के अमेरिकाबाट नयाँ महामारी फैलिन लागेको हो ? ११ राज्यमा ६४१ जना संक्रमित

डिसी नेपाल
१२ साउन २०७७ १०:१४

काठमाडौं। अमेरिकामा नयाँ परजीवी संक्रमणबाट ६ सय भन्दा बढी मानिसहरु बिरामी परेका छन् । जनस्वास्थ्य अधिकारीहरुका अनुसार फ्रेस एक्सप्रेसको ब्याकिङ गरिएको मिश्रित सलादसँग यो संक्रमणको सम्बन्ध भेटिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार गत हप्तासम्म संक्रमितको संख्या ११ वटा राज्यमा गरी कूल ६४१ पुगेको छ ।

फक्स बिजनेसका अनुसार अमेरिकाको फुट एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले सीडीसीसँग मिलेर ‘साइक्लोस्पोरा’ नामको यो संक्रमण विभिन्न राज्यहरुमा फैलिनुको कारणबारे ट्रेसब्याक अनुसन्धान गरिरहेको छ । सलादजन्य उत्पादनबाट फैलिएको यो संक्रमणबाट संक्रमितहरुमध्ये ३७ जना अस्पताल भर्ना भइसकेका छन् । अहिलेसम्म यो संक्रमणबाट कसैको मृत्यु भने भएको छैन ।

साइक्लोस्पोरा अमाशयजन्य बिरामी हो जो परजीवीबाट हुन्छ र मुख्य गरी सानो अमाशयलाई प्रभावित पार्छ । यो परजीवी भएका खाना वा पानी खाएपछि बिरामीमा पेट दुख्ने, पखाला, मतली लाग्ने, बान्ता हुने र अन्य पेटजन्य समस्याहरु हुन सक्छन् । लक्षणहरु सामान्यतया परजीवि शरीरमा प्रवेश गरेको एक हप्तापछि देखिन्छन् र बढीमा १ महिनासम्म लाग्छ सक्छ ।

गएको जूनको अन्त्यमा फ्रेस एक्सप्रेसले आइसबर्ग सलाद, रातो बन्दा र गाजर भएका उत्पादनहरु जसको उत्पादन कोड जेड १७८ भन्दा कम थियो, बजारबाट फिर्ता लिएको थियो । ‘फ्रेस एक्सप्रेसले फिर्ता मगाएका उत्पादनहरुमा केवल ती सलादहरु पर्छन् जसको उत्पादन कोड जेड अक्षरबाट सुरु हुन्छ र यो कोड उत्पादनको प्याकेटको अगाडिपट्टि माथि दाहिने कुनामा देख्न सकिन्छ’ फ्रेस एक्सप्रेसले आफ्नो वेबसाइटमा उत्पादन फिर्ता मगाउने सम्बन्धी सूचनामा लेखेको थियो ‘फ्रेस एक्सप्रेसका उपभोक्ताहरुलाई यी सबै उत्पादन फिर्ता पठाउन र फिर्ता मगाइएका उत्पादनहरु तत्कालै स्टोरहरुबाट हटाउन सूचित गरिन्छ ताकि ती उत्पादनहरु बिक्री वा उपभोगको लागि उपलब्ध नरहुन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *