जापानमा व्यापक बर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता

डिसी नेपाल
२० असार २०७७ १२:४८

जापान । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन्।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन्। कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन्।

रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन्। डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।

माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए। स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण एकिन गर्न नसकिएको बताएका छन्।

प्रधानमन्त्री सिन्जे आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *