चेतनशील प्राणी मानिस: चेतना, विवेक र सत्कर्मको मार्ग
यस संसारमा आजसम्म जति पनि मानिसहरू जन्मिए, ती सबै कुनै न कुनै विशेष खुबी, प्रतिभा वा बुद्धि लिएर नै आएका थिए। हाल संसारमा विद्यमान सबै मानिसहरूमा पनि हरतरहले कुनै न कुनै प्रकारको क्षमता वा बुद्धि निहित छ।
त्यसैगरी, भविष्यमा जन्मिने सन्ततिहरूले पनि प्रकृतिबाट यस्तै अद्वितीय बुद्धि र क्षमता लिएर आउनेछन्। यो त्यस्तो नैसर्गिक शक्ति हो, जुन प्रकृतिले मानिसलाई उपहारस्वरूप प्रदान गरेको छ र कसैले पनि यसलाई हडप्न वा खोस्न सक्दैन।
नेपाली र संस्कृत साहित्यमा एउटा प्रसिद्ध भनाइ छ:
“अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम्।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः।।”
अर्थात्, मन्त्र नबन्ने कुनै अक्षर हुँदैन, औषधि नबन्ने कुनै वनस्पति हुँदैन र योग्यता वा क्षमता नभएको कुनै मानिस हुँदैन। कमी केवल त्यस योग्यतालाई चिन्ने र सही ठाउँमा प्रयोग गराउने विवेकशील ‘योजक’ (व्यवस्थापक) को मात्र हुन्छ।
संसारका यावत् मानिसहरूले केही न केही कुरा जानेकै हुन्छन् र सबैको अन्तिम उद्देश्य एउटै हुन्छ- त्यो हो, सच्चा आनन्द र शान्ति। मानिसलाई उसको भित्री रुचि र इच्छाअनुसार चल्न दिने हो भने उसले आफूभित्र लुकेको क्षमतालाई उजागर गरी त्यसैमा तल्लीन रहन्छ।
कालान्तरमा उसले आफ्नो चेतनाले दिएको ज्ञानलाई अभिवृद्धि गर्दै संसारभर ख्याति कमाउन सफल हुन्छ। मानिसको बुद्धि शरीरको आकार वा उमेरले बढाउने होइन; बुद्धि त चेतनाबाट जागृत हुन्छ, सकारात्मक संगतबाट प्रस्फुटित हुन्छ र उच्च विचारले उसको जीवनलीला सार्थक बन्दै जान्छ।
सबै कुरा अनुकूल भएर पनि यदि मानिसले कुविचार बोकेर हिँड्छ भने उसमा घमण्ड र अहंकार चढ्छ। अहंकारले ठूला-ठूला बुद्धिमान् मानिसलाई पनि पतनको बाटोमा लैजान्छ।
त्रेतायुगमा भगवान् रामसँग जोरी खोज्ने महाज्ञानी र प्रकाण्ड विद्वान् रावण अन्ततः आफ्नै घमण्डका कारण अकालमा नष्ट हुनुपर्यो। अर्कोतिर, सत्कर्म र ज्ञानका शिखर मानिएका, आठ ठाउँमा शरीर बाङ्गो-टिङ्गो भएका ‘अष्टावक्र’ आफ्नो परम ज्ञान र विवेककै कारण राजा जनकका पूजनीय गुरु बनेका थिए।
संसारका सम्पूर्ण मानिसहरूको अन्तिम चाहना शान्ति र आनन्द नै हो। फरक यत्ति हो- कोही मानिस अरूलाई मारेर वा पीडा दिएर क्षणिक आनन्द खोज्छन् भने कोही मानिस अरूको उपकार र सेवा गरेर परम शान्ति प्राप्त गर्छन्।
लक्ष्य दुवैको ‘आनन्द’ नै भए पनि अँगालेको मार्ग फरक भएकाले गलत बाटो हिँड्नेहरू पतनको गर्तमा भासिन्छन् भने सत् मार्ग हिँड्नेहरू सफलता र उचाइको उत्कर्षमा पुग्दछन्।
मानिसहरूमा कोही शारीरिक रूपमा बलशाली हुन्छन् भने कोही मस्तिष्कका धनी हुन्छन्। कोही शारीरिक दौडधुपबाट नाम कमाउँछन् भने कोही शारीरिक रूपमा चल्नै नसक्ने भएर पनि आफ्नो बौद्धिक क्षमताले संसारलाई प्रभावित पारिरहेका हुन्छन्।
महान् वैज्ञानिक स्टेफन हकिङको हातखुट्टा र शरीरका अंगहरू चल्दैनथे, तर उनको मस्तिष्क भने सामान्य मानिसले सोच्नै नसक्ने खालको अद्भुत र विलक्षण थियो।
प्रकृतिले मानिसभित्र यति ठूलो आन्तरिक शक्ति दिएको छ, जुन स्वयम् मानिसलाई नै थाहा हुँदैन। आफ्नो वास्तविक क्षमता पहिचान गर्न नसक्दा मानिस दुःखी बन्न पुग्छ।
जब मानिसको मनमा चिन्ता, रिस, आडम्बर, ईर्ष्या, प्रतिशोध, डाहा र निहुँ खोज्ने जस्ता नकारात्मक सोचहरूले अड्डा जमाउन थाल्छन्, तब उसका सकारात्मक ऊर्जा, सिर्जनशीलता, सुविचार र ज्ञान सबै लोप भएर जान्छन्।
नकारात्मकताले ग्रस्त मानिस बिस्तारै क्रुद्ध बन्दै ‘नरपशु’ समान बन्न पुग्छ र उसलाई त्यस्तै विनाशकारी कर्ममा बेफजुलको सुख र आनन्दको अनुभूति हुन थाल्छ। यो उसको अज्ञानताको पराकाष्ठा हो।
मानिस असल र ज्ञानी बन्ने, सबैको प्रिय र पूजनीय बन्ने मार्ग रोज्ने कि अज्ञानी, अप्रिय र घृणित बन्ने? यो उसले लिने सोच र रोज्ने बाटोमा निर्भर हुन्छ। मानिस आफ्नो सद्गुणले ईश्वरजस्तै पूजनीय पनि हुन सक्छ भने दुर्गुणले दानवजस्तै घृणित बन्न पनि सक्छ। यी दुईमध्ये कुन बाटो रोज्ने भन्ने कुरा स्वयम् व्यक्तिमै निहित हुन्छ।
इतिहास पल्टाएर हेर्ने हो भने यस संसारमा कति हत्यारा बने, कति लुटेरा बने, कति ठग र व्यभिचारी बने! ती सबैको नाम आज इतिहासको पानाबाट मेटिइसकेको छ वा घृणाका साथ लिइन्छ।
तर, उही मानव अवतारमा कति ऋषि-महर्षि बने, कति साधु-सन्त बने, कति वैज्ञानिक बने, कति योग्य चिकित्सक र इन्जिनियर बने त कति त्यस्ता महान् पुरुष बने जसले संसारलाई नयाँ दृष्टिकोण र मार्गदर्शन प्रदान गरे।
सिद्धार्थ गौतम हामीजस्तै सामान्य मानिस थिए, तर उनले अंगीकार गरेको सुविचार र तपस्याका कारण उनी अन्ततः सारा संसारका पूजनीय ‘भगवान् बुद्ध’ बने। मानिस ईश्वरत्व प्राप्त गर्ने बाटो यही हो।
अर्कोतिर, एडोल्फ हिटलर पनि मानिस नै थिए; उनको कुसंस्कार र क्रूरताले गर्दा उनी जर्मनीको सर्वोच्च शासक बने तापनि आजको संसारले उनलाई एउटा क्रूर हत्याराका रूपमा मात्र याद गर्दछ।
मानिस ईश्वरजस्तै बन्न नसक्नुको मुख्य कारण उसको सधैँ ‘गुनासो गर्ने बानी’ हो। सधैँ “यो भएन, त्यो भएन” भन्दै अरूको आलोचना र गुनासो मात्र गरिरहने हुनाले उसले आफू को हुँ, संसारमा आएर के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने कुराको विचार नै गर्दैन।
यही अज्ञानताका कारण उनीहरू सधैं साधारण र दिशाहीन मानिससरह बन्न पुग्छन्। जीवनमा “मैंने के गरेँ” भन्दा पनि “मैले के गर्न सकिनँ” भन्ने कुराको आत्मबोध हुनु आवश्यक छ।
आफूले गरेको कामको प्रशंसा आफैं नगरी, सधैं जिज्ञासु र अज्ञानी बनेर ज्ञानको खोजीमा लागिरहने हो भने मानिसले नयाँ-नयाँ कुराहरूको अन्वेषण गर्न सक्छ र समाजलाई नयाँ दिशा र दृष्टिकोण प्रदान गर्न सक्छ।
सधैँ अरूको कुरा काट्ने, अरूको विरोध गर्ने र गुनासो मात्र गरिरहने मानिसले जीवनमा कहिल्यै प्रगति गर्न सक्दैन; अन्ततः उसको उन्नतिका साटो अवनति हुनु पक्का छ। दम्भ र घमण्डले मानिसलाई क्षणिक रूपमा ठूलो त बनाउला, तर असल, सदाचारी र सबैको प्रिय कहिल्यै बनाउन सक्दैन।
मानिस बिग्रने वा सप्रिने आफ्नै सोच र सङ्गतले हो। मानिसको सोच डानियल एलेजस्तो हुनुपर्छ। “मैले के गरेँ” भन्दा पनि “मैले अझै के गर्न बाँकी छ” भन्ने भाव मनमा हुनुपर्छ।
डानियल भन्छन्- सधैँ गुनासो मात्र गरिरहने, “परिवार खत्तम छ, समाज खत्तम छ, नातागोता खत्तम छन्, संसार नै खत्तम छ” भन्दै अरूलाई दोष दिने मानिसले जीवनमा केही पनि गर्न सक्दैन। विश्वकै चर्चित धनी उद्यमी ज्याक मा भन्छन्, “गुनासो गर्न बन्द गर र आफ्नो कर्ममा लाग, तिमी आफैँ महान् बन्न सक्छौ।”
आफू बसेको, हुर्केको र आफ्नै नातागोतालाई नै खत्तम देख्ने व्यक्तिले दुनियाँमा केही पनि गर्न सक्दैन। जुन डुङ्गामा आफू बसेको छ, त्यही डुङ्गामा प्वाल पार्नु कत्तिको विवेकपूर्ण होला? पक्कै पनि मिल्दैन।
हिन्दीमा एउटा मार्मिक उखान छ: “जसको साथमा हामी बस्छौँ उसलाई मन पराउँदैनौँ, तर जसलाई हामी देख्दैनौँ उसलाई भगवान् मान्छौँ।” यो कथन निकै गहिरो छ। यसैबाट थाहा हुन्छ कि मानिस अज्ञानताको कति ठूलो अन्धकारमा छ। यस्ता नकारात्मक सोच भएका मानिसहरू संसारमा कहिल्यै सुखी हुन सक्दैनन्।
मानिस महान् बन्नका लागि केवल पैसाको पछाडि दौडिने होइन, पैसाभन्दा माथि उठेर वास्तविक ‘सम्पत्ति’ (ज्ञान र विवेक) को खोजीमा लाग्नुपर्छ। जसले पैसाको बचत र उपयोगको सही ज्ञान बुझ्छ, उसले धन कमाउन सक्छ। तर, दिनरात “पैसा पैसा” मात्र भनेर मरिहत्ते गर्ने मानिसले कहिल्यै सच्चा धन कमाउन सक्दैन।
डानियल एलेले हजारौँ पुस्तक पढे, ज्ञानको भण्डार त अङ्गाले, तर सुरुमा त्यसलाई सही ढङ्गले बुझ्न सकेका थिएनन्। पछि जान्नु र बुझ्नुबीचको फरक बुझेर उनी केवल पैसाको पछाडि नलागी वास्तविक सम्पत्ति अर्थात् बुद्धिको पछाडि लागे; अनि मात्र उनी धन र सफलता आर्जन गर्न सफल भए। यो उनको जीवनको ठूलो रूपान्तरण थियो।
यसै सन्दर्भमा संस्कृतको एउटा नीतिश्लोक स्मरणीय छ:
“अधमाः धनमिच्छन्ति धनं मानं च मध्यमाः।
उत्तमाः मानमिच्छन्ति मानो हि महतां धनम्।।”
अर्थात्, निम्न कोटीका मानिसहरूले केवल धनको मात्र इच्छा राख्छन्; उनीहरूलाई मान-सम्मानको कुनै मतलब हुँदैन। मध्यम कोटीका मानिसहरू धन र मान-सम्मान दुवैको इच्छा राख्छन्।
तर, उत्तम र श्रेष्ठ कोटीका मानिसहरू केवल मान-सम्मानको इच्छा राख्छन्, किनभने महान् पुरुषहरूका लागि सम्मान नै सबैभन्दा ठूलो धन हो। पैसाको लोभमा फसेका मानिसहरू सिर्जनशील क्षमताका भए तापनि समाजबाट घृणित हुन्छन् र उनीहरू कहिल्यै साधारण मानिसबाट सच्चा ‘मानव’ बन्न सक्दैनन्।
मानिस महान् बन्नका लागि धेरै कुरा जान्ने हुनुभन्दा पनि बढी ‘बुझ्ने’ हुनुपर्छ। बुझेर गरिएको कुनै पनि काम असफल हुँदैन। कुनै पनि क्षेत्रमा सफलताको शिखरमा पुग्न निरन्तर सिक्नुपर्छ, जान्नुपर्छ र सबैभन्दा मूल कुरा त्यसलाई व्यावहारिक रूपमा बुझ्नुपर्छ। सफलताको सिँढी बिस्तारै बन्दै जान्छ, यो शाश्वत नियम हो। धेरैजसो मानिसको बानी कुनै काम सुरु गर्ने र तुरुन्तै फल नपाए बीचैमा छाडिदिने हुन्छ।
जुनसुकै खाना पनि राम्ररी पकाएर खाँदा स्वादिष्ट हुन्छ भने काँचो वा आधा पकाएर खाँदा अलिनो र बेस्वादको हुन्छ। थोरै ज्ञान कहिलेकाहीँ अति खतरनाक सिद्ध हुन सक्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ: “A little knowledge is a dangerous thing” अर्थात् अधुरो वा अपूरो ज्ञान असफलताको कारण बन्न सक्छ।
केवल पैसाले मानिसलाई महान् बनाउन सक्दैन। पैसाले भौतिक सुख-सुविधा त देला, तर मनमा सच्चा आनन्द र शान्ति दिन सक्दैन। विश्वका प्रसिद्ध धनी उद्यमी एलोन मस्क धनसम्पत्तिमा पौडी खेले तापनि उनको भित्री मनमा पूर्ण शान्ति छैन।
उनकी पत्नीले उनलाई छाड्नु, छोरा उनीबाट अलग्गिनु र उनलाई मन नपराउनुको कारण जीवनको दृष्टिकोणमा आएको विचलन नै हो। उनी पैसाका मालिक अवश्य हुन्, तर जीवनलाई बुझेर भित्री रूपान्तरण ल्याउन सक्ने आत्मिक शक्ति उनमा अझै कमी देखिन्छ।
मानिस एक चेतनशील प्राणी हो, ऊभित्र सिर्जनाको अथाह भण्डार छ। तर, आफूभित्र रहेको उक्त आन्तरिक शक्तिलाई चिन्न नसक्दा नै मानिसले दुःख पाउने हो। मानिस अरू कसैको अन्धभक्त वा पछाडि लाग्ने होइन; आफ्नो भाग्य र भविष्य निर्माण गर्ने निर्माता ऊ आफैं हो।
निरन्तर आफ्नो कर्तव्यमा लागेर नयाँ-नयाँ कुराको सिर्जना गरी समाजलाई योगदान दिन सकेमा मानिसले आफ्नो जीवनको सच्चा सार्थकता प्राप्त गर्न सक्छ। तसर्थ, जीवन मरणशील भए तापनि यो अमूल्य र धन्य छ। यसलाई सुधारेर यसको वास्तविक महत्व बुझ्न सकेमा यसै जीवनबाट सुख, आनन्द, शान्ति र मुक्ति सबै प्राप्त हुन सक्छ।
मानिसको जीवन बाहिरबाट हेर्दा दुःखमय देखिए तापनि यो अत्यन्त रहस्यमयी र अमूल्य छ। यस जीवनमा दुःख खोजे दुःख मिल्छ, सुख खोजे सुख मिल्छ, आनन्द खोजे आनन्द मिल्छ र मुक्ति खोजे मुक्ति पनि मिल्छ। तर, हामी जे खोजिरहेका छौँ, त्यसको सही मार्ग भने निरन्तर खोजी गर्नुपर्छ।
खोजको यात्रा निरन्तर जारी रहनुपर्छ। बाटोमा असफलताहरू आउन सक्छन्, तर हार नमानी प्रयास जारी राख्नुपर्छ; किनभने असफलता नै सफलताको पहिलो सिँढी हो।
डर र त्रासबाट मुक्त हुने बानी बसाल्नुपर्छ। केवल ज्ञानको पछाडि मात्र नभई बुद्धिको पछाडि र बुद्धिभन्दा पनि माथि उठेर ‘विवेक’को पछाडि लाग्नुपर्छ। विवेकमा नै सम्पूर्ण सफलता र शान्तिको सम्भावना लुकेको हुन्छ।
सोच र विचारमा गुनासोको कुनै आभा हुनुहुँदैन; सरल र सादा जीवन बिताउने बानी बसाल्नुपर्छ। कसैलाई ठगेर वा छल गरेर धनी बन्नुको साटो कडा मेहेनत र इमानदार बनेर समृद्ध बन्नुपर्छ।
राम्रो बोली, मीठो वचन र सत्कर्म नै वास्तविक सम्पत्ति हो भन्ने कुरा जानेर मात्र पुग्दैन, त्यसलाई जीवनमा बुझ्नु र उतार्नु पनि पर्छ। जीवनमा समस्याहरू बोकेर हिँड्नुभन्दा सधैँ समाधानतर्फ उन्मुख हुनुपर्छ, किनभने “Every problem has a solution within itself” अर्थात् हरेक समस्याको समाधान त्यसैभित्र लुकेको हुन्छ। मानिस ठूलो धनदौलतले होइन, उच्च सोच, विचार, सुकर्म, विवेक र बुद्धिले बन्छ। एक सच्चा सिर्जनशील मानिसले सोच्ने र जीवनमा लागू गर्ने मूल मन्त्र नै यही हो।
No ads found for this position




Facebook Comment