल धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यो हिमाली भूगोल, अद्वितीय प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली र विविध संस्कृतिलाई नजिकबाट नियाल्ने र बुझ्ने अनुपम अवसर पनि हो।
प्रसिद्ध यार्सागुम्बा सङ्कलन मार्ग हुँदै अघि बढ्ने यो पदमार्ग न्यून भूभागदेखि सुरु भएर करिब चार हजार सात सय मिटरको उचाइमा रहेको जगदुल्ला तालसम्म पुग्छ। यात्राका क्रममा खस, बोन तथा अन्य स्थानीय हिमाली समुदायका बस्तीहरू, उनीहरूको दैनिक जीवनशैली, रहनसहन र मौलिक सांस्कृतिक परम्पराहरू प्रत्यक्ष देख्न पाइन्छ।
बाटोभरि देखिने सुन्दर हिमशिखरहरू, विशाल पाटन, कञ्चन नदी, छाँगा, झरना, हिमताल र हिमाली भू–दृश्यहरूले यात्राको थकाइ मेट्ने काम गर्छन्। प्रकृतिको अनुपम सौन्दर्य र स्थानीय संस्कृतिको विविधताले जगदुल्लालाई पवित्र धार्मिक तीर्थस्थलका साथै प्रचुर सम्भावना बोकेको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने बलियो आधार खडा गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले दाबी गरे।
जगदुल्ला ताल: प्रकृति र आस्थाको पवित्र सङ्गम
डोल्पाको जगदुल्ला गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा समुद्री सतहबाट करिब चार हजार सात सय मिटरको उचाइमा यो ताल अवस्थित छ। जगदुल्ला ताललाई स्थानीय भोट-बोन भाषामा ‘जगदुल्ला साचोलिङ’ नामले पनि चिनिन्छ। यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व परापूर्वकालदेखिको स्थानीय जनविश्वास, प्राचीन कथन र बोन धार्मिक परम्परासँग जोडिएको छ।
स्थानीय मान्यता अनुसार यस ताल आसपास ‘गाङ्छेन मेरि राल्वा’ नामक पवित्र पर्वत, ‘तेनामथाङ’ नामक ताल तथा ‘निहुञ्झोम बाल्घी छु’ नामको नदी रहेका छन्। यस क्षेत्रमा ‘मण्डलाचौर’ भनिने चारवटा पवित्र मण्डला थाङहरू रहेको बताइन्छ।
धार्मिक विश्वास अनुसार यहाँका चारवटा ठूला हिमशिखहरू सृष्टि कालदेखि अहिलेसम्म कहिल्यै नपग्लिएका मानिन्छन्। त्यसै गरी, यहाँ रहेका चार प्रमुख तालहरूलाई विभिन्न शारीरिक रोग निवारण गर्ने चमत्कारिक शक्तिसँग जोडेर हेर्ने गरिन्छ। यी पवित्र स्थलहरू महान् लामा तथा सिद्ध पुरुषहरूको साधना, ध्यान र अनुष्ठानसँग सम्बन्धित रहेको अध्यक्ष रोकायाले जानकारी दिए।
जगदुल्ला क्षेत्रलाई नौ लाख नौ हजार देवीदेवता तथा अप्सराहरूको प्रत्यक्ष आशीर्वाद प्राप्त पवित्र सिद्ध तीर्थस्थलका रूपमा मान्ने प्राचीन धार्मिक परम्परासमेत रहेको छ।
दूध कुण्डदेखि प्रेम तालसम्म: लोकविश्वासका अनेक कथा
जगदुल्ला क्षेत्रको धार्मिक महत्त्वसँग अनेकौँ रोचक लोककथा र जनविश्वासहरू पनि जोडिएका छन्। स्थानीय कथन अनुसार यस क्षेत्रमा एउटा अत्यन्तै पवित्र दूध कुण्ड रहेको विश्वास गरिन्छ। उक्त कुण्डको जल पान गर्दा शारीरिक शक्ति अभिवृद्धि हुने, रूप-सौन्दर्य निखारिने तथा सन्तान नभएका दम्पतीहरूलाई सन्तान प्राप्ति हुने जनविश्वास रहँदै आएको छ।
प्राचीन समयमा यस ताललाई ‘दूध कुण्ड’ भनिने गरिएको र पछि ‘राक्षस दह’ हुँदै तालको मुटुजस्तो अद्वितीय प्राकृतिक आकारका कारण अहिले ‘प्रेम ताल’ समेत भन्ने गरिएको छ।
यस तालको पवित्र पानीले हातमुख धुँदा र स्नान गर्दा सम्पूर्ण पाप पखालिने, शरीर शुद्ध हुने र नागदेवताको आशीर्वाद प्राप्त हुने विश्वास स्थानीय समुदायमा छ। नागदेवताको निष्ठापूर्वक पूजा गरी मनोकामना गर्दा इच्छित फल पाइने र यहाँबाट बग्ने जडीबुटीयुक्त पानीले विभिन्न रोगहरू निको पार्ने विश्वास गरिन्छ। यस क्षेत्रलाई मुक्तिमार्ग अर्थात् स्वर्ग जाने ढोकाका रूपमा समेत व्याख्या गरिएको पाइन्छ। यी विषयहरू प्राचीन तिब्बती धार्मिक ग्रन्थ तथा लिपिहरूमा समेत उल्लेख भएको दाबी गरिएको छ।
स्थानीय सरकारको चासो र पर्यटन प्रवर्द्धनको सम्भावना
पूरा १२ वर्षपछि आयोजना भएको यस जगदुल्ला मेलामा स्थानीय सरकारले विशेष चासो र प्राथमिकता दिएपछि यसको महत्त्व अझ बढेको छ।
अध्यक्ष रोकायाले आगामी दिनमा पूर्वाधार विकासका कामहरूलाई व्यवस्थित गर्दै जगदुल्ला क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई विश्वमाझ प्रवर्द्धन गर्ने र आउँदो १२ वर्षे मेलालाई अझ भव्य, सुव्यवस्थित र प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
आस्था, संस्कृति र पहिचानको सङ्गम
१२ वर्षको लामो अन्तरालपछि सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा बोन मेला केवल एउटा धार्मिक कार्यक्रम मात्र थिएन। यो पुर्खादेखि हस्तान्तरण हुँदै आएको अगाध आस्था, हिमाली जनजीवनको संस्कृति, स्थानीय परम्परा, गुरु-लामाहरूप्रतिको भक्तिभाव र पुस्तौँदेखि जीवित रहेका लोकविश्वासहरूलाई पुनः एउटै सूत्रमा बाँध्ने ऐतिहासिक अवसर बनेको छ।
No ads found for this position




Facebook Comment