चीनमाथि इतिहासकै सबैभन्दा ठूलो कारवाही गर्ने अमेरिकाको तयारी
काठमाडौं। अमेरिकाले चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका सबै सदस्यहरुमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । दुवै देशबीच बिग्रिँदै गएको सम्बन्धमा बीच यदि अमेरिकाले यात्रा प्रतिबन्ध लगाएमा सम्बन्ध झने बिग्रिने निश्चित छ । एक सूत्रले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार अमेरिकाका शीर्ष अधिकारीहरु राष्ट्रपतिको सम्भावित आदेशको लागि यसको ड्राफ्ट तयार गर्न जुटेका छन् । यद्यपि यो अहिले सुरुवाती दौरमै छ र यसलाई राष्ट्रपति ट्रम्पसमक्ष पेश गरिएको छैन ।
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यको संख्या करिब ९ करोड छ । यदि यी सबै सदस्यहरुमाथि यात्रा प्रतिबन्ध लगाइयो भने यो अमेरिकाको चीनविरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हुनेछ । यस्तो स्थितिमा चीन प्रतिवाद गर्न बाध्य हुनेछ । बदलामा चीनले पनि अमेरिकी नागरिक खासगरी कूटनीतिज्ञ र व्यापारीहरुलाई चीन यात्रामा प्रतिबन्ध लगाउने सम्भावना उच्च हुनेछ । यसले चीन–अमेरिका दुवै देशको हितलाई चोट पुग्न सक्छ ।
अहिले स्थिति यस्तो छ कि अमेरिकी एजेन्सीका अधिकारीहरु अमेरिकाका विश्वविद्यालयहरुमा चीनको कम्युनिस्ट पार्टीका सदस्यका छोराछोरीलाई प्रतिबन्ध लगाउने विषयमा पनि विचार गरिरहेका छन् । राष्ट्रपति निर्वाचन अभियानका क्रममा चीनप्रति कठोर नीति प्रदर्शन गर्नको लागि ट्रम्पका सहयोगीहरु यस्ता सम्भावनामा विचार गरिरहेका छन् । चीनविरोधी एजेण्डा उठाउँदा राष्ट्रपति ट्रम्पले अर्को कार्यकालको लागि निर्वाचन जित्न सक्ने उनका सहयोगीको बुझाइ छ ।
कोरोनाभाइरसका कारण विश्वका दुई ठूला अर्थव्यवस्थाबीच टकरावको स्थिति छ । यही बीचमा अमेरिकाले प्रतिबन्धको तयारी गरेपछि चीनले तत्कालै यस विषयमा प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भनेका छन् कि कम्युनिस्ट पार्टीका सबै सदस्यहरुमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय आधारहीन हुनेछ । यसको अर्थ अमेरिका चीनको पूरै जनसंख्याविरुद्ध उभिएको बुझिने बताउँदै उनले कुनै पनि देश वा व्यक्तिले चीनलाई आफ्नो बाटोबाट रोक्न नसक्ने बताएका छन् ।







डिसी नेपाल







Facebook Comment