कविता : अनौठो प्रेम
जीवन सपना टुटी गयो, जानेहरू सब गइसके
प्रेमको सफर कठिन छ, कसैले साथ दिन छोडिसके।
दिल पनि आज अगाडि आई आँसु भई झर्दछन्
बुँद बुँद गरी सबै महासागरमा मिल्दछन्।
याद राख हे सूर्य चन्द्रमा यो खुल्ला आकाशमा
हामी दुई बीचको गोप्य कुरा राख सधैँ मनमनमा।
आयो मेरो बगैँचामा मौसमको यो अनौठो बहार
झुमेर बज्न थालेको छ मेरो मनको बाँसुरी सितार।
यो खुसी म कहाँ गई सुनाऊँ, हृदय कसरी देखाऊँ
पवित्र प्रेमको कपाल सिउँदोमा सिन्दूर कसरी लगाऊँ ?
टिप्दा फूलको थुँगा काँडा कसरी हटाऊँ
म तिम्रो प्रेमलाई उपहार यही चढाऊँ।
बिर्सिन्न यो जीवनमा यो अनौठो माया
कल्पी कल्पी बस्नेछु यो जीवनभरिमा ।
गीत मेरो प्रेमको म कहाँ गई टिपाऊँ
पछिल्ला पुस्ताका युवालाई कसरी बुझाऊँ ?
अनुत्तरित प्रश्न
कसैले भन्न सक्तैनन् जन्म कहिले हुन्छ यहाँ
न कसैले भन्न सक्छन् मृत्यु कहिले हुन्छ कहाँ।/
हिजो के भयो कुन्नि कहाँ के के कति भयो
गरेका सबै कुरा कुन्नि कुन ठाउँमा विलीन गयो?
आज के हुन्छ कहाँ त्यो कसैले भन्न सक्तैन
भोलिको के कुरा हेर भविष्य अन्धकार छ यहाँ।
खगोल विद्याले शास्त्र अनुसार अलि मिलाउँछ
तिनले बोलेका कुराले पनि कहिलेकाहीँ गिज्याउँछ।
सत्य कुरा कहाँ के छ त्यो सधैँ सधैँ अदृश्य छ
सोचे बुझेका सबैजसो कुरा यहाँ भ्रमपूर्ण छ।
ब्रह्माण्ड कत्रो छ पाताल कत्रो छ छैन नाप्ने यहाँ
यो बारे जान्न बुझ्न खोज्दा हराइन्छ कहाँ कहाँ।
प्रश्न करोडौँ उठ्छन् यहाँ उत्तर दिने खोइ ज्ञानी ?
हरेक प्रश्नको उत्तर दिने गर्छन् अलि जानी नजानी।
बोलेका सबै कुरा यहाँ कहाँ सत्य साबित हुन्छ र ?
लेखेका कुरा पनि सबै कहाँ साँचो साबित बन्छ र?
प्रश्न गर्ने यहाँ धेरै छन्, उत्तर छन् सबै अनुत्तरित
अर्जुन प्रश्नकर्ता, उत्तर कृष्णको जस्तो कहाँ छ ?
सबैको उत्तर कहाँ मिल्छ, प्रश्नकर्ता पनि कति
क्षणिक प्रश्न क्षणिक उत्तर दिने गर्ने छन् जति।
कसले यो सब सृष्टि गर्यो, देखिँदैन जहीँतहीँ
कहाँ कसरी बसेका छन्, उत्तर छैन कहीँ पनि।
बनाए मानिसहरूले कति कति संरचनाहरू यहाँ
कति भत्के र भूकम्पले ढले, उत्तर छैन यहाँ।
भूकम्प कहिले आउँछ यो, उत्तर छ अनुत्तरित
यो कहिले जानेछ, यो पनि छ सदा अनुत्तरित।
एउटाले एउटा भन्छन्, अर्काले भन्छन् अर्कैथरी
छैन कसैको सत्य उत्तर, टालटुले छन् सबैथरी।
को ज्ञानी पण्डित जसले देखेको छ सत्यता ?
मानिस अपूर्ण छ भने सबै छन् यहाँ अपूर्णता।
अनिद्राको तन्द्रा
न म सुतेको छु, न उनी सुतेकी छन्
मौन चन्द्रमा बिस्तारै ढल्किरहेछ।
भोलिपल्ट पूर्वमा जुन सूर्य देखियो
हामी दुईको माथि त्यो सूर्य उदायो।
क्षितिज सूर्यको पश्चिममा अस्ताउने
थाहा छैन हाम्रो माया कहाँ गई उदाउने।
तिमी उता, म यता बिचमा समाज छ
यसैले हामी दुईको बिचमा ठुलो दूरी छ।
घुमेँ सबै, डुलेँ पहाड, जङ्गल र मैदान
हराएँ म कता कता, छैन केही ठेगान।
आँखाको बाटो कसले रोक्न सक्तछ?
उनलाई भेट्छु भन्दा रात गइसकेछ।
ध्वनि कण्ठमा राग स्वर नौलो भएछ
नयाँ नयाँ प्रेमको बाटो कसैले रोकेछ।
ठुलो बत्ती कैले निभ्यो कुन्नि नभमा
जुनहरू निभेछन् सबै, तारा आकाशमा।
निभ्यो सारा बत्ती, शून्य भयो जगत
हामी दुई बिचको माया भो गजब।
न सुत्नु छ, न खानु छ, निद्रा छैन हामीमा
हामी दुईको भेट भएको थियो पहिल्यै सानोमा।
जलन मृत्यु
म को हुँ, कहाँ छु, मेरो के छ हाल ?
कता जान्छु, के गर्छु, सब छ बेहाल।
आशा उमङ्ग टुटेका छन्, चिन्ता छ अपार
सागरमा पौडी खेलेझैँ यो संसार असार।
रहेँ जिउँदै जीवनमा कसरी यो चलिरहेछ?
आगो दनदन उठेर यो मन जलिरहेछ।
छैन कोही सहारा यो मन बुझाउने
कोही जे छ ममाथि उही लिन्छु यो छातीभरि।
जीवन छ लासजस्तो, बेहोस भई ढल्दछु
कोही छैनन् अगाडि, म भुइँमा गई गिर्दछु।
तमासा हेर्ने सबै छन्, सहयोग छैन कसैको
मरेको लासजस्तै सुती म आगोमा जलेको।
सारा इच्छा मनैमा राखी यसैगरी जली जाऊँ
जली जली म मलाई बिर्सी जाऊँ बरु नसम्झूँ।
जलेर शरीर सारा खरानी भई उड्दछ नभमा
अनि थाहा हुन्छ सबैलाई के छ यो संसारमा।।
No ads found for this position




Facebook Comment