इटलीमा एक अर्ब डलरको लागुऔषध बरामद, इस्लामिक स्टेट सम्बद्ध भएको आशङ्का

डिसी नेपाल
१८ असार २०७७ १७:२४

बीबीसी । इटलीमा १४ टन एम्फटमीन वर्गको कृत्रिम लागुऔषध बरामद भएको छ। त्यो परिमाणको लागुपदार्थ विश्वमै पहिलो पटक एकैचोटि फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सिरियामा भएका जिहादी समूह इस्लामिक स्टेटलाई पैसा उपलब्ध गराउन उक्त लागुपदार्थ उत्पादन र तस्करी भएको हुनसक्छ। सालेर्नो बन्दरगाहमा ‘क्याप्टगन’ का आठ करोड ४० लाखवटा नक्कली चक्की फेला पारिएको थियो।

लागुपदार्थको बजारमा तिनको मूल्य १.१ खर्ब अमेरिकी डर पर्छ। ती चक्कीहरू कागजका ठूला ड्रम र गीयर व्हीलमा लुकाएर कन्टेनरहरूमा राखिएको थियो। अधिकारीहरूले स्थानीय आपराधिक समूहहरूको संलग्नताबारे अनुसन्धान गरिरहेका छन्। क्याप्टगन फेन्टाइलिन नामक कृत्रिम उत्तेजक औषधिको एउटा ब्रान्ड हो।

तर लत लाग्ने भएकाले औषधोपचारमा सन् १९८० को दशकदेखि धेरै देशमा यसको प्रयोगमा प्रतिबन्ध लगाइयो। अहिले मध्यपूर्व र खाडी देशका सम्पन्न युवामा नक्कली क्याप्टगन लागुपदार्थका रूपमा निकै लोकप्रिय भएको बताइन्छ।

सिरियाको गृहयुद्धमा सहभागी योद्धा र इस्लामिक स्टेटका लडाकुहरूले पनि डर र थकाइ भगाउन यो लागुपदार्थ प्रयोग गर्ने गरेका छन्। सिरियामा अन्यत्रभन्दा ठूलो मात्रामा उक्त लागुपदार्थ उत्पादन हुने तथा निर्यात हुने बताइन्छ।

नेपल्स प्रहरीले निकालेको एउटा विज्ञप्तिमा इस्लामिक स्टेटले चाँडै पैसाको जोहो गर्न आफ्नो प्रभाव भएको क्षेत्रमा ठूलो परिमाणमा उक्त लागुपदार्थ बनाएको आशङ्का गरिएको उल्लेख छ।

सालेर्नोमा बरामद गरिएको लागुपदार्थ पूरै युरोपको माग आपूर्ति गर्न पर्याप्त थियो। आपराधिक समूहहरूको सङ्गठन त्यसको वितरणमा संलग्न भएको आशङ्का गरिएको छ। प्रहरीले लकडाउनका बेला युरोपमा कृत्रिम लागुऔषधको उत्पादन र वितरण रोकिएको विश्वास गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *