इरानी विदेशमन्त्री जरिफ बग्दाद भ्रमणमा

डिसी नेपाल
४ साउन २०७७ २३:१७

बग्दाद (रासस–सिन्ह्वा)। इरानी विदेशमन्त्री मोहम्मद जावद जरिफ इराकसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय स्थितिका बारेमा छलफल गर्न इराकको एक दिने औपचारिक भ्रमणका लागि सोमबार बग्दाद पुगेका छन्।

आइतबार बिहान बग्दाद विमानस्थलमा अवतरण गरेएका जरिफलाई उनका समकक्षी इराकी विदेशमन्त्री फुआद हुसेनले विमानस्थलमा स्वागत गरेका थिए। दुबै विदेशमन्त्रीले मध्य बग्दादस्थित अति सुरक्षित ग्रिन जोन नजिकै रहेको इराकी विदेश मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

त्यस अवसरमा इराकी विदेशमन्त्री हुसेनले दुबै नेताबीच द्विपक्षीय सम्बन्धका साथै कोरानाभाइरसका कारण उत्पन्न स्वास्थ्य समस्याका कारण स्थगित भएको दुई देशबीचको व्यापार पुनः शुरु गर्ने बारेमा छलफल भएको जानकारी दिए।
क्षेत्रीय परिस्थितिका बारेमा सोधिएको प्रश्नमा इराकी विदेशमन्त्री हुसेनले भने, “शक्तिशाली इराक निर्माणको अर्थ क्षेत्रीय सामथ्र्यको वृद्धि हो र हामी सबै छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध निर्माण गर्ने कुरामा सहमत भएका छौं ।”

इरानी विदेशमन्त्री जरिफले इरान–इराक सम्बन्धलाई कसैले तोड्न नसक्ने बताउँदै सुदृढ एवं सक्षम इराकको निर्माणले क्षेत्रीय सन्तुलन कायम गर्न मद्दत पुग्ने बताए। उनले खाडी क्षेत्रमा इराकले सक्रिय भूमिका निर्वाह गर्न सक्षम होस् भन्ने इरानी चाहना रहेको पनि स्पष्ट गरे। मन्त्री जरिफले इस्लामिक स्टेट समूहबाट अझै पनि गम्भीर सुरक्षा चुनौती रहेको बताए।

एक दिने भ्रमणका क्रममा मन्त्री जरिफले इराकी उच्च पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले स्वदेश फर्कनुअघि कुर्दिस नेताहरुसँग अर्ध–स्वायत्त कुर्दिस्तानमा भेटघाट गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *