लघुकथा : समर्पण

प्रकाशचन्द्र खतिवडा
१० असोज २०८३ ७:५२

‘‘निस्तेजजी, भूमिगत हुने निर्णयप्रति प्रतिबद्ध हुनुहोस् है। सुरक्षाका दृष्टिकोणले तपाईँ असुरक्षित हुनुहुन्छ नि!” आग्रहले निस्तेजलाई सचेत गरायो।

‘‘आग्रहजी, सुरक्षा चुनौती मैले पनि महसुस गरिरहेको छु। भूमिगत हुनु नै समस्या समाधानको उपाय हुन सक्छ। उचित सेल्टरको व्यवस्थापनपश्चात् भूमिगत हुने नै छु,” निस्तेजले आग्रहलाई आश्वस्त पार्यो।

निस्तेज र आग्रहको भेट खोकु छिन्ताङको सांस्कृतिक कार्यक्रममा भएको थियो। पञ्चायतविरुद्धको आन्दोलनमा दर्जनौँ किसानले शहादत प्राप्त गरेको पवित्र र बलिदानी स्थल हो- खोकु छिन्ताङ। खोकु छिन्ताङ ‘सहिद भूमि’का नामले चर्चित छ।

निस्तेज र आग्रह जनसांस्कृतिक फाटका पूर्णकालीन कार्यकर्ता हुन्। सांस्कृतिक क्रान्तिलाई जनस्तरसम्म पुर्‍याएर जनतामा सांस्कृतिक विद्रोह गराउनु उनीहरूको प्रमुख ध्येय हो। सांस्कृतिक विद्रोह वर्गसङ्घर्षको एउटा कडी पनि हो। सांस्कृतिक क्रान्तिको उचाइ नै सत्ता परिवर्तनको प्रमुख आधार हो।

निस्तेज र आग्रह प्रतिक्रियावादी सत्ताको ‘मोस्ट वान्टेड’ सूचीमा सूचीकृत भएका नाम हुन्। उनीहरूमाथि राज्यविप्लवको अभियोग लागेको छ। सेना र प्रहरीले जहाँ भेट्यो त्यहीँ ‘सुट’ गर्ने आदेश पाएका छन्।

निस्तेज र आग्रहको जीवनरक्षा पार्टीका लागिसमेत चुनौती बनेको छ। निस्तेज र आग्रहको हत्या भए सांस्कृतिक क्रान्तिमा ठूलो धक्का लाग्नेछ। उनीहरूको जीवनरक्षाका लागि पार्टीले उनीहरूलाई भूमिगत शैलीमा मात्र प्रस्तुत हुन सुझाएको छ।

निस्तेज र आग्रह छद्मभेषमा हिँड्न थालेका छन्। सेना-प्रहरीसँग जम्काभेट हुँदासमेत छक्याउन सजिलो उपाय हो छद्मभेष। जनताको मुक्तिका लागि क्रान्तिमा होमिएका निस्तेज र आग्रह कुशल योद्धा हुन्। उनीहरू ज्यानको बाजी थापिरहेका छन्।

निस्तेज र आग्रह प्रतिक्रियावादी राज्यसत्ताका लागि टाउको दुखाइको विषय बनिरहेका त छैनन्?

सुन्दरहरैंचा-६, दुलारी, मोरङ

इमेल: [email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *