तेस्रो पटक पनि अधुरै रह्यो प्रधानमन्त्रीको बेहुली बन्ने सपना, बैठकले बिहे रोकिदियो
कोपनहेगन। कोभिड–१९ का विषयमा हुन लागेको एक महत्वपूर्ण बैठकमा भाग लिनको लागि डेनमार्ककी प्रधानमन्त्री म्याट फ्रेडरिक्सनले आफ्नो बिहे स्थगित गरेकी छिन् । फ्रेडरिक्सनको बिहे स्थगित भएको यो तेस्रो पटक हो । यसअघि २ पटक उनको बिहे स्थगित भइसकेको छ यद्यपि स्थगित गर्नुपर्ने कारण भने फरक फरक थिए ।
म्याट र उनको फियोन्से बो टेनबर्गले जलाइ १८ मा बिहे गर्ने तय थियो । तर, यही दिन युरोपेली संघका राष्ट्रहरुका सरकार प्रमुखहरुको महत्वपूर्ण बैठक परेकोले फ्रेडरिक्सनले बिहे स्थगित गर्ने निर्णय गरेकी हुन् । कोभिड १९ महामारी सुरु भएपछि युरोपेली संघका सरकार प्रमुखहरु प्रत्यक्ष भेटेका छैनन् । १७ र १८ जुलाइमा पहिलो पटक उनीहरु प्रत्यक्ष भेट्दैछन् ।
यो बैठकमा महामारीबाट भएको आर्थिक क्षति र यससँग जुध्ने उपायबारे चर्चा हुनेछ । युरोपेली संघले ८४६ अर्ब डलरको प्रस्तावबारे विचार गर्दैछ । डेनमार्क, स्वेडेन, अष्ट्रिया र नेदरल्याण्डले यसको विरोध गरिरहेका छन् । उनीहरुले आथिृक सहयोग दिनुभन्दा पहिले त्यो देशले यो रकम फिर्ता दिनेछ भन्ने सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । यही कारण प्रधानमन्त्री फ्रेडरिक्सनका लागि यो बैठक निकै महत्वपूर्ण छ ।
आफ्नो बिहे स्थगित गरेको बारे फेसबुक पोस्टमार्फत जानकारी दिँदै प्रधानमन्त्री फ्रेडरिक्सनले लेखेकी छिन् ‘मेरो लागि डेनमार्कको हितको रक्षा धेरै महत्वपूर्ण छ । म स्वयं यी शानदार व्यक्तिसँग बिहे गर्न चाहन्छु । तर, अहिले यो सजिलो देखिँदैन । ब्रसेल्समा बैठक छ । तर, हामी छिटै बिहे गर्नेछौं । मेरो पार्टनर संयम राख्ने व्यक्ति हुन् ।’ म्याट २०१९ मा ४१ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् ।







डिसी नेपाल








Facebook Comment