उपन्यास : मन्दोदरी-भाग-१

लक्ष्मण राज सिटौला
१० असोज २०८३ ७:४३

(पाठकवृन्द, अबको केही महिनासम्म हामी ‘मन्दोदरी’ उपन्यास धारावाहिक रूपमा प्रस्तुत गर्नेछौँ। यसको हरेक भाग पढ्न नछुटाउनुहोला। यो उपन्यास रामायणकी एक असल पात्र, लङ्काधिपति रावणकी पत्नी मन्दोदरीमा आधारित छ। यसमा प्रयुक्त घटनाहरू केही मिथक र स्वैरकल्पनाको मालामा बुनिएका छन्।)

आमा रोएको घर, त्यो घर होइन श्मशान घाट हो

मन्दोदरीको काखमा पल्टेका पुत्र मेघनाद, यस्तो देखिन्छ कि धर्तीको विशाल लेकमा शीत बोकेको बादल आह्लादित भएर उडिरहेको छ। पुत्रमोहमा हर्षित मन्दोदरी छोराको बालसुलभ मुस्कानबाट आफ्नो प्रशंसा सुन्दै थिइन्।

“आमा! ममा तिम्रै मुहारको दियो बलिरहेछ। म तिम्रै ज्योत्स्नाको उजेलीमा धर्तीमा हिँड्ने जुनकिरी त हुँ नि। म तिम्रो सारङ्गी हुँ, म तिम्रो तार हुँ, म तिम्रो मूर्छना हुँ, म तिम्रो सस्वर हुँ, म तिम्रो बिम्ब हुँ; त्यसैले मभित्रको जुनकिरी कहिल्यै निभ्दैन आमा!

– प्रलय हलाहल पियौ तिमीले मेरो लागि। दुःखको भारी बोकेर कयौँ रात अनिँदो बस्यौ। म काखमा थिएँ, मलाई दुख्ला कि भन्ने तिमीलाई कत्रो पिर! आफैँ रुझ्यौ तर मलाई कहिल्यै भिजाइनौ। यो संसारमा मनुष्य जीवनको सबैभन्दा नजिकको मान्छे उसको आमा हो। आमा भएरै त्यो जीवन अस्तित्वमा मिलेको हो।

– आमा परमात्माको पनि आत्मा हुन्। आमा ईश्वरको पनि ईश्वर हुन्। आमा सृष्टिको पनि सृष्टि हुन्। आमा चेतनाको पनि चेतना हुन्। आमा एक शिशुको पहिलो बोली हुन्। आमा आवाजको पनि आवाज हुन्। आमा लयहरूको कम्पन र ध्वनिहरूको अनुगुञ्जन हुन्।

– आमा आकाश, वर्षा, धर्ती, फूल, शीत, संस्कार-संस्कृति, आशा, आराध्य, आरोग्य र उन्नति सबै-सबै हुन्।

– यो पृथ्वीलोकमा यदि कोही छ भने तिमी छौ आमा। तिमी नै गीताको सार हौ। तिमी त प्रगीत हौ आमा। आमा! तिमी मेरो आत्माको अनुगुञ्जन हौ र त हामी जीवित छौ।

– हामीमा मुटु हालिदिने तिमी नै त हौ। हामीमा प्राण भरिदिने, हाम्रो जीवनशक्तिप्रदायिनी हे आमा, तिमी यदि नभएकी भए म कहाँ हुने थिएँ र?

– यदि यो लोकमा केही सत्य छ भने ती आमा हुन्। यदि यो लोकमा कसैलाई विश्वास गर्नु छ भने आमालाई नै हो। यदि यो धराधाममा पूजा गर्नु छ भने आमाकै गर्नु। आमाभन्दा अघि न कोही थियो, न आमाभन्दा पछाडि कोही रहला।

म तिम्रै आँसुले रुन्छु आमा। म तिम्रै हाँसोले हाँस्छु। म तिम्रै आँखाले हेर्छु यो स्वर्ण लङ्का। म तिम्रै ओठले बोल्छु। म तिम्रै दिलले यो जगतलाई माया गर्छु। म तिम्रै भरले उभिन्छु र म तिम्रै डरले नराम्रो कर्म गर्दिनँ।

आमा, तिमी नै मेरो पहिलो स्कुल, पहिलो अनुशासन। तिमी मेरो जीवन-प्रकाशन। मैले बोलेको बोलीमा तिम्रै स्वर मिसिएको छ र मैले गर्ने शुभकर्महरूको गुरुआमा मेरी आमा हुन्। मलाई बाँच्न सिकाउने मेरी आमा, मलाई जित्न सिकाउने मेरी आमा, दुःखमा रुन र सुखमा खुसी हुन सिकाउने पनि मेरी आमा।

दुःख झेल्न र यो दुनियाँसँग लड्न सिकाउने पनि मेरी आमा। खुसी हुन मात्र सिकाइनन् आमाले मलाई; दुःखी हुन र दुःखी रहन कहिल्यै सिकाइनन्। म दुःखी हुँदा अरू कोही दुःखी हुन्छ भने त्यो तिमी नै हौ आमा, अरू कोही होइन। अनि हाम्रो उन्नतिका लागि अभियान थाल्ने पनि तिमी नै हौ आमा।

मेरो जितमा र मेरो हितमा रमाउने पनि केवल तिमी मात्र हौ। अरू स्वार्थमा रमाउलान् वा अरूका सम्बन्धमा स्वार्थको गन्ध होला, तर तिमी निःस्वार्थको त्यो निर्मल गङ्गा हौ जसको पिँधमा पनि केवल अथाह मायाको श्री छ। तिमीभित्रको मातृत्वमा कहिल्यै कुनै स्वार्थ रहँदैन। हाम्रो खुसीका लागि ईश्वरसँग पनि युद्ध गर्छ्यौ तिमी। हे जगज्जननी! म तिम्रो छोरा मेघनाद भएर यो जुनी मात्र होइन, अरू सातै जन्म तिम्रो कोखमा जन्मियौँ!

म तिम्रै निद्रा हुँ, म तिम्रै सपना हुँ, म तिम्रै सकल सत्कीर्ति हुँ, म तिम्रै रस-रसना, तिम्रै रज-रचना हुँ आमा!

तिमै्र असीम अस्तित्वसँग हाम्रो अस्तित्व निहित छ। शिक्षाको पहिलो अध्ययन समाज होइन, तिमी हौ आमा। आमाहरुकै लयबाट समाज निर्मित हुन्छ। आमाहरूकै गतिशीलताबाट समाज पूज्य हुन्छ। राज्यको इज्जत आमाको सम्मानमा भर पर्छ; किनभने आमा रोएको घर त्यो घर होइन, श्मशान घाट हो।

आमा आँखाहरूबाट आँसुमा बगिन् भने त्यो घोर पाप भोग्न हामी तयार रहनुपर्छ। आमा घाउहरूमा दुखिन् भने आमाको दस धारा दूधको मूल्यले हामीलाई आजीवन हिँड्ने बाटो दिँदैन। हाम्रो घाउमा दुख्छिन् आमा। हामी आमाकै पीडा सापटी लिएर रोइरहेका हुन्छौँ। आमा तिनै हुन् जसको आँखामा हाम्रो खुसीको आकाश हाँसिरहेको हुन्छ।

आमा देश हुन्, आमा नदी हुन्, आमा जुन हुन्, आमा आत्माको आलय हुन्, आमा पर्वतहरूको हिमालय हुन्। विश्वास र भरोसाको नदी भएर बग्छिन् आमा, घाम भएर लाग्छिन् आमा, जुन भएर बल्छिन् आमा, फूल भएर फुल्छिन् आमा, आँखा भएर देख्छिन् आमा; त्यसैले हामी कहिल्यै अन्धो हुनै सक्दैनौँ।

हामीलाई आमा चाहिन्छ। आमाबिना हामी कसरी पूर्ण हुन सक्छौँ र? देशबिना हामी कसरी नागरिक हुन सक्छौँ र? यो मेरो जन्म धन्य छ आमा, म तिम्रो प्रतिबिम्ब हुँ। खुसीहरूको हिमालबाट बग्ने यो स्वर्ण लङ्का तिम्रो अभिनव सौन्दर्यको शिर हो आमा!

आशाहरूको दिग्विजय हाम्रो पक्षमा छ। अहिरावण, अतिकाय र अक्षयकुमारभित्रको वीरत्वभावलाई तिमीले कहिल्यै मर्न नदेऊ आमा। नदीले चारैतर्फ घेरिएको सुरक्षित यो दशानन राज्यको रक्षा गर्नु हाम्रो धर्म हो।”

आमाको काखमा पल्टेका मेघनाद गहभरि आँसुको बादल लिएर उठे।

पुत्रमोहले प्रमोदित भएकी मन्दोदरीका आँखा भिजेका थिए। लङ्काको त्यो राजप्रासाद यस्तो देखिन्थ्यो कि त्यसको आकाशमाथि उड्ने हरेक पन्छी प्रेमको पङ्खाले उडिरहेका छन्। समुद्रको स्पर्शले रमाइरहेको यो सुनौलो राज्य जब रातको अन्तिम तारा निलो पानीमा डुब्थ्यो, त्यही मौनताले एउटा स्त्रीको नाम लिन्थ्यो- मन्दोदरी।

ती महारानी केवल रामायणले चिनेकी रावणपत्नी मात्र थिइनन्; तिनी त समयको गर्भमा हराएकी पृथ्वीकी अन्तिम स्वप्नरक्षिका थिइन्।

भनिन्छ, संसारका सबै सपना नष्ट भए भने पृथ्वीको उर्वरता सकिन्छ, बाँझो हुन्छ। फूलहरू फुल्न छाड्छन्, नदीहरूले गीत गाउन बिर्सन्छन् र मानिसहरू केवल शरीर भएर बाँच्छन्। ती सपनाहरूको रक्षा गर्ने सात अदृश्य रानीमध्ये अन्तिम रानी थिइन्- मन्दोदरी, जसको जन्म कुनै राजमहलमा भएको थिएन।

पूर्णिमाको रात थियो। समुद्रले आफ्ना छालहरूलाई चन्द्रमाको काखमा राखेर निदाइरहेको थियो। त्यही बेला समुद्रको गहिराइमा एउटा विशाल नीलकमल फुल्यो। कमलको गर्भबाट एउटी उज्याली बालिका जन्मिइन्। उनको पहिलो श्वाससँगै हजारौँ मोती समुद्रमा छरिए।

माछाहरूले उनलाई देवी सम्झिए, नागहरूले राजकुमारी, अनि चन्द्रमाले आफ्नै छाया। त्यसैले उनको नाम राखियो- मन्दोदरी, अर्थात् शान्त समुद्रकी शैलपुत्री। यो मायालोक हो, यहाँ जीवनको विपुलता र मान्छेको भाग्य केवल उज्यालो तारासँग दाँजिन्छ।

मन्दोदरी, जो आफ्नो बालवयदेखि नै साथै रहेका प्रकृतिसँग साउती गर्थिन्। रूखहरू उनीसँग कुरा गर्थे, बतासले पुराना कथाहरू सुनाउँथ्यो। कहिलेकाहीँ त उनी आफ्नै छायालाई आफूभन्दा फरक रूपमा हिँडिरहेको देख्थिन्। एक दिन उनले समुद्रलाई सोधिन्,

“म किन अरू जस्ती छैन?”

समुद्र मुस्कुरायो र भन्यो,

“किनकि तिमी जन्मिएकी होइनौ, तिमीलाई कल्पनाले बनाएको हो।”

“कल्पना पनि जन्मिन्छ?”

“जब सत्य थाक्छ, तब कल्पनाले नयाँ संसार जन्माउँछ।”

त्यो उत्तर उनले जीवनभर बिर्सिनन्।

समय बित्दै गयो। उनी बिस्तारै यौवनमा प्रवेश गरिन्, युवती भइन्। उनको सौन्दर्यको चर्चा पृथ्वीलोकमा मात्र होइन, स्वर्गलोकसम्म पुग्यो। त्यो ससीम सौन्दर्यको झलक केवल अनुहारमा मात्र थिएन; उनी जहाँ-जहाँ हिँड्थिन्, त्यहाँ सुकेका फूलहरू पनि फेरि फुल्थे। गर्मीको प्रसून तापले डढेका घाँस हरिया हुन्थे। सूर्यास्तपछि लोलाएको वायुमण्डलले उज्यालो अनुभूति गर्थ्यो।

त्यसै बेला लङ्काका महापण्डित, महायोद्धा र महाअहङ्कारी राजा रावण उनलाई भेट्न आए। रावणले संसार जितेका थिए, तर आफ्नै मन जित्न सकेका थिएनन्। ती कोमल कली मन्दोदरीलाई देखेपछि उनले पहिलो पटक आफ्नो गर्व र घमण्डभन्दा पनि ठूलो कुनै दिव्य कुरा देखे— त्यो आभामण्डलपूर्ण चन्द्रमाको चहक। मन्दोदरीको आँखामा देखिएको अनमोल सौन्दर्य र शान्तिले रावण केही बेर हतप्रभ देखिए।

“तिमीलाई मेरो स्वर्ण लङ्का दिन्छु,” रावणले भने।

मन्दोदरी मुस्कुराइन्, “मलाई सुन चाहिँदैन।”

“तिम्रो इच्छा के हो?”

“तपाईँको हृदयमा बसेको त्यो अन्धकार एक दिन हराओस्।”

रावण केही क्षण मौन भए। उनले पहिलो पटक आफूलाई कसैले जितेको अनुभव गरे। प्रेमले विगलित बनेका रावणभित्रको अहङ्कार एक क्षण ढल्यो, सुस्तायो, लम्पसार बन्यो अनि आफ्नै छातीको मझधारमा त्यसले आफैँसँग सोध्यो- “के म सौन्दर्यसँग आज हारेकै हुँ? कसैसँग नहार्ने मेरो तेज के आज निस्तेज भएकै हो? के छ त्यो सौन्दर्यमा त्यस्तो जादु, जसले मेरो अहङ्कार ढल्यो? विद्वान्‌मा म सबैभन्दा अगाडि छु, बाहुबलमा म सबैभन्दा तेज छु, राप र तापमा म प्रसून सूर्यजस्तै छु, के म आज चन्द्रमासँग हारूँ, झुकूँ, चुकूँ?”

लङ्केश अधिपतिले आज पहिलो पटक हार्ने विचार गरे र समर्पण गरे आफ्नो अहङ्कारको मुकुटलाई अनि मन्दोदरीको हातमा सुम्पिए।

मन्दोदरीको सौन्दर्य-प्रहारले ढले रावण। लङ्काधिपतिले आफ्नो अहङ्कारको राजमुकुटलाई पहिलो पटक मन्दोदरीको काखमा बिसाए।

त्यसपछि उनीहरूको विवाह भयो।

तर विवाहको पहिलो रात नै एउटा रहस्य भयो। मध्यरातमा महलका सबै दीपहरू आफैँ निभे। चन्द्रमाको किरण मात्र झ्यालबाट भित्र आयो। त्यस उज्यालोमा मन्दोदरीले आफ्नै अर्को रूप देखिन्।

त्यो उनीजस्तै थियो, तर आँखाहरूमा नीलो आगो बलिरहेको थियो।

“तिमी को हौ?” मन्दोदरी डराइन्।

त्यो छाया हास्यो, “म तिम्रो भविष्य हुँ।”

“भविष्य बोल्छ?”

“जब संसार विनाशतिर जान्छ, भविष्य वर्तमानलाई चेतावनी दिन आउँछ।”

“के हुनेवाला छ यो राजभवनमा?”

“लङ्का जल्दैछ।”

“कसले जलाउँछ?”

“अहङ्कारले।”

त्यति भनेर छाया हरायो। भोलिपल्ट उनले यो कुरा रावणलाई सुनाइन्।

रावण हाँसे, “सपनाले राज्य ढाल्दैन।”

मन्दोदरीले शान्त स्वरमा भनिन्, “तर राज्य ढाल्ने सबै कुरा पहिले सपना नै हुन्छ।” रावणले सुनेनन्।

त्यही दिनदेखि महलका ऐनाहरूमा अनौठा दृश्यहरू देखिन थाले। कतै अशोक वाटिकामा सुनौलो चरा रोइरहेको हुन्थ्यो, कतै समुद्र कालो देखिन्थ्यो, कतै आकाशमा सूर्य दुईवटा देखिन्थे।

राजज्योतिषीहरूले त्यसलाई अपशकुन भने। तर मन्दोदरीलाई थाहा थियो-यी भविष्यका संकेत हुन्।

एक साँझ उनी महलको सबैभन्दा अग्लो गजुरनिर उभिएकी थिइन्। अचानक एउटा सेतो हाँस आकाशबाट झर्‍यो। उसको चुच्चोमा एउटा सानो नीलो बीउ थियो। हाँसले त्यो बीउ उनको हातमा राख्यो।

“यसलाई रोप।”

“कहाँ?”

“जहाँ आँसु कहिल्यै सुक्दैन।”

“त्यस्तो ठाउँ कहाँ छ?”

हाँसले उत्तर दिएन, ऊ उडेर चन्द्रमाभित्र हरायो। मन्दोदरीले त्यो बीउ आफ्नो हृदयनजिक राखिन्।

त्यस रात उनले फेरि सपना देखिन्। यस पटक समुद्र सुकेको थियो, चन्द्रमा फुटेको थियो, आकाशबाट खरानी झरिरहेको थियो। अनि त्यस खरानीको बिचमा एउटी वृद्धा उभिएकी थिइन्।

“म को हुँ, चिन्यौ?” वृद्धाले सोधिन्।

“हजुरलाई कहिल्यै देखेकी छैन।”

“तिमीले देखेकी छौ।”

“कहिले?”

“जब तिमी जन्मिएकी थियौ।”

मन्दोदरी अचम्ममा परिन्। वृद्धाले आफ्नो निधार छोइन्। अचानक उनको रूप फेरियो। उनी त्यही समुद्र थिइन्, जसले मन्दोदरीलाई जन्माएको थियो।

“छोरी,” समुद्रले भन्यो, “अब समय नजिकिँदै छ।”

“कुन समय?”

“जब तिमीले एउटा निर्णय गर्नुपर्नेछ- प्रेम बचाउने कि संसार।”

“दुवै बचाउन सकिँदैन?”

समुद्र मौन रह्यो।

त्यो मौन नै उत्तर थियो।

मन्दोदरी झसङ्ग ब्युँझिइन्।

झ्यालबाहिर बिहान भइसकेको थियो। तर आज सूर्य रातो थिएन, पूरै नीलो थियो….. र नीलो सूर्यसँगै एउटा यस्तो युग सुरु भएको थियो, जहाँ इतिहासले होइन, कल्पनाले सत्य लेख्न थालेको थियो।

(क्रमशः…)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *