टिकटकमाथि कोरियाले लगायो करिब २ करोड जरिवाना, बालबालिकाको डाटा गलत प्रयोग गरेकाे आरोप

डिसी नेपाल
१ साउन २०७७ १९:११

काठमाडौं । भिडियो शेयरिङ एप टिकटकमाथि दक्षिण कोरियाले जरिवाना लगाएको छ। बालबालिकाको डाटा गलत रुपमा प्रयोग गरेको भन्दै कोरियाले १८ करोड ६० लाख वन अर्थात १ करोड ८५ लाख भन्दा बढी रकम जरिवाना लगाएको हो।

प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले टिकटकमाथि उक्त रकम जरिवाना गरेको हो। दक्षिण कोरियाले गरेको उक्त जरिवाना टिकटकले कोरियामा गर्ने वार्षिक आयको ३ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।

गत वर्ष सुरु भएको अनुसन्धानका क्रममा नियामकहरुले टिकटक प्रयोगकर्ताका डाटाहरु अनाधिकृत ढंगले प्रयोग गरिएको र त्यसरी डाटा दुरुपयोगबाट पीडित हुनेमा बालबालिकाहरु समेत रहेको पत्ता लगाएका थिए । टिकटकको त्यस्तो गतिविधिले स्थानीय गोपनियता कानूनको उल्लंघन गरेको र प्रयोगकर्तालाई उनीहरुका व्यक्तिगत डाटाहरु अन्य देशमा समेत पठाइन्छ भन्ने कुरा टिकटकले जानकारी नगराएको अनुसन्धानले खुलासा गरेको छ ।

टिकटकले भने कानून मुताविकका दायित्वहरु पालना गर्न आफु गहन रुपमा प्रतिबद्ध रहेको जनाएको छ । टिकटक प्रवक्ताले भनेका छन्, ‘हामीहरुले डाटा प्राइभेसीको मामिलामा निकै उच्चकोटीको मापदण्डमा पालना गरिरहेका छौँ र हाम्रो मापदण्डलाई अझै ससक्त बनाउनका लागि निरन्तर सुधारको कार्य गर्दछौँ ।’

भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको छ भने अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ। यसैबीच दक्षिण कोरियाले जरिवाना गरेपछि टिकटकमाथि विश्वसनीयताको संकट उत्पन्न भएको छ । यस्तै अन्य देशहरुमा पनि टिकटकमाथि प्रतिबन्ध लगाउन माग उठिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *