मन्दोदरी र समयको साक्षी (मन्दोदरी भाग २)
यो दिव्य भूगोल! यो सारा इन्द्रेणी! यो पवित्र नदीको उद्गम धार! चराहरूसँगको सम्लाप! निर्मल आकाशको गोधुली छानो! अनि मेरो कर्तव्यपुरुष दशाननको निश्चिन्त मुस्कानबाट बग्दै-बग्दै आएको एक धर्सो हेराइ, जो मैतिर विस्फारित भइरहेको थियो। उनको घमण्ड पनि कहिलेकाहीँ पानी-पानी भएर गल्छ मेरो अगाडि।
मेरा दशानन बोल्दा यस्तो लाग्छ- झर्नाबाट उछिट्टिएर उत्फुल्ल हुँदै गालामा छुन आएका पानीका सुनौला कणजस्तै! यस्तो लाग्यो कि ती थोपा-थोपाबाट एउटा आदिम गीत गुञ्जिरहेको छ- प्रेमको, शान्तिको, खुसीको… चिसो तर सजल! त्यो शारदीय शान्ति, अहो!
मैले दशाननलाई हातको इसाराले बोलाएँ। हेरेँ उनको त्यो रुमानी खुसीमा उत्फुल्ल आँखामा तरेली परी-परी भिज्दै आएको मखमली माया। मेरो पहिलो प्रेमको एउटा अचल पर्वत, मेरो ओठमा खुसीको उभार भरिदिने मेरो लङ्केश…!
हामी दुवै एउटा अर्कै आनन्दको संसारमा पुग्यौँ, त्यो प्रवाहमा। प्यारो-प्यारो त्यो शीतल शान्तिको हृदयस्थलबाट एउटा अर्कै ॐकार गुञ्जिएजस्तो अनुभूति भयो। मैले भनेँ, “लङ्केश! हामी ध्यान गरौँ।” उहाँ खुसीले अलमस्त हुनुभयो। म प्रसून थिएँ। ध्यानस्थ त्यो मदहोस समय, त्यो रुमानी पल आफैँमा गद्गद् थियो।
हामी शिवको अगाडि ध्यानस्थ भयौँ। पानीका साना-साना थोपाहरू उडेर हामीलाई भिजाइरहेका थिए। हामी यति धेरै नजिक थियौँ कि एक-आपसमा फेरिरहेको श्वासको ध्वनि स्पष्ट सुनिन्थ्यो। कस्तो अचम्म है!
मैले लङ्केशको मुटुको धुकधुकी सुनेँ— झर्नाको सुसेलीमा पनि! झर्नाबाट उछिट्टिँदै आएको पानीले उहाँको आँखाको परेली भिजाइदिएको थियो। एकाएक हामी ध्यानको गहिराइमा गयौँ। शून्यमा हरायौँ धेरैबेर। त्यो अलौकिक आनन्दको बयान गर्ने सामर्थ्य मसँग छैन यतिबेला।
जब हामी ध्यानबाट बाहिर आयौँ, उहाँले मलाई सोध्नुभयो, “के पायौ ध्यानको अतल गहिराइमा पुगिसकेपछि?”
मैले भनेँ-
“निराकार देखेँ। शून्य देखेँ। शान्ति देखेँ। र केहीबेर देखेँ त्यही शान्ति…! केही छ त्यो पर-पर एउटा आशाको किरण निशर्त देखिने, तर ध्यान गहिरो हुनुपर्छ। हामीले जतिबेलासम्म ध्यान गर्यौँ, हामी हामीमै थिएनौँ। महाराज! न त्यहाँ हजुर होइबक्सिन्थ्यो, न म नै त्यहाँ थिएँ। यो त केवल एउटा नीलो कमल अनि त्यसबाट आइरहेको नीलो प्रकाश र हाम्रो सुनौलो लङ्काको सुरक्षा मात्र थियो। हाम्रो भौतिक शरीर त्यहीँ थियो, तर हामी चाहिँ कहाँ गयौँ थाहा थिएन। हामी कुन दिशाबाट आएका थियौँ, त्यो पनि थाहा थिएन- केही-केही थाहा थिएन। मैले जब आँखा खोलेँ, सँगै पाएँ दशाननलाई। उहाँको मुहारमा एउटा अलग उज्यालो थियो, एउटा अर्कै शान्ति थियो। मैले हेरेँ त्यो चपल आँखाको दहबाट आइरहेको प्रशान्ति।”
मेरा पूज्य बाहुबलीको ध्यान युद्धभन्दा शान्तिमा जाओस् भन्ने मेरो यत्न हो। त्यसैले पनि राजप्रासादबाट यति पर यो दिव्य शिव-आँगनमा लिएर आउँछु म उहाँलाई। ध्यानबाट बाहिर आएपछि लङ्केशको त्यो आँखाको डिलमा छुन मन लागेको थियो; किनकि त्यहाँ पानीको सुनौलो थोपा थियो। पुछ्न मन लागेको थियो त्यो सुनौलो कणलाई हातले, तर सकिनँ छुन। अलिकति डर, अलिकति सङ्कोच, अलिकति के गरूँ-के गरूँको भावले…!
आफूले औधी प्रेम गरेको जीवन-अस्तित्वलाई धेरै माया गर्दा स्नेहको त्यो जादुगिरी तार पो छिन्ने हो कि भन्ने मनमा डर हुँदोरहेछ।
पानीका बुँद र ध्यानको गहिराइले छोइएको दशाननको मुहार यति कोमल र पवित्र लाग्यो कि छोइदिनु पनि फूलमाथि चम्केको शीत झारिदिनूजस्तै! उफ्…! यो आनन्द यस्तै रहोस् है ईश्वर!
ध्यानबाट ब्युँझिसकेपछि फेरि हामी यही भौतिक भूगोलको संसारमा फर्कियौँ। माया लाग्यो वरिपरिको! फेरि लङ्केशलाई हेरेँ, अलिकति हाँसेँ म। उहाँ पनि अलिक मुस्कुराउनुभयो। ध्यानपछिको त्यो मुहारमा एउटा अर्कै सघनता थियो, अर्कै सुखानुभूति र तृप्ति थियो। ढुङ्गाबाट तल झर्नाको पानी जमेर सानो तलाउ बनेको थियो।
यसरी बारम्बार म लङ्केशलाई किन ध्यानमा लिएर गइरहेकी छु, त्यो मलाई मात्र थाहा छ। एउटी धर्मपत्नी आफ्नो पुरुषले कहिल्यै पनि केही विग्रह नगरोस् भन्ने चाहन्छे। म चाहन्छु- मेरो दशानलभित्र घमण्ड र विद्रोही भावभन्दा प्रेम र शान्तिको भावले जितोस्। मलाई डर लाग्छ— यो राज्यको के होला? यो धर्मको कसरी रक्षा गर्न सकिएला?
मेरा लङ्केशराज ऋषिपुत्र विश्रवाका पुत्र हुन्। त्यस्ता महान् ज्ञानी, तपस्वीका पुत्र लङ्केशमा पनि त्यस्तै आचरणको अपेक्षा राख्नु मेरो के भूल थियो? मेरा लङ्केशमा मावलीपट्टिको गुण गएकोमा म अत्यन्तै दुःखी छु। त्यसैले पनि उहाँको ध्यान शान्तिबाट पर नजाओस् भनेर उहाँलाई यो तपस्यास्थलमा लिएर आउँछु। आमा कैकसी राक्षसराज सुमालीकी छोरीतर्फ किन गयो, म त्यसैमा चिन्तित छु।
छोरामा आमाको भन्दा पिताको गुण बढी हुनुपर्ने थियो, तर मेरो दशाननमा माता कैकसीको गुण हाबी भयो र त बढी घमण्डी देखिन्छन्। म के गरूँ? म परेँ कोमल नारी, म त केवल उहाँकी दासीजस्तै त छु!
‘यो राज्य, यो राजधर्मको रक्षा गर हे प्रभु!’
बिहानको कलिलो आकाशमा नीलो सूर्य उदाएपछि लङ्काको तेज हराएको जस्तो अनुभूति हुन थाल्यो। आज यो पहिलेको जस्तो प्रमोदित थिएन। बिहानको उज्यालोमा कुनै गहिरो रहस्य लुकेको जस्तो अनुभूति भयो। सुनका महलहरूमा रक्तिम आभा फैलियो, समुद्रका छालहरूले अनौठो लयमा गीत गाउन थालेको जस्तो प्रतीत भयो, र चराहरू पूर्वतिर होइन, पश्चिमतिर उड्न थाले। खोइ किन हो, राजप्रासादका विद्वान्हरू समेत तीनछक पर्न थालेका थिए।
कसैले भने, “यो देवता रिसाएको पूर्वसङ्केत हो।”
अर्काले भने, “यो विनाशको पूर्वसूचना हो।”
तर यो पूर्वघटनाका बारेमा मन्दोदरीलाई मात्र थाहा छ- यो के हो? शुभ हो या अशुभ हो? भविष्यको सुन्दर लङ्कामा के कुनै अनिश्चित अनिष्ट वा आपत् आउँदै छ कि भनेर! यो स्वर्ण लङ्काको शार्दूल समय आफैँ-आफैँ बदलिँदै गएको सङ्केत थियो र मन्दोदरी यो आगत सन्त्रासका बारेमा आफैँ परिचित छिन्। उनलाई अरूले बुझाइदिनुपर्ने कुरा रहेन अब। मन्दोदरीभित्र रहेको मातृत्व-शक्ति केही कमजोर भएको जस्तो भान भएको छ। स्त्री-हठले पनि कहिलेकाहीँ हार्नुपर्दोरहेछ।
त्यही रात उनले आफ्नो शयनकक्षमा राखिएको नीलो बिउ, जसलाई हँसले दिएको थियो, हातमा लिइन्। बिउ न्यानो थियो; मानौँ त्यसमा एउटा सानो मुटु धड्किरहेको होस्!
“तिमी को हौ?” उनले बिउलाई सोधिन्।
पहिलो पटक निर्जीव वस्तुले उत्तर दियो, “म वृक्ष होइन, स्मृतिको बीज हुँ।”
मन्दोदरी अचम्मित भइन्, “स्मृतिको बीज?”
“हो, जहाँ मलाई रोपिन्छ, त्यहाँ मानिसले आफूले बिर्सिएको सत्य सम्झिन्छ।”
“म तिमीलाई कहाँ रोपूँ?”
“जहाँ संसारले सबैभन्दा धेरै आँसु बगाएको छ।”
त्यसपछि बीज फेरि मौन भयो।
त्यतिनै बेला लङ्काधिपति रावण आफ्नो विजय-अभियानको योजना बनाइरहेका थिए। संसारका हरेक कुनामा आफ्नो साम्राज्य फैलाउने उनको तीव्र इच्छा दिनप्रतिदिन प्रज्वलित हुँदै गइरहेको थियो।
योजना बनाउँदै गरेका आफ्ना पतिलाई मन्दोदरीले सम्झाइन्, “हे लङ्केश! पृथ्वी जित्नुभन्दा कठिन काम आफ्नै मन जित्नु हो।”
क्रोधलाई पर पन्छ्याएर आफ्नी प्रिय पत्नीको अगाडि रावण मुसुक्क मुस्कुराउँदै बोल्छन्, “मन जितेर इतिहास लेखिँदैन।”
मन्दोदरीले शान्त स्वरमा भनिन्, “तर मन हारेर इतिहास कहिल्यै टिक्दैन।”
रावण फेरि मौन भए। उनी सधैँ मन्दोदरीको अविचलित ज्ञान र बुद्धिको सम्मान गर्थे, तर आफ्नो अभिमानभन्दा माथि कसैको वाणी राख्न सक्दैनथे।
केही दिनपछि मन्दोदरी एक्लै समुद्रकिनारमा पुगिन्। मन भ्रान्त भएको बेलामा शान्त सामुद्रिक किनारमा गएर सोचेर बस्नु, चिन्तन गर्नु, आफूले गरेका कर्मको परिणामका बारेमा आफैँ जिज्ञासु हुनु उनको आदिम आदत पनि थियो। त्यही बेला सामुद्रिक किनारमा उनले एउटी वृद्ध साध्वी मातालाई ध्यानमा बसेको देखिन्। उनको कपाल बादलजस्तै सेतो थियो, आँखामा निश्वासका ताराहरू झिलिमिली गरेको भान हुन्थ्यो।
“आऊ, मन्दोदरी,” साध्वीले आँखा नखोली भनिन्।
“तपाईँले मेरो नाम कसरी थाहा पाउनुभयो माता?”
“तिम्रो नामको गीत त समुद्रले तिमी जन्मेदेखि गाइरहेको छ।”
मन्दोदरीका आँखामा अलिकति खुसी छायो। उनी माताको सामुन्ने बसिन् र भनिन्, “आमा, मलाई भन्नुहोस्, यो नीलो सूर्य किन उदायो आकाशमा?”
साध्वीले बालुवामा एउटा गोलो घेरा कोरिन् र भनिन्, “यो संसार दुई शक्तिले चलेको छ नानी— एउटा स्मृतिले र अर्को अहङ्कारले।” उनले बालुवाको घेरालाई बीचबाट चिरेर दुई भाग पारिन्, “जब अहङ्कार ठूलो हुन्छ, स्मृतिले आफ्नो रङ परिवर्तन गर्छ। त्यसैले सूर्य नीलो भएको हो।”
“त्यसको अर्थ के हो आमा?”
“यदि समयमै अहङ्कार नरोकिने हो भने, आगोले केवल लङ्का होइन, मानवताको अन्तिम सपना पनि जलाउनेछ।”
मन्दोदरीको हृदय काँप्यो। उनी एकछिन हतप्रभ बनिन्। बोल्ने, सुन्ने, बुझ्ने शक्ति नै कसैले खोसेर लगेजस्तो प्रतीत भयो। जुन कुराले उनलाई निरन्तर पछ्याइरहेको छ, आज त्यही कुराको नमीठो छायाले छोपेजस्तो लाग्यो। अस्त भयो नीलो घाम, डुब्यो समुद्रको काखमा। उनी महल फर्किइन्। मन कता-कता काँपेजस्तो पनि छ, बोली हराएजस्तो पनि छ। बोलूँ-बोलूँ पनि लाग्छ, नबोलूँ-नबोलूँ पनि लाग्छ। जीवन यही बोलूँ र नबोलूँको रहस्यमय गर्तमा क्रमशः धकेलिँदै गएको आभास भएको छ।
त्यस रात मन्दोदरीले फेरि आफ्नो रहस्यमय छाया देखिन्। यसपालि छायाको अनुहार अचम्मै उदास लाग्दो थियो। मन पनि विगलित थियो। उदास आँखाबाट केही बोल्न खोजे पनि वाक्य रोदनमा परिणत भएको भान हुन्थ्यो।
“तिमी फेरि आयौ?”
“किनकि समय छोटिँदै छ।”
“म के गर्न सक्छु?”
“उत्तर खोज।”
“कहाँ?”
“जहाँ समय उल्टो बग्छ।”
“त्यस्तो ठाउँ पनि हुन्छ?”
छायाँ मुस्कुराई, “कल्पनाको संसारमा असम्भव भन्ने शब्द हुँदैन।”
एकाएक यति कुरा गरेर त्यो छाया विलीन भयो।
भोलिपल्ट बिहान एउटा सेतो हरिण राजमहलको बीच बगैँचामा आयो। उसका सिङहरूमा नीला फूल फुलेका थिए। हरिण मन्दोदरीतिर हेरिरहेको थियो। मन्दोदरीले स्नेहिल भावले हरिणतर्फ फर्किएर बोलिन्, “तिमी मलाई बोलाउन आएका हौ?”
हरिणले टाउको हल्लायो।
मन्दोदरी त्यसको पछि लागिन्। हरिणले उनलाई घना वन पार गरायो, चट्टानहरू काट्दै एउटा अद्भुत उपत्यकामा पुर्यायो। त्यहाँ कुनै समय नै थिएन। यस्तो स्थान थियो कि उभिएर पर-पर हेर्दा धर्ती र आकाश एकै स्थानमा मिलेका जस्ता देखिन्थे।
त्यहाँ झरेका फूलहरू फेरि गएर आफ्नै रुखमा टाँसिन्थे। खसेका पातहरू हावासँग माथि-माथि उडेर फर्किन्थे। नदीको पानी तल होइन, माथितिर बग्थ्यो।
“यही हो,” हरिणले पहिलो पटक मानवीय स्वरमा भन्यो, “समय उल्टो बग्ने उपत्यका।”
मन्दोदरी स्तब्ध भइन्।
उपत्यकाको बीचमा एउटा विशाल वृक्ष थियो। उसका पातहरू सिसाजस्ता पारदर्शी थिए। वृक्षले आफैँ बोलेको सुनियो, “स्वागत छ तिमीलाई, स्वप्नरक्षिका!”
“तपाईँले मलाई चिन्नुहुन्छ?” भक्तिभावले बोलिन् मन्दोदरी।
“तिमी जन्मिनुअघि नै चिनेको हुँ।”
“म किन यहाँ बोलाइएकी?”
“किनकि भविष्यले तिमीलाई रोजेको छ।”
“मैले के गर्नुपर्छ?”
वृक्षको एउटा पात भुइँमा झर्यो। त्यो पात मन्दोदरीको हातमा पर्नेबित्तिकै उनी अनेक दृश्य देख्न थालिन्- अशोक वाटिकामा एक दिव्य नारी मौन बसेकी थिइन्; वानरहरूको विशाल सेना समुद्रकिनारतर्फ उभिएका थिए; लङ्का धुवाँले ढाकिएको थियो; र त्यस धुवाँको बीचमा मन्दोदरी आफैँ रोइरहेकी थिइन्।
“यी सबै हुनेछन्?” उनले डराउँदै सोधिन्।
वृक्षले उत्तर दियो, “भविष्य ढुङ्गामा लेखिएको हुँदैन, तर अहंकारले त्यसलाई कठोर बनाउँछ।”
“के म यो परिवर्तन गर्न सक्छु?”
“यदि तिमीले आफ्नो हृदयभन्दा ठूलो निर्णय गर्न सक्यौ भने।”
उपत्यकाबाट फर्कँदा हरिण हराइसकेको थियो, तर मन्दोदरीको हातमा एउटा पारदर्शी पात अझै थियो। महल फर्केर उनले त्यसलाई चन्द्रमाको उज्यालोमा राखिन्। पातमा सुनौला अक्षरहरू आफैँ प्रकट हुन थाले:
“जब सत्य र प्रेम एक-आपसमा युद्ध गर्छन्, त्यहाँ कुनै विजेता हुँदैन।”
त्यही क्षण महलको आकाशमा एउटा उल्का चम्कियो। पूरै लङ्का एकछिन नीलो प्रकाशले भरियो। र मन्दोदरीले पहिलो पटक स्पष्ट रूपमा महसुस गरिन् कि आगामी दिनहरूमा उनले केवल रानी भएर होइन, समयको अन्तिम साक्षी भएर बाँच्नुपर्नेछ। उनलाई थाहा थिएन— भाग्यले अब उनको बाटोमा एउटा यस्तो अतिथि ल्याउँदै थियो, जसको आगमनले सम्पूर्ण युगको दिशा परिवर्तन गर्ने थियो।
(क्रमशः…)
No ads found for this position




Facebook Comment