हिमपात र पहिरोले हिल्सा-सिमकोट सडक ठप्प, दशैंको मुखमा ताक्लाकोटबाट फर्किएका नेपालीसहित नागरिक मर्कामा
सुर्खेत। लगातारको हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सा जोड्ने रणनीतिक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
नाम्खा गाउँपालिका-४ स्थित यालबाङ र सिमकोट गाउँपालिका–७ को ठाडोढुङ्गामा पहिरो खस्नुका साथै माथिल्लो हिमाली क्षेत्रको १२ किलोमिटरभन्दा बढी सडकमा बाक्लो हिउँ जमेपछि यातायात ठप्प बनेको हो।
सडक बन्द भएसँगै चाडपर्वको मुखमा घर फर्कने स्थानीयवासी, व्यापारी तथा मानसरोवर जाने पर्यटकहरूको आवागमन पछाडि धकेलिएको छ। खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी रोकिँदा उत्तरी हुम्लाको जनजीवन प्रभावित बनेको छ। चीनको ताक्लाकोटबाट व्यापार तथा रोजगारी गरी फर्किएका कैयौँ नेपाली नागरिक सडक अवरुद्ध भएपछि हिल्सामै रोकिएका छन्।
एक साताभित्र सडक खुलाउने लक्ष्य
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले पुनः थप हिमपात नभए एक साताभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। “दुर्गम क्षेत्र भएकाले मेसिन, जनशक्ति र इन्धनजस्ता आवश्यक स्रोतसाधन एकैपटक जुटाउन समस्या भइरहेको छ,” प्रजिअ गुरागाईंले भने। यद्यपि, सल्लीसल्लादेखि सिमकोटसम्मको खण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइसकिएको छ।
हेलिकोप्टरको भर, पर्यटन व्यवसायी चिन्तित
सडक सञ्जाल विच्छेद भएपछि बिरामी र अत्यावश्यक काम परेका नागरिकहरू महँगो भाडा तिरेर हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका छन्। अर्कोतर्फ, हिल्सा नाका कैलाश मानसरोवर यात्राको प्रमुख द्वार भएकाले सडक बन्द हुँदा स्थानीय पर्यटन र व्यापारमा नकारात्मक असर परेको छ।
स्थानीय पर्यटन व्यवसायी नोर्बु लामाका अनुसार भोटेकोसीको बाढीपछि हुम्लाका सबै पर्यटकीय क्षेत्र बन्द भएको भन्ने भ्रामक सूचना फैलिएकाले पर्यटन व्यवसायमा अझ धक्का पुगेको छ। उनले हुम्लाका पर्यटकीय क्षेत्र खुला नै रहेकाले सही सूचना सम्प्रेषण गरिदिन आग्रह गरेका छन्।
चीनसँगको सीमावर्ती व्यापार तथा आवतजावतका लागि महत्वपूर्ण मानिएको हिल्सा–सिमकोट सडक छिटो खुलाउन सके दसैँको समयमा नागरिकको यात्रा सहज हुनुका साथै आपूर्ति व्यवस्थापन सुचारु हुने अपेक्षा गरिएको छ।
No ads found for this position




Facebook Comment