ओलीको दाबी सरकारले गति लियो, प्रचण्ड भन्छन्–पार्टी चलेन

डिसी नेपाल
११ असार २०७७ ८:२७

काठमाडौं। विधान अनुसार तीन तीन महिनामा बस्नु पर्ने नेकपा स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बस्यो। पहिलो दिन भएका कारण बैठकमा दुवै अध्यक्षले बैठकलाई सम्वोधन गरे। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अन्य राजनीतिक र पार्टीगत भन्दा पनि धेरै सरकारको कामको फेहरिस्त नै लगाए। प्रधानमन्त्रीले सरकारले गरेका कामको फेहरिस्त लगाउँदा अर्का अध्यक्ष प्रचण्डको हाउभाउ भने सकस पूर्ण रहेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए।

बैठक सुरु हुनु अगाडिसम्म कुनै एजेण्डा तय भएको थिएन। बैठक सुरु भएपनि अध्यक्षद्वयकातर्फबाटल भन्दै महासचिव विष्णु पौडेलले कार्यसूची पढेर सुनाए। कार्यसूचीको पहिलो नम्बरमा अध्यक्षद्वयले सम्वोधन गर्ने उल्लेख थियो। सोही अनुसार प्रधानमन्त्री ओलीले सुरुमा सम्वोधन गरेका थिए।

प्रधानमन्त्री ओलीले सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको, पार्टीभित्रैबाट पनि सहयोग नभएको भन्दै त्यसका बावजूद पनि सरकारको कामले गति लिएको दाबी गरे। प्रधानमन्त्री ओलीले सरकारको कामको फेहरिस्त लगाउँदा नजिकै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘बडील्याङ्ग्वेज’ भने हेर्न लायकको थियो।

प्रधानमन्त्री ओलीले सकड, पुल पुलेसोदेखि कोरोना नियन्त्रणका लागि गरिएका प्रयासलाई सरकारले गरेको कामको सूचिमा समावेश गरेका थिए। प्रधानमन्त्री ओलीले सरकार राम्रोसँग चलिरहेको बताउँदा अर्का अध्यक्ष प्रचण्डले भने पार्टी राम्रोसँग संचालन हुन नसकेको भन्दै निराशा व्यक्त गरेका थिए। उनले कुनै बेला आफूलाई पार्टी एकता गरिएर गल्ती गरिएछ कि भन्ने लाग्न थालेकोसमेत बताएका थिए।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले डिसी नेपाललाई दिएको जानकारी अनुसार प्रचण्डले लामो भूमिका बाँधेर र घुमाएर पार्टी संचालनमा अहिलेको जस्तो अवस्था आउँछ भनेर नसोचेको बताएका थिए। प्रचण्डले ओलीलाई पाँच वर्ष सरकार संचालन गर्न दिने र आफूले पार्टी चलाउने सहमति गरेर कतै गल्ती त गरिएन भन्ने प्रश्न समेत गरेका थिए।

तर कार्यकारी अध्यक्ष हुँदासमेत पार्टी संचालन गर्न किन सकिएन भन्ने विषयमा प्रचण्डले केही खुलाएनन्। ‘बैठकमा दुई अध्यक्षबीचको मन्तव्यलाई हेर्दा उहाँहरुबीच राम्रो सम्बन्ध नरहेको अनुमान लगाउन सकिन्थ्यो,’ एक सदस्यले भने, ‘स्थायी कमिटी बैठक पनि उहाँहरुले निकै ठूलो करकापले बोलाएको अनुमान लगाउन गाह्रो थिएन।’

स्रोतका अनुसार प्रचण्डले अब सरकारको कामलाई पार्टीको नियन्त्रणमा ल्यायने गरी आफू निकटका नेताहरुसँग छलफल गरेका छन्। भैंसोपाटी गठबन्धनलाई बलियो बनाएर सरकारको कामलाई पार्टीको नियन्त्रणमा ल्याउने गरी यही स्थायी कमिटी बैठकबाट निर्णय गराउने प्रचण्ड पक्षधरको निष्कर्ष रहेको उनी निकट एक स्थायी कमिटी सदस्यले डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.