नियात्रा

भौंतारिँदै गरेको बाटो

तोमनाथ उप्रेती
१७ असोज २०८३ ७:३२

बिहानै म घरबाट निस्किएँ। आकाशमा उज्यालो भर्खरै फैलिँदै थियो। सडक सुनसान थियो। चोकमा केही मानिसहरू आफ्ना-आफ्ना गन्तव्यतिर हिँडिरहेका थिए। कसैको हातमा झोला थियो, कसैको काँधमा जिम्मेवारी, अनि कसैको आँखामा सपना। तर, सबै हिँडिरहेका थिए।

मलाई अचानक लाग्यो- जिन्दगीमा हरेक मानिस कुनै न कुनै रूपमा भौंतारिइरहेको हुन्छ। फरक यति मात्र हो, कसैको भौंताराइ गन्तव्यतिर हुन्छ, कसैको भीडतिर; कसैको धनतिर हुन्छ, कसैको प्रसिद्धितिर; कसैको भौंताराइ आत्मशान्तितिर हुन्छ।

म पनि हिँडिरहेको थिएँ। तर आज मैले आफैँलाई सोधेँ- “म कुन बाटोमा भौंतारिइरहेको छु?” बाटोले कुनै उत्तर दिएन। हावाले पनि केही भनेन। तर मनभित्रैबाट एउटा स्पष्ट आवाज आयो- “पहिले आफ्नो दिशा खोज।”

सहर पार गरेपछि बाटो अझ खुला र फराकिलो हुँदै गयो। पहाडको छेउबाट बिहानीको घाम झुल्कियो। मैले सोचेँ- मानिसले अरूलाई हेरेर आफ्नो बाटो किन रोज्छ? भीडले हौसला त दिन्छ, तर कहिलेकाहीँ पहिचान पनि खोस्छ। अरूको नक्कल गर्दा हामी सफल देखिन त सक्छौँ, तर आफ्नै मौलिकता भने हराउन सक्छ।

कसैले हाम्रो कामको नक्कल गर्‍यो भने त्यसलाई अपमान ठान्नुपर्दैन; सम्भवतः हामीले उसमा केही न केही प्रभाव पारिरहेका छौँ। तर अरूको प्रतिलिपि बनेर होइन, आफ्नै क्षमता खोजेर अघि बढ्नुपर्छ। संसारमा हरेक मानिसभित्र एउटा विशिष्ट शक्ति हुन्छ।

कसैको शक्ति उसले स्वयं लुकाएको हुन्छ भने कसैको शक्ति परिस्थितिले लुकाइदिएको हुन्छ। त्यसैले आफूलाई कमजोर ठान्नु पनि अज्ञानता हो र आफ्नो सम्भावनालाई नचिन्नु पनि एक प्रकारको भौंताराइ नै हो।

बाटो उकालो लाग्यो। शरीर थाक्न थाल्यो। मैले बाटो छेउको एउटा ढुंगामा बसेर केहीबेर विश्राम लिएँ। अगाडि विशाल र लामो पहाड उभिएको थियो। त्यसलाई हेर्दै मैले सोचेँ- सफलता वास्तवमा के हो? धेरै मानिसहरू कमाउन चाहन्छन्, अझ धेरै कमाउन चाहन्छन्।

अनि महँगा वस्तुहरू पनि सस्तो लाग्ने अवस्थासम्म पुग्न चाहन्छन्। तर धन बढ्दै जाँदा चाहना पनि अनन्त रूपमा बढ्दै जान्छ; लोभको कहिल्यै अन्त्य हुँदैन। मानिसले लोभ छोडेपछि मात्र उसले सम्पन्नताको वास्तविक अर्थ बुझ्न थाल्छ। धन केवल साधन हो, साध्य होइन।

कमाइले जीवनलाई सहज बनाउन सक्छ, तर शान्ति किन्न सक्दैन। प्रतिष्ठा प्राप्त गर्न सकिएला, तर आत्मसन्तोष कहिल्यै किनेर पाइँदैन। मैले आफ्नो खल्ती छामेँ, त्यहाँ केही थिएन। तर मनभित्र एउटा अनौठो र अभूतपूर्व शान्ति थियो। मलाई लाग्यो- सम्पन्नता वस्तुहरूको सङ्ख्यामा होइन, आवश्यकताहरूको संयमभित्र हुन्छ।

अझ माथि पुगेपछि बाटो चिप्लो भयो। म एकपटक हिलोमा लडेँ। हातमा सामान्य चोट लाग्यो। केही क्षण त्यहीँ बसेँ। लडेकोमा आफैँसँग रिस पनि उठ्यो। तर फेरि हिम्मत जुटाएर उठेँ। अनि मनले भन्यो- जसले कहिल्यै गल्ती गरेको छैन, उसले सम्भवतः नयाँ बाटो हिँड्ने जोखिम पनि लिएको छैन।

असफलता यात्राको अन्त्य होइन, यो त प्रयासको प्रमाण हो। महानता कहिल्यै नलड्नुमा होइन, लडेपछि पुनः उठ्न सक्नुमा छ। जीवनमा कठिन संघर्षहरू आउँछन्। कहिलेकाहीँ लक्ष्य असम्भव जस्तै देखिन्छ।

अरू मानिसहरू हाँस्छन्, प्रश्न गर्छन् र निरुत्साहित गर्छन्। तर यदि लक्ष्य सानो छ भने त्यसमा जोखिम पनि सानै हुन्छ। ठूलो सपना देख्दा केही मानिसले हाँस्नु स्वाभाविकै हो; उनीहरूको हाँसोले हाम्रो लक्ष्यको वास्तविक मूल्य निर्धारण गर्न सक्दैन।

म फेरि हिँड्न थालेँ। केही टाढा पुगेपछि एउटा नदी भेटियो। नदी चौडा थियो र पानीको बहाव निकै तीव्र थियो। म किनारमा उभिएर धेरैबेरसम्म बगिरहेको पानीलाई हेरिरहेँ। मनमा विचार आयो- के केवल नदीलाई हेरेर मात्रै नदी पार गर्न सकिन्छ? कदापि सकिँदैन।

जीवन पनि ठ्याक्कै त्यस्तै रहेछ। केवल योजनाहरू बनाएर मात्र यात्रा पूरा हुँदैन। इच्छा मात्र राखेर उपलब्धि हासिल हुँदैन, त्यसका लागि कर्म नै गर्नुपर्छ, पहिलो कदम चाल्नैपर्छ। सही समयको प्रतीक्षा गरिरहँदा सिंगाे जीवन नै बित्न सक्छ।

पूर्ण समय कहिल्यै आउँदैन र परिस्थितिहरू पनि कहिल्यै पूर्ण हुँदैनन्। अवसर आफैँ ढोका ढक्ढक्याएर सधैँ आउँदैन; कहिलेकाहीँ ढोका आफैं निर्माण गर्नुपर्छ। मैले जुत्ता खोलेँ र नदीमा पाइला राखेँ। पानी चिसो थियो, तर केही कदम अगाडि बढेपछि डर स्वतः हराएर गयो। मलाई लाग्यो- भयको अर्को किनारमा सम्भावनाको नयाँ संसार हुन्छ।

नदी पार गरेपछि एउटा सानो र शान्त बस्ती भेटियो। त्यहाँ एक वृद्ध मानिस चौतारीमा बसिरहेका थिए। मैले उनलाई सादर अभिवादन गरेँ। उनले मुस्कुराउँदै सोधे, “कहाँ जाँदै हुनुहुन्छ?” मैले भनेँ, “थाहा छैन।” उनी मन्द हाँसे।

“त्यसो भए तपाईं पनि धेरै मानिसजस्तै हुनुहुन्छ,” उनले भने, “गन्तव्य खोज्दै हुनुहुन्छ, तर दिशा खोज्नुभएको छैन।” उनको त्यो वाक्य मेरो मनमा गहिरोसँग बस्यो। मैले सोधेँ, “दिशा कसरी भेटिन्छ?” उनले सहजताका साथ भने, “आफूलाई अरूसँग तुलना गर्न छोडेपछि।”

मलाई लाग्यो- मानिसको सबैभन्दा ठूलो दुःख नै तुलना हो। कसैको घर ठूलो, कसैको पद ठूलो, कसैको नाम ठूलो, त कसैको सफलता ठूलो। तर आत्माको यात्रा तुलना गरेर हुँदैन।

आफ्नो हिजोको अवस्थासँग आजको अवस्थालाई तुलना गर्नुपर्छ। आफ्नै कमजोरीहरूसँग संघर्ष गर्नुपर्छ। अरूलाई जित्नु ठूलो विजय होइन; आफूभित्रको लोभ, क्रोध, भय र आलस्यलाई जित्नु नै सबैभन्दा ठूलो विजय हो।

वृद्धले खल्तीबाट एउटा सानो चाबी निकालेर देखाए। उनले भने, “कहिलेकाहीँ ठूलो समस्या खोल्न ठूलो शक्तिको आवश्यकता पर्दैन।” उनले चाबीलाई हल्कासँग घुमाएर देखाए, “सानो प्रयासले पनि ठूलो ताला खुल्न सक्छ।”

म केही क्षण पूर्ण रूपमा मौन भएँ। जीवनमा निरन्तर प्रयासको वास्तविक अर्थ यही रहेछ। प्रयास सानो हुन सक्छ, परिणाम तत्काल नदेखिन सक्छ, तर निरन्तरता आफैँमा एउटा ठूलो शक्ति हो। चिम्टीभरिको साहसले पनि निराशाको विशाल ढोका खोल्न सक्छ।

एउटा फोन, एउटा पुस्तक, एउटा कदम, एउटा क्षमा वा एउटा निर्णय- यिनै साना कुराहरूले जीवनको सिङ्गो दिशा बदल्न सक्छन्। त्यसैले प्रयास कहिल्यै छोड्नु हुँदैन। मानिस धेरैपटक असफल भएर होइन, प्रयास गर्न छोडेर हार्छ।

त्यस बस्तीबाट बाहिर निस्कँदा साँझ पर्न थालिसकेको थियो। आकाश सुनौलो रङ्गले सजिएको थियो। मैले सोचें- कर्म कस्तो हुनुपर्छ? उत्तर मनभित्रैबाट आयो- शान्त! आफ्नो काम गर्दै जाऊ, प्रचारको कुनै आवश्यकता छैन।

संसारले प्रशंसा गरोस् वा नगरोस्, सूर्यले कहिल्यै आफ्नो प्रकाशको विज्ञापन गर्दैन। ऊ उदाउँछ, उज्यालो दिन्छ र अस्ताउँछ। उसको कर्म नै उसको पहिचान हो। हामी भने काम गर्नुअघि नै घोषणा गर्छौं, उपलब्धि हासिल हुनुअघि नै श्रेय खोज्छौं।

तर वास्तविक कर्मयोगी आफ्नो कामको आवाजभन्दा ठूलो परिणामको प्रतीक्षा गर्छ। सफलता आएपछि संसार आफैँ बोल्छ। त्यसैले कर्म यति शान्त भई गरौँ कि सफलता स्वयंले हाम्रो पहिचान बनाओस्।

रातको अँध्यारो बाक्लिँदै गइरहेको थियो। बाटोमा एउटा सानो पसलमा बत्ती बलिरहेको थियो। केही मानिसहरू त्यहाँ बसेर अरूकै चर्चा गरिरहेका थिए- कसैको सफलताको आलोचना, कसैको असफलताको मजाक, त कसैको चरित्रमाथि टिप्पणी। म केहीबेर उनीहरूका कुरा सुनेर चुपचाप अगाडि बढेँ।

मलाई लाग्यो- मानिसको धेरै ऊर्जा अरूलाई हेर्न र मूल्याङ्कन गर्नमै खर्च हुन्छ, जसले गर्दा आफ्नो जीवन बनाउन समय कम हुन्छ। अरूको प्रशंसा नपाउँदा दुःखी हुने र आलोचना हुँदा क्रोधित हुने मानिस वास्तवमा बाहिरी प्रतिक्रियाको कैदी हो।

साँचो स्वतन्त्रता त अरूको प्रशंसा र निन्दाभन्दा माथि उठ्नु हो; आफ्नो कर्मको साक्षी आफैँ बन्न सक्नु हो। मानिसले आफूलाई प्रमाणित गर्न संसारभर दौडिरहनु पर्दैन; जब काम बोल्न थाल्छ, परिचय आफैँ बन्छ।

बाटोमा एक युवक भेटियो। ऊ निकै निराश र उदास देखिन्थ्यो। उसले भन्यो, “म धेरैपटक असफल भएँ।” मैले सोधेँ, “अनि?” उसले भन्यो, “अब के गर्ने थाहा छैन।”

मैले उसलाई त्यही नदीको कथा सुनाएँ र केवल पानी हेरेर नदी पार गर्न नसकिने कुरा बताएँ। उसले केहीबेर मौन रहेर भन्यो, “तर सही बाटो थाहा छैन।” मैले भनेँ, “पहिलो पाइला चाल। बाटो हिँड्दै जाँदा आफैँ देखिँदै जान्छ।”

जीवनको सम्पूर्ण नक्सा सुरुमै चाहिँदैन, एउटा सानो उज्यालो नै पर्याप्त हुन्छ, बाँकी बाटो क्रमशः खुल्दै जान्छ। मानिसले भविष्यको सम्पूर्ण निश्चितता खोजिरहँदा वर्तमानको सम्भावनालाई गुमाउँछ। प्रयास गर, सिक, गल्ती गर, सुधार अनि फेरि प्रयास गर। यही नै जीवनको वास्तविक गति हो।

त्यसपछि म एउटा मन्दिरमा पुगेँ। त्यहाँ घण्टी बजिरहेको थियो र धूपको बास्ना हावामा फैलिएको थियो। मानिसहरू ईश्वरको प्रार्थनामा लीन थिए। म पनि केहीबेर आँखा बन्द गरेर बसेँ। तर मैले कुनै भौतिक उपलब्धि वा वरदान मागिनँ। मैले एउटा मात्र कुरा मागेँ- “हे परमात्मा, मलाई आफूलाई बुझ्ने बुद्धि देऊ।”

त्यही क्षण मलाई लाग्यो- आध्यात्मिकता संसार त्याग्नु होइन, आफ्नो अहंकारलाई त्याग्नु हो। अरूलाई हराउनु होइन, आफ्नो अज्ञानतालाई जित्नु हो। बाहिरी यात्राले ठाउँ परिवर्तन गर्छ, तर आन्तरिक यात्राले दृष्टि नै परिवर्तन गरिदिन्छ। शरीर बाटोमा हिँड्छ, तर आत्मचेतना प्रश्नहरूभित्र हिँड्छ। यही यात्राले मानिसलाई भौतिक सफलताभन्दा परको गहिरो अर्थ खोज्न सिकाउँछ।

मन्दिरबाट निस्कँदा एक वृद्ध साधुले मलाई सोधे, “पहिचान खोज्दै हुनुहुन्छ?” मैले मुस्कुराएर भनेँ, “सायद!” उनले भने, “पहिचान नामबाट आउँदैन, कर्मबाट आउँछ।”

त्यो वाक्य मेरो मनमा गहिरो गरी बस्यो। पदले दिएको परिचय समयसँगै बदलिन सक्छ- कुर्सी बदलिन्छ, कार्यालय बदलिन्छ, जिम्मेवारी बदलिन्छ। तर असल कर्मले बनाएको प्रतिष्ठा युगौंसम्म बाँच्छ। मानिसले आफ्नो परिचय आफैं घोषणा गरिरहनु पर्दैन; यदि आफ्नो परिचय बारम्बार सुनाउनुपर्छ भने सायद कर्मले अझै पर्याप्त आवाज निकाल्न सकेको छैन।

त्यसैले पदभन्दा कर्म ठूलो हो, नामभन्दा चरित्र ठूलो हो र प्रसिद्धिभन्दा विश्वसनीयता ठूलो हो। मानिसले आफू को हो भनेर बताइरहनुभन्दा उसको जीवनले नै त्यो कुरा बोल्नु धेरै उत्तम हो।

म राति एउटा पहाडको टुप्पोमा पुगेँ। तल सहरका बत्तीहरू ताराझैं टल्किरहेका थिए। टाढाबाट हेर्दा सबै घरहरू समान देखिन्थे; ठूलो र सानो छुट्याउन गाह्रो पर्दथ्यो।

त्यही दृश्यले मलाई जीवनको एउटा गहिरो सत्य सम्झायो- दूरीले धेरै विभाजनहरूलाई मेटाइदिन्छ। नजिक हुँदा हामी पद, जात, सम्पत्ति, शक्ति र प्रतिष्ठा हेर्छौँ, तर टाढाबाट हेर्दा सबै मानिस एउटै उज्यालो, सुख, प्रेम र शान्ति खोजिरहेका देखिन्छन्। त्यसैले अरूप्रति घृणा राख्नुको कुनै अर्थ छैन, ईर्ष्या गर्नुको अर्थ छैन, तुलना गर्नुको अर्थ छैन। सबैको यात्रा फरक छ- कसैको बाटो छोटो छ, कसैको लामो; कसैको उज्यालो छ, कसैको अँध्यारो। तर अन्त्यमा सबै यात्रु नै हुन्।

अचानक सम्झिएँ- खुसी हुनु पनि एउटा आध्यात्मिक प्रतिरोध हो। अरूले हाम्रो असफलता चाहेका भए पनि हामी मुस्कुराउन सक्छौं। अरूले हाम्रो पतनको प्रतीक्षा गरिरहेका भए पनि हामी पुनः उठ्न सक्छौं। अरूले हाम्रो आलोचना गरे पनि हामी आफ्नो कर्ममा स्थिर रहन सक्छौं।

कसैको डाहा र ईर्ष्याको सबैभन्दा ठूलो उत्तर हाम्रो निरन्तर प्रगति हो। तर त्यो प्रगति अरूलाई हराउनका लागि होइन, आफूलाई परिष्कृत गर्नका लागि हो। जीवनमा एउटा हारले सिंगाे जीवनलाई परिभाषित गर्दैन।

कहिलेकाहीँ एउटा सही निर्णयले धेरै गलत मोडहरूलाई अर्थपूर्ण बनाइदिन्छ। त्यसैले हार्दा पनि मुस्कुराउन सक्ने मानिस वास्तवमा भित्रबाट जितिसकेको हुन्छ। बाहिरी विजयभन्दा आत्मबलको विजय नै सबैभन्दा ठूलो विजय हो।

बिहान जुन बाटोबाट निस्किएको थिएँ, राति त्यही बाटो हुँदै फर्किएँ। बाटो उही थियो, तर म उही थिइनँ। बिहान म गन्तव्य खोज्दै निस्किएको थिएँ, राति मैले सही दिशा भेटेको थिएँ। मैले बुझें- जीवनको यात्रा बाहिर जति हुन्छ, भित्र त्यति नै हुन्छ।

कमाउनुपर्छ, तर लोभमा हराउनु हुँदैन; सफल हुनुपर्छ, तर अहंकारमा डुब्नु हुँदैन; ठूलो सपना देख्नुपर्छ, तर अरूलाई सानो ठान्नु हुँदैन; असफल हुन सकिन्छ, तर प्रयास छोड्नु हुँदैन, प्रशंसा पाइन्छ, तर त्यसको दास बन्नु हुँदैन; आलोचना हुन्छ, तर त्यसले आफ्नो आत्मविश्वास चोर्न दिनु हुँदैन। कर्म गर्नुपर्छ- शान्त भएर; प्रेम गर्नुपर्छ- निष्कपट भएर; सेवा गर्नुपर्छ- अपेक्षाविहीन भएर; अनि आफूलाई खोज्नुपर्छ- निरन्तर!

घरको ढोकामा पुगेपछि म केहीबेर रोकिएँ। यात्राले मलाई एउटा अन्तिम प्रश्न दिएको थियो- “तिमी कहाँ पुग्यौ?” मैले भित्रैबाट उत्तर दिएँ- “म कतै पुगेको छैन, म अझै यात्रामै छु।”

जीवनको सबैभन्दा ठूलो सत्य सायद यही हो। हामी सबै यात्रु हौं, हामी सबै कुनै न कुनै बाटोमा भौंतारिरहेका छौँ। तर भौंताराइ पनि साधना बन्न सक्छ, यदि त्यसले आत्मबोधतिर लैजान्छ भने।

सही बाटो त्यो होइन जहाँ कठिनाइ छैन, सही बाटो त्यो हो जहाँ कठिनाइले चेतना बढाउँछ, जहाँ असफलताले विनम्रता सिकाउँछ, जहाँ सफलताले सेवा सिकाउँछ, जहाँ धनले संयम सिकाउँछ, जहाँ पीडाले करुणा सिकाउँछ, जहाँ मौनताले आत्माको आवाज सुनाउँछ र जहाँ “म” बिस्तारै “हामी” मा रूपान्तरण हुन्छ। त्यहीँबाट जीवनको वास्तविक यात्रा सुरु हुन्छ।

बाहिरी बाटो एक दिन समाप्त हुन्छ, तर आत्माको यात्रा कहिल्यै समाप्त हुँदैन। त्यो त निरन्तर चलिरहन्छ- कर्मबाट ज्ञानतिर, ज्ञानबाट विवेकतिर, विवेकबाट करुणातिर, र करुणाबाट आत्मबोधतिर निरन्तर चलिरहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *