फ्रान्समा प्रदर्शन चर्कियो: ५ लाखभन्दा बढी सडकमा, प्रहरी र प्रदर्शनकारीबीच झडपमा २ हजारभन्दा बढी पक्राउ
एजेन्सी। जीवनयापनको बढ्दो लागत, महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध फ्रान्सको राजधानी पेरिससहित अन्य प्रमुख सहरहरूमा सर्वसाधारणको आन्दोलन थप चर्किएको छ। शनिबार देशभर भएका प्रदर्शनहरूमा ५ लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिएका थिए।
प्रदर्शनका क्रममा देशका केही भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भीषण हिंसात्मक झडपसमेत भएको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टहरूका अनुसार यस राष्ट्रव्यापी आन्दोलनमा किसान, जलवायु अभियन्ता, विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको छ। उनीहरूले इन्धनको उच्च मूल्यवृद्धि, दैनिक जीवनयापनको बढ्दो खर्च, शिक्षा क्षेत्रका समस्या र सार्वजनिक सेवासम्बन्धी विभिन्न मागहरू अघि सारेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
सन् २०२७ को बजेट प्रस्तावपछि आन्दोलन तीव्र
फ्रान्स सरकारले भर्खरै सन् २०२७ को नयाँ बजेट प्रस्ताव अघि बढाएपछि सर्वसाधारणको आक्रोश थप भड्किएको हो। उच्च सार्वजनिक ऋण र ठूलो वित्तीय घाटाको चुनौती झेलिरहेको फ्रान्सेली सरकारले राजस्व वृद्धि गर्ने र सरकारी खर्चमा व्यापक कटौती गर्ने योजना बनाएको छ। तर, सरकारका यी नयाँ नीतिहरूले आम नागरिकको क्रयशक्ति घटाउने र सार्वजनिक सेवाहरूको गुणस्तर थप खस्काउने भन्दै सर्वसाधारण चिन्तित र आक्रोशित बनेका हुन्।
यसैगरी, लामो समयदेखि जारी रुस–युक्रेन युद्ध, मध्यपूर्वमा चुलिँदै गएको तनाव र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको अनिश्चितताका कारण फ्रान्सेली अर्थतन्त्रमा अभूतपूर्व दबाब सिर्जना भइरहेको छ।
आन्दोलनमा सहभागी एक प्रदर्शनकारीले आफ्नो पीडा पोख्दै भने, ‘व्यक्तिगत रूपमा भन्नुपर्दा, मेरो राम्रो जागिर भएकाले मलाई अहिल्यै ठूलो सङ्कट परेको छैन। तर धेरैजसो सर्वसाधारणका लागि यो अवस्था साँच्चै भयावह छ। अन्तर्राष्ट्रिय तनाव र युद्धका कारण इन्धनको मूल्य अत्यधिक बढेको छ। दैनिक आवतजावतका लागि कारमा निर्भर रहने नागरिकका लागि इन्धन र ऊर्जाको मूल्यवृद्धिले ढाड सेक्ने काम गरेको छ।’
पेरिसका अर्का प्रदर्शनकारीले भने, ‘यसपालिको गर्मीयाममा मैले गाडी लिएर टाढा जाने कि नजाने भनेर कैयौँ पटक सोच्नुपर्यो। बारम्बार हिसाब गर्दा अन्ततः इन्धनको खर्च धान्नै नसक्ने भएपछि यात्राको योजना नै रद्द गरेँ। म त पेरिसमा बस्ने भएकाले सार्वजनिक यातायात प्रयोग गर्न सक्छु, तर सहरबाहिर बस्ने र आफ्नै सवारीसाधनमा निर्भर रहने मानिसहरूको अवस्था त झनै नाजुक छ।’
त्यस्तै, अर्का एक आन्दोलनकारीले सार्वजनिक सेवाको दयनीय अवस्थाप्रति आक्रोश व्यक्त गर्दै भने, ‘अहिले विद्यालय, अस्पताल र न्याय प्रणाली—सबैजसो सार्वजनिक क्षेत्रको अवस्था पहिलेदेखि नै अत्यन्तै नाजुक भइसकेको छ। यो आम नागरिकका लागि दुःस्वप्न जस्तै बनेको छ।’
तोडफोड र व्यापक पक्राउ
प्रदर्शन नियन्त्रणभन्दा बाहिर जाँदा सार्वजनिक भवनहरू, प्रहरी चौकीहरू तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा तोडफोड र आक्रमणका घटनाहरू भएका छन्।
फ्रान्सको गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हिंसात्मक बनेको प्रदर्शनका क्रममा देशभरबाट कुल २ हजार ३९७ जनालाई प्रहरीले पक्राउ गरेको छ। झडपमा परी ९९७ जना प्रहरी अधिकारी तथा जाँदार्म (फ्रान्सको राष्ट्रिय सुरक्षा बल) घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment