पहिरोग्रस्त बेनी-जोमसोम सडकमा झर्याङ र डोरी टाँग्दै युवा टोली
म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै छिमेकी जिल्ला मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकहरूले प्रयोग गर्ने बेनी-जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वयम्सेवी युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन्।
बेनीका प्रकाश पौडेलको नेतृत्वमा खटिएको युवाहरूको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रका अप्ठ्यारा ठाउँहरूमा झर्याङ (काठको भर्याङ) राख्ने तथा डोरी झुन्ड्याउने काम गरेको छ। १५ जनाको समूहले दिनभर श्रमदान गरी पैदलयात्रा गर्न असहज बनेका रुखहरू काटेर हटाउने काम समेत गरेको संयोजक पौडेलले जानकारी दिए।
‘यो सडक मर्मत सकिएर नियमित रूपमा सवारी साधन सञ्चालन हुने अवस्था नआउँदासम्म पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य यात्रुहरूको सहजताका लागि हामीले श्रमदान अभियान सञ्चालन गरेका हौँ,’ उनले भने, ‘सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल र साथीहरूलाई आह्वान गरेर स्वयंसेवक परिचालन गरी सडकमा मानिसहरूलाई सहज तथा सुरक्षित रूपमा आवतजावत गर्ने वातावरण बनाउने प्रयास गरिएको हो।’
गत हप्ता परेको अविरल झरीपछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकको म्याग्दी खण्डका कतिपय ठाउँहरूमा पैदलयात्रा गर्न समेत निकै कठिन अवस्था छ।
एक हप्ताअघिसम्म दैनिक हजारौँ गाडी गुड्ने बेनी-जोमसोम सडकको बेनीदेखि काभ्रेभीर खण्डको ३३ किलोमिटर सडक पहिरो, कालीगण्डकीको कटान र बाढीले छियाछिया बनाएको छ। पक्की सडक भत्किएको मात्र छैन, केही ठाउँहरूमा नामनिसान नै नरहने गरी बगेको र भत्किएको छ।
सडक मर्मत भइनसक्दासम्म मुस्ताङमा फसेका पर्यटक, तीर्थयात्री, व्यवसायी र स्थानीय बासिन्दाहरूका लागि अत्यावश्यक कामका सिलसिलामा हिँडेरै गन्तव्यमा पुग्नुबाहेक अन्य कुनै विकल्प छैन। तर, सडकमा गर्नुपर्ने पदयात्रा निकै जोखिमपूर्ण र असहज बनेको छ।
यसैबीच, बेनी-जोमसोम-कोरला सडक आयोजनाले पछिल्लो पटक अवरुद्ध भएका ४६ मध्ये ४१ ठाउँमा मर्मतको काम सम्पन्न भइसकेको जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी खण्डमा हाल मर्मत कार्य जारी रहेको छ।
इन्धन र उपकरणको व्यवस्था मिलाएर थप ठाउँहरूमा पनि उपकरण र मजदुर परिचालन गरी अवरुद्ध कोरला नाका जोड्ने सडक जति सक्दो छिटो सञ्चालनमा ल्याउन युद्धस्तरमा कामलाई तीव्रता दिइएको शर्माले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment