नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

डिसी नेपाल
६ असार २०७७ १२:०३

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विहे गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने निर्णय गरेको छ। शनिबार बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विहे गरेको सात वर्षपछि अंगीकृत नागरिकता दिने र त्यसअघि सम्म स्थायी आवाशीय प्रमाणपत्र दिने नेकपाले निर्णय गरेको छ।

‘आजको बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रावधानहरूको बारेमा छलफल भयो,’ श्रेष्ठले भने, ‘जसअनुसार नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो। नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता पाउनु उपर्युक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार साँझ प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा पार्टीका तर्पबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गरेका थिए। उक्त बैठकमा सांसदहरूले आफ्ना धारणा राख्नुका साथै समितिमा प्रस्तावित व्यवस्थाबारे जानकारी गराएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.