मानव मनको द्वन्द्व

 योगी नारायण नाथ
१० असोज २०८३ ७:४१

(स्थान: एउटा सुनसान घाटको डिल। रातिको समय। सिद्धार्थ टोलाएर नदीतिर हेरिरहेको छ। अचानक पछाडिबाट एउटा विरक्त लाग्दो हाँसो गुन्जिन्छ। अघोर बाबा वा एक उन्मत्त दार्शनिक पात्र- ‘अनन्त’ देखा पर्छ।)

सिद्धार्थ: (आफूसँगै बर्बराउँदै) यो निरन्तरको पीडाभन्दा त मर्नु नै बेस होला। कि त यो दिमाग नै खुस्किइदिए हुन्थ्यो!

अनन्त: (नजिकै छाता घुमाउँदै हाँस्छ) मृत्यु कि बहुलापन? वाह! चुनाव त बडो गहिरो छ, कान्छा!

सिद्धार्थ: (झस्किएर) तपाईं को हो? अनि यसमा हाँस्नुपर्ने के छ? जीवन सिद्धिन लागिसक्यो।

अनन्त: जीवन त सिद्धिएको छैन, केवल तिम्रा तर्कहरू सिद्धिएका हुन्। भन त, यी दुईमा तिमीलाई कुन राम्रो लाग्यो?

सिद्धार्थ: (हताश हुँदै) मर्नु नै राम्रो होला। कम्तीमा यो चेतना, यो पीडा, यो अपमान… सबैको सधैँका लागि अन्त्य त हुन्छ।

अनन्त: मृत्यु? मृत्यु त पूर्णविराम हो, कान्छा। त्यहाँ न त पीडा छ, न त पीडा सकिएको अनुभूति नै! त्यो त शून्यता हो। सम्भावनाका सबै ढोका बन्द!

सिद्धार्थ: अनि बहुलाउनु नि? बहुलाएर मान्छे हास्यपात्र बन्छ, सडकमा नाङ्गै हिँड्छ। त्योभन्दा त मर्नु नै निको होइन र?

अनन्त: (गम्भीर हुँदै) होइन। समाजले बनाएको नक्कली नियम, अपेक्षा र मर्यादाको साङ्लोलाई भत्काउनु नै ‘बहुलाउनु’ हो। बहुलाउनु चेतनाको मृत्यु होइन, चेतनाको परम स्वतन्त्रता हो।

सिद्धार्थ: (आश्चर्यचकित हुँदै) स्वतन्त्रता? कसरी?

अनन्त: जब तिमी बहुलाउँछौ, तिमीलाई भोलिको चिन्ता रहँदैन, हिजोको पश्चाताप हुँदैन। कसैले के भन्ला भन्ने डर हराउँछ। मृत्युले तिमीलाई सिध्याउँछ, तर उन्मादले तिमीलाई यो क्रूर संसारबाट जोगाएर तिम्रै आन्तरिक सत्यमा बाँच्न दिन्छ।

सिद्धार्थ: (नदीको पानीतिर हेर्दै) भनेपछि… मृत्यु पलायन हो, र बहुलाउनु विद्रोह?

अनन्त: एकदम! मृत्यु निरपेक्ष शून्यता हो, तर बहुलाउनु भनेको संसारको बनावटीपनमाथि गरिएको ठूलो व्यङ्ग्य हो।

सिद्धार्थ: (लामो सास फेर्छ, उसको अनुहारको तनाव हट्छ। उ बिस्तारै हाँस्न थाल्छ।)

अनन्त: (मुस्कुराउँदै) के भयो? किन हाँसेको?

सिद्धार्थ: (आकाशतिर हात फैलाउँदै) बधाई छ अनन्तजी, आजदेखि म पनि यो ज्ञानी संसारको नजरमा ‘बहुला’ भएँ!

(सिद्धार्थ नदीको किनारै-किनार जोडले हाँस्दै, हावासँग नाच्दै अघि बढ्छ। अनन्त उसलाई हेरेर मुस्कुराइरहन्छ।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *