राष्ट्रिय एकता, स्वाभिमान र समृद्धिका लागि एकजुट हुन विराज भट्टको आह्वान
गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति विराज भट्टले विजयादशमी २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीको शुभकामना सन्देश जारी गर्दै उपसभापति भट्टले दसैँ केवल पर्व मात्र नभई नेपालीहरूको आस्था, मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानसँग गाँसिएको गौरवपूर्ण चाड भएको उल्लेख गरेका छन्। यस पर्वले सत्यको विजय, अन्यायमाथि न्यायको स्थापनाका साथै आपसी भ्रातृत्व, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उनले बताएका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यस विविधतालाई राष्ट्रिय शक्तिका रूपमा आत्मसात् गर्नुपर्नेमा उनले जोड दिएका छन्। राष्ट्रिय एकता नै नेपालको मूल पहिचान भएको औँल्याउँदै भट्टले देशप्रतिको अगाध प्रेम, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई सबैले साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने स्पष्ट पारे।
“राजनीतिक विचार र आस्थामा भिन्नता हुन सक्छ, तर राष्ट्रप्रतिको प्रेम र मुलुकको समृद्धिको लक्ष्य एउटै हुनुपर्छ,” उनले भने। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ बनाउँदै विभाजनको सट्टा एकता, निराशाको सट्टा आशा र विवादको सट्टा सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
व्यक्तिगत तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई सर्वोपरि राख्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै भट्टले देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि एकजुट हुन आह्वान गरे। सुशासन, रोजगारी सिर्जना, विकास र समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै पक्षबीच हातेमालो हुनुपर्नेमा उनले जोड दिएका छन्।
गोरखा जिल्ला, प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेश सभा ‘ख’ का नेता समेत रहेका उपसभापति भट्टले समुन्नत, स्वाभिमानी र समृद्ध नेपाल निर्माणका लागि सबै नेपालीलाई आ-आफ्नो ठाउँबाट सकारात्मक योगदान पुर्याउन अनुरोध गरे। विजयादशमीले हरेक घरपरिवारमा सुख-शान्ति ल्याओस् र राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाउँदै मुलुकलाई प्रगतिको नयाँ उचाइमा पुर्याउन प्रेरणा मिलोस् भन्ने कामना समेत उनले गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment