चीनमा पुटिन र सीसँग भेटवार्ता गर्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफल हुने सङ्केत
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका छन्। सम्भावित बैठकमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने उनले सङ्केत गरेका छन्।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अन्य व्यक्तिले वार्ता गर्ने समय आएको टिप्पणी गरेका छन्। उनको यस भनाइले अमेरिका र युक्रेनबीच देखिँदै आएको मतभेद थप स्पष्ट पारेको छ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन देशका नेताबीच त्रिपक्षीय बैठक हुन सक्ने विषयमा चर्चा भए पनि हालसम्म कुनै ठोस सहमति नभएको बताएका छन्। नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने सम्मेलनमा अमेरिका, रुस र चीनका प्रतिनिधिहरू सहभागी हुँदैछन्। यद्यपि, चिनियाँ विदेश मन्त्रालयले सम्भावित त्रिपक्षीय भेटवार्ताबारे आफूलाई जानकारी नभएको जनाएको छ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले युक्रेनको सहभागिताबिना हुने कुनै पनि बैठकले रुसी राष्ट्रपति पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्न सक्ने चेतावनी दिएका छन्। क्रेमलिनका प्रवक्ता पेस्कोभले पनि युक्रेनमा स्थायी शान्ति कायम गर्न अन्तिम शान्ति सम्झौतामा युक्रेनी प्रतिनिधिहरूको सहभागिता आवश्यक रहेको बताएका छन्।
यसैबीच, रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन आक्रमण हुँदा बालबालिकासहित छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनले अमेरिकाले आवश्यक महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ। (रासस/एएफपी)
No ads found for this position



डिसी नेपाल
Facebook Comment