कविता : नम्बरी सुन

आयुष कसौधन
१३ असोज २०८३ १२:२५

मान्छेहरूको चाल अब स्यालको जस्तै भयो,

झुटले बनेको कुरामा इमान सस्तो भयो।

नम्बरी सुनलाई कसी किन चाहियो?

आफ्नो झुटलाई सत्य, अरूको सत्यलाई झुट भन्ने

गुण कहाँबाट ल्याइयो?

मैले भनेको सुन त साँचो हो- एक नम्बरी,

तर प्रश्न गर्छन्-

“पक्का प्रमाण छ कि झुट छ मनभरी?”

सत्य किन लुक्छ पापको अन्धकारमा?

मिलावट किन मिसियो आजको युगको विचारमा?

दुःख लाग्छ-

सत्य किन प्रश्नको घेरामा?

इमान किन भाँचिन्छ झुटको डेरामा?

आफ्नो कालो मन लुकाउन मज्जाले सिकेका छन्,

अरूको उज्यालोमा खोट लगाउन टोली बनाई जुटेका छन्।

सन्देश मात्र यत्ति हो- हे समाजका ठेकेदारहरू!

पहिले आफैँलाई अवलोकन गर, छ कि छैन मनमा भार?

सत्यको सौन्दर्य बुझ्न अब त आँखा खोल-

सुनलाई कसीले होइन, इमानले तोल।

कसैले भन्यो- “सुनमा खोट छ।”

अनि तिम्रो टाउको किन दुख्दै छ?

कि मिलावटको कुरा उठ्दा आफ्नै हत्केला सम्झिँदै छ?

तसर्थ- नम्बरी सुनलाई कसी लगाउनु पर्दैन।

यदि बारम्बार कसीमै राख्नुपर्छ भने,

एकपटक कसीलाई होइन- कस्ने हातलाई हेर।

सुन बेच्ने सुनारलाई हेर,

धातु बेच्ने लोहारलाई हेर,

अनि इमान बेच्ने मान्छेको-

विचारलाई हेर।

त्यसैले-

खोट खोजिरहने आँखाले सत्यको औचित्य घट्दैन,

नम्बरी सुनलाई कसी लगाउनु पर्दैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *