गुल्मीमा पिसिआर प्रयोगशाला स्थापना हुने
सांकेतिक तस्वीर
तम्घास । गुल्मीमा कोरोना परीक्षण गर्न पिसिआर ल्याब स्थापना गरिने भएको छ । जिल्लाबाट स्वाब सङ्कलन गरी पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामा सो प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको जनाइएको छ ।
यसैगरी सङ्क्रमितलाई उपचार गर्न ५० श्ययाको आइसोलेशन हाउस पनि स्थापना गरिने भएको छ । शनिबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले प्रयोगशाला र आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रयोगशाला तथा आइसोलेशन सञ्चालनका लागि गत हप्ता गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो । सो कार्यदलले यही जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रस्तावअनुसार नै महिला विकास कार्यालयमा प्रयोगशाला सञ्चालन गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन गुल्मी अस्पतालले गर्ने निर्णय भएको संयोजक श्रीपालीले जानकारी दिए । प्रयोगशाला सञ्चालनका लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधि निर्माण गर्ने र सबैसँग सहयोगका लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको उनले जानकारी दिए।
रेसुङ्गा नगरपालिकाले व्यवस्थापन गर्ने गरेर आइसोलेशन हाउस बनाउने निर्णय गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष तथा समिति सदस्य भूपाल पोख्रेलले बताए।
यसका लागि महेन्द्र मावि, रेसुङ्गा बहुमुखी क्याम्पस र शिक्षा कार्यालयको नाम प्रस्ताव गरिएको छ । दुई निर्वाचन क्षेत्रमा दुई शववहान खरिद गर्ने निर्णय भएको छ भने शव व्यवस्थापनस्थल सम्बन्धित स्थानीय तहले चाहेको स्थानमा बनाउने निर्णय भएको उनले जानकारी दिए। प्रजिअ शर्माले कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामसँगै बर्खा शुरु भएकाले मनसुन प्रतिकार योजना निर्माण र तयारी तत्काल गर्न स्थानीय तहलाई अनुरोध गरे ।
जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले ल्याब खरिद र आइसोलेशन सञ्चालन अहिलेको अपरिहार्यता भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुङ्गा नगरपालिकालाई सबै परिस्थितिको व्यवस्थापनमात्रै नभएर आर्थिकरुपमा सहयोग गर्ने जानकारी दिए ।
गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले ल्याब सञ्चालन र आइसोलेशनको विषय निकै चुनौतीपूर्ण भएको बताए। भैरहवाबाट परीक्षण रिपोर्ट आउन करिब दुई हप्ता लाग्ने र चौतर्फी पिसिआर परीक्षणको आवाज आउन थालेपछि स्थानीय तहले ल्याब सञ्चालनमा जोड दिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए







डिसी नेपाल








Facebook Comment