पाकिस्तान र बंगलादेशका प्रधानमन्धीबीच फोन वार्ता भएपछि भारत तनावमा
काठमाडौं। बुधबार दक्षिण एशियाली मुलुकहरु बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीबीच फोन वार्ता भएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खान र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच फोन वार्ता भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्।
यी दुई छिमेकीबीच सम्बन्ध सुधारको संकेत देखिएपछि भारतमा भने छटपटि देखिएको छ। भारतीय सञ्चारमाध्यमहरुले यसलाई ‘भारतका लागि नराम्रो’ संकेत भनेका छन्। तर, उनीहरुलाई किन नराम्रो लागेको हो त्यो भने खुलाएका छैनन्। भारतीय सञ्चार माध्यम आजतकले बंगलादेश र पाकिस्तानबीच सम्बन्ध सुधार हुनु भारतका लागि चिन्ताको विषय भएको उल्लेख गरेको छ। र बंगलादेशसँग भारतको राम्रो सम्बन्ध रहेकाबेला पाकिस्तानसँग उसको बढ्दो निकटतालाई नराम्रो संकेत भनेको छ।
बंगलादेश पाकिस्तानबाट टुक्रिएर बनेको मुस्लिम बहुल देश हो। उता पाकिस्तन भारतबाट टुक्रिएर बनेको मुस्लिम बहुल देश। भारतले पाकिस्तानलाई शत्रुदेशको श्रेणीमा राखेको छ। त्यसैले पाकिस्तानसँग बंगलादेशको सम्बन्ध सुधारलाई भारतीय सञ्चार माध्यमहरुले भारतको चिन्ताका रुपमा विश्लेषण गरेका हुन्।
समाचारअनुसार पाकिस्तनी प्रधानमन्त्री खानले बंगलादेशी प्रधानमन्त्रीसँगको फोन वार्ताका क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विषयमा पनि कुरा गरेका थिए। साथै उनले क्षेत्रीय शान्तिका लागि कश्मीर मामिला महत्वपूर्ण भएको बताएका थिए। साथै बाढी पहिरोले बंगलादेशमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै इमरान खानले सहयोग गर्ने बचन दिएका थिए। (विभिन्न समाचार एजेन्सीहरुको सहयोगमा)







डिसी नेपाल







Facebook Comment