विश्वकी सबैभन्दा सुन्दर रानीको २ हजार वर्ष पुरानो रहस्यको खोजीमा ‘ब्रेक थ्रू’

डिसी नेपाल
५ साउन २०७७ ९:५२

काठमाडौं । मिश्र (इजिप्ट)की सबैभन्दा विख्यात रानी मानिने क्लियोपेट्राको रहस्यको खोजीमा ठूलो उपलब्धी हासिल भएको छ । २ हजार वर्षपछि पुरातत्वविद्हरुले उनको रहस्यको खोजी गरेको दावी गरेका छन् । क्लियोपेट्रालाई विश्वकै सबैभन्दा सुन्दर रानी पनि मानिन्छ । उनको सुन्दरताको चर्चा विश्वभर हुने भए पनि अहिलेसम्म उनको मृत्यु र उनको मकबरा (चिहान) एक रहस्य नै थिए । किनकि अहिलेसम्म कसैले पनि क्लियोपेट्राको मकबरा खोज्न सकेका थिएनन् ।

डेली एक्सप्रेसको रिपोर्टअनुसार अहिले पुरातत्वविदहरुले क्लियोपेट्राको मकबराको खोजी गरेको दावी गरेका छन् । मिश्रमा सन् ३६५ मा भयानक भूकम्प आएको र त्यो भूकम्पमा क्लियोपेट्राको मकबरा ध्वस्त भएको मानिँदै आइएको छ । तर, आर्कियोलोजिस्ट क्याथलिन मार्टिनेजले अहिले एलेक्जेन्ड्रिया शहरभन्दा करिब ४८ किलोमिटर टाढा यस्ता सबुत भेटेको दावी गरेकी छिन् जुन सबुतले क्लियोपेट्राको मकबरा कहाँ छ भन्ने जानकारी दिन्छन् ।

क्याथलिनका अनुसार यो मकबरा ट्यापोसिरिस मन्दिर नजिकै छ । यो मन्दिरमा आइसिस देवीको पुजा हुन्थ्यो । क्याथलिनले यो मन्दिरको नजिकै उत्खनन गर्दा २ सय शाही सिक्का भेटेको बताएकी छिन् । यी सिक्काहरुमा क्लियोपेट्राको अनुहार बनेको छ । इजिप्टोलोजिस्ट डा. ग्लेन गोडेन्होका अनुसार सिक्काहरु पुराना कुराहरु प्रमाणित गर्न सक्षम हुन्छन् । क्याथलिनले भेटेका सिक्काहरुबाट त्यतिबेला क्लियोपेट्राको शासन थियो र मन्दिरमा देवी आइसिको पुजा हुन्थ्यो भन्ने प्रमाणित हुने डा. गोडिन्होले बताएका छन् ।

डा. गोडिन्होले डेली एक्सप्रेससँग भने ‘अब क्याथलिनले यो कुरा प्रमाणित गर्नुपर्छ कि क्लियोपेट्राको देवी आइसिसको मन्दिरसँग व्यक्तिगत सम्बन्ध थियो ।’ सिक्काको एकतर्फ क्लियोपेट्राको अनुहार बनेको छ भने अर्कोतर्फ ग्रीक भाषामा क्लियोपेट्राको नाम लेखिएको छ । मिश्रमा क्लियोपेट्राको अनुहार भएका २ सय सिक्का भेटिएपछि अब यो ठाउँको आसपासमै क्लियोपेट्राको मकबरा भएको अनुमान गरिएको छ । मकबरामा उनको ममी पनि राखिएको हुन सक्ने अनुमान छ ।

मिश्रमा पहिले मन्दिरका पुजारीहरु जब राजा वा रानीको तर्फबाट पूजा गर्थे त्यतिबेला उनीहरु देवी आइसिसलाई राजा वा रानीको अनुहार भएका सिक्क चढाउँथे । यो परम्परा मिश्रमा सयौं वर्षसम्म चलेको थियो । अब आर्किलोजोजिस्टहरु यी सिक्काको सहयोगले क्लियोपेट्राको सही अनुहार बनाउन सहज बनाउने प्रयासमा छन् । क्लियोपेट्राको विषयमा हलिउडमा कैयौं फिल्महरु बनिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *