मुगुको मुर्मामा असोज ८ गतेदेखि ‘प्रथम रारा भलिबल लिग-२०८३’ सञ्चालन हुने
मुगु। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९ स्थित मुर्मामा रारा मुर्मा युवा क्लबको आयोजनामा ‘प्रथम रारा भलिबल लिग-२०८३’ सञ्चालन हुने भएको छ। आयोजकका अनुसार यो प्रतियोगिता आउँदो २०८३ साल असोज ८ गतेदेखि सुरु हुनेछ।
स्थानीय स्तरमा भलिबल खेलको चौतर्फी विकास तथा प्रवर्द्धन गर्ने, लुकेर रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने र युवाहरूलाई खेलकुदका माध्यमबाट एकताबद्ध बनाउने पवित्र उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नुका साथै युवाहरूमा अनुशासन, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्न ठूलो सहयोग पुर्याउने अपेक्षा राखिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्ने टोलीले नगद ३० हजार रुपैयाँसहित आकर्षक कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी, दोस्रो हुने टोलीलाई नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसबाहेक विधागत पुरस्कारतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पिकरलाई जनही ५५० रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टोलीमा सात जना खेलाडी र एक जना कोच अनिवार्य हुनुपर्ने नियम राखिएको छ। टोली दर्ताका लागि शुल्क ४ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ। दर्ता प्रक्रिया असोज २५ गतेदेखि कात्तिक ७ गतेसम्म खुला रहने आयोजकले जानकारी दिएको छ।
रारा मुर्मा युवा क्लबले ‘खेलकुदको विकास, युवाको एकता र मुर्माको पहिचान’ भन्ने मुख्य अभियानका साथ आयोजना गर्न लागेको यस लिगलाई सभ्य र भव्य रूपमा सफल बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी, समाजसेवी, बुद्धिजीवी, व्यवसायीका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक सहयोग र सहभागिताका लागि सार्वजनिक आह्वानसमेत गरेको छ।
यस प्रतियोगिताले मुगु जिल्लाको समग्र खेलकुद विकासमा इँटा थप्नुका साथै मुर्मा क्षेत्रको मौलिक पहिचान र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण तथा सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment