लघुकथा : घामको भुत्ला

योगी नारायण नाथ
१७ असोज २०८३ ७:३९

शून्य र एकको दोसाँधमा उम्रिएको एउटा विचित्र बजार थियो- ‘अतीत-बिक्री केन्द्र’। त्यहाँ मानिसहरू आफ्ना रद्दी भइसकेका दिनहरू र मक्किएका पुराना स्मृतिहरू लिलाम गर्न वा बेच्न आउँथे।

एउटा अन्धकार बिहान, एक जना वृद्ध हातमा पारदर्शी काँचको खाली बट्टा बोकेर त्यस केन्द्रभित्र छिरे।

पसलेले जिज्ञासापूर्वक सोध्यो, “के ल्याउनुभयो हजुरबा? कुनै धमिलो स्मृति वा बिर्सिइसकेको सपना?”

वृद्धले मन्द मुस्कुराउँदै त्यो काँचको बट्टा टेबलमा राखे र भने, “म त घामको भुत्ला बेच्न आएको।”

पसलेले अचम्म मान्दै बट्टाभित्र नियाल्यो; त्यहाँ केवल एक धर्का उज्यालो मात्रै तैरिरहेको देखिन्थ्यो। उसले सोध्यो, “घाम त तातो राप र ताप मात्र हो हजुरबा! यसको रौँ वा भुत्ला कसरी हुन सक्छ?”

वृद्धले रहस्यमय शैलीमा भने, “हामीले आँखाले देख्ने घाम त केवल एउटा प्रतिबिम्ब मात्र हो। जब सूर्यले ब्रह्माण्डको असीम शीतलतासँग एकाकार भएर सम्भोग गर्छ, तब त्यसको छालाबाट उज्यालाका केही मसिन धागोहरू खस्छन्। हो, त्यही नै घामको भुत्ला हो। मैले यसलाई त्यतिबेला सङ्कलन गरेँ, जब मैले गहिरोसँग बुझेँ- ‘म हुनु’ र ‘म नहुनु’ बीच वास्तवमा कुनै भिन्नता नै छैन।”

पसले वृद्धको उत्तर सुनेर विस्मित र स्तब्ध भयो। उसले सोध्यो, “अनि यसको मूल्य नि? यसको मोल के हो?”

वृद्धले भने, “यसको मूल्य एउटा यस्तो क्षण हो, जहाँ तिमीले समयलाई पूर्ण रूपमा स्तब्ध बनाएका थियौ।”

पसलेले तुरुन्तै आफ्नो सम्पूर्ण जीवनको खाता पल्टाएर हेर्यो। तर, त्यहाँ त धन, मान, प्रतिष्ठा र ज्ञानका पानाहरू मात्र थिए— जुन पानाहरू समयको अनवरत नदीमा तैरिरहेका साधारण साना तिनका मात्रै थिए। उसले आफ्नो सम्पूर्ण जीवनमा समय रोकिएको एउटै क्षण पनि भेट्टाउन सकेन।

“मसँग यसको तिर्ने मूल्य छैन,” पसलेले निराश हुँदै टाउको निहुरायो।

वृद्धले सुस्तरी काँचको बट्टाको बिर्को खोलिदिए। बिर्को खुल्नेबित्तिकै बट्टाबाट अभूतपूर्व र अलौकिक ताप प्रस्फुटित भयो, जसले पसलेको अहम् र अस्तित्वलाई नै पगालिदियो।

“जब तिमीसँग केही पनि हुँदैन, तब मात्र तिमी पूर्ण हुन्छौ,” वृद्धले यति भन्दै अन्धकारको नीरवतातर्फ पाइला बढाए र विलीन भए।

पसलेले होस खोलेर हेर्‍याे- त्यहाँ न त त्यो काँचको बट्टा थियो, न त ती वृद्ध नै थिए। तर जीवनमै पहिलोपटक, उसलाई आफूभित्र एउटा कहिल्यै ननिभ्ने अनन्त सूर्य उदाएको अलौकिक अनुभूति भयो- र समय, ठ्याक्कै त्यही विन्दुमा पुगेर निश्चल भयो।

सुन्दर कञ्चन कोलोनी, इटहरी १,सुनसरी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *