जुवाको खालबाट पक्राउ परेका व्यापारीलाई जनही ३० हजार धरौटीमा छोडियो
फाइल फाेटाे
काठमाडौं । कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारीलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई शुक्रबार जनही ३० हजार धरौटी माग गरेपछि धरौटी बुझाएर रिहा भएका हुन् ।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गले सोमबार राती पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौबाट ५ दिनको समय लिएर अनुसन्धान गरेको थियो । प्रहरीले उनीहरुको मुद्धा विहिबार नै सरकारी वकिलको कार्यालयमा पठाएको भएपनि शुक्रबार मात्रै उनीहरुलाई धरौटीमा रिहा गर्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश गरेका थिए ।
प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये जोगाइ होटलका सञ्चालक हुन् । पक्राउ परेका मध्ये एक जना अशोक अग्रवाल भने गिनीको अवैतनिक दूत भएकाले थप १० हजार रुपैयाँ धरौटी मागिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो ।







डिसी नेपाल








Facebook Comment