भारतको राजनीतिक मैदानमा उदाउँदै गरेकी जेन जी नेत्री नेहा बोरा: सडक आन्दोलनदेखि चर्चाको शिखरसम्म
काठमाडाैं। भारतको राजनीतिमा पछिल्लो समय सडक सङ्घर्षबाट उदाएकी २९ वर्षीया पीएचडी विद्यार्थी तथा वामपन्थी विद्यार्थी सङ्गठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की अध्यक्ष नेहा बोरा अहिले चर्चाको केन्द्रमा छिन्।
देशका सर्वोच्च निर्वाचन अधिकारीको राजीनामा तथा निर्वाचन प्रणालीमा सुधारको माग गर्दै दिल्लीमा भएको विरोध प्रदर्शनका क्रममा अग्रपङ्क्तिमा देखिएसँगै उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमै फैलिएको छ।
गत सप्ताहान्तमा भारतको राजधानी दिल्लीमा निर्वाचन आयोगविरुद्ध भएको प्रदर्शनका क्रममा महिला प्रहरी अधिकारीहरूले उनलाई सडकमा घिसार्दै लगेको, प्रहरीले राखेको बारमाथि चढेर मुठ्ठी उचालेर नारा लगाएको र हिरासतमा लिएको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
प्रहरीले नियन्त्रणमा लिइरहँदा समेत उनी मुस्कुराइरहेका तस्बिरहरूले युवा वर्गमा उनको प्रभावलाई थप प्रष्ट्याएका छन्। यद्यपि, आफूमाथि केन्द्रित भएको मिडियाको ध्यानलाई खासै महत्व नदिने बताउँदै उनले यो वामपन्थी संस्थासँग आबद्ध सम्पूर्ण विद्यार्थी कार्यकर्ताहरूको सामूहिक सङ्घर्ष भएको स्पष्ट पार्दै आएकी छिन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षको कार्यकालमा देखिएको यो हालसम्मकै एक ठूलो स्तरको युवा आन्दोलन मानिएको छ। जेन जी नेतृत्वको अनलाइन व्यङ्ग्य आन्दोलन ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले यसअघि शिक्षा सुधार र प्रश्नपत्र चुहावटका विरोधमा हप्तौँ लामो आन्दोलन गरेको थियो।
सोही क्रममा प्रख्यात शिक्षाविद् एवं वैज्ञानिक सोनम वाङ्चुकले समर्थनमा अनशन सुरु गरेपछि नेहा र उनको सङ्गठन यसमा सक्रिय रूपमा होमिएको थियो। वाङ्चुक र अन्य नेताहरू अस्पताल सारिएपछि पनि नेहाले आफ्नो शरीरको तौल घटे पनि अनशन जारी राखेकी थिइन्। उनको यो जुझारु र प्रष्ट वक्ताको छविका कारण उनले आफूलाई एक सशक्त जेन जी नेत्रीका रूपमा स्थापित गरेकी छिन्।
उत्तराखण्डमा जन्मिएकी र फौजी बुवाको सरुवासँगै भारतका विभिन्न सहरमा बाल्यकाल बिताएकी नेहाले दिल्ली विश्वविद्यालयबाट स्नातक र अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी हुन्। हाल उनी जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा विद्यावारिधि गर्दैछिन्।
उनको यो राजनीतिक यात्रा सहज भने छैन। उनका बुवाआमा भाजपाका कट्टर समर्थक भएकाले वामपन्थी राजनीति र सरकारविरोधी तीखो अभिव्यक्तिका कारण परिवारभित्रै पनि उनको मतभेद उत्पन्न भएको छ। भाजपाशासित उत्तर प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा उन3विरुद्ध उजुरी दर्ता गरिएका छन् भने उनलाई ज्यान मार्ने धम्की समेत आएको आइसाले जनाएको छ। त्यस्तै, झारखण्डको एक प्रदर्शनका क्रममा उनीमाथि मसी आक्रमणसमेत भएको थियो।
भारतमा हाल देखिएको यो असन्तुष्टि केवल निर्वाचन आयोगको कार्यशैलीमा मात्र सीमित नरही मोदी सरकारको समग्र राजनीतिक तथा प्रशासनिक कार्यशैलीविरुद्ध समेत लक्षित रहेको विश्लेषकहरूको बुझाइ छ। कांग्रेस नेताहरू राहुल गान्धी र प्रियंका गांधी वाड्रासमेत सडकमा उत्रिएको यस आन्दोलनमा विपक्षी दलहरू र जेन जी समूहहरूको साझा मोर्चाबन्दी देखिन थालेको छ।
सडकबाटै देशको राजनीति परिवर्तन हुन सक्ने दृढ विश्वास राख्ने नेहा बोरा लोकतन्त्रको रक्षाका लागि सङ्घर्ष जारी राख्ने अङ्गीकार गर्दै आएकी छिन्। इतिहासमा भएका ठूला सामाजिक परिवर्तनहरू संसद् भवनभित्रबाट नभई सस्दकका सङ्घर्षहरूबाटै सम्भव भएको उनको तर्क छ। पटकपटकको गिरफ्तारी र प्रशासनिक दमनका बाबजुद उनी र उनका समर्थकहरूले भारतको राजनीतिक वृत्तमा युवा वर्गको बलियो उपस्थिति जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment