सङ्कटमा छैनन् एम्बुलेन्स

डिसी नेपाल
२८ साउन २०७७ १७:४६

रामबहादुर थापा

बागलुङ । गत जेठ अन्तिम साता निसीखोला गाउँपालिकाका तीन कोरोना सङ्क्रमितलाई अस्पताल ल्याउन दुई दिन लाग्यो । असार पहिलो साता गलकोट नगरपालिका–११ का सङ्क्रमितलाई तीन दिनपछि आइसोलेसनमा ल्याइपु¥याइयो ।

दु्रत जाँच (आरडिटी) गर्दा पोजेटिभ रिपोर्ट आएपछि काठेखोला गाउँपालिकाकी महिलालाई रेडक्रसको एम्बुलेन्सले बोक्न मानेन । यी त प्रतिनिधि दृष्टान्तमात्र हुन् । यसले स्थानीय तहमा एम्बुलेन्स सेवा सहज नहुँदाको स्थिति झल्काउँछ । निसीखोला गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवारी साधनले सङ्क्रमित बोक्न मानेनन् ।

अर्को दिन बडिगाड गाउँपालिकाबाट गएको एम्बुलेन्सले सङ्क्रमितलाई सदरमुकामस्थित धवलागिरि अस्पताल ल्यायोे । गलकोट–११ का सङ्क्रमितलाई पनि ताराखोला गाउँपालिकाबाट गएको एम्बुलेन्सले बोक्यो । तमानखोला गाउँपालिकामा सङ्क्रमित भेटिँदा पनि बडिगाडबाट गएको एम्बुलेन्सले सेवा दियो । कोरोना महामारीको विषम स्थितिमा समेत आफ्नै एम्बुलेन्स नहुँदा स्थानीय तहले ठूलो सास्ती खेप्दैछन् । “एम्बुलेन्सको साह्रै अभाव खड्कियो, दुःख–गाह्रो पनि प¥यो”, निसीखोलाका अध्यक्ष तारानाथ पौडेलले भने, “अब गाउँपालिका आफैँले एम्बुलेन्स सञ्चालन गर्ने गरी योजना बनाउँछौँ ।”

केही समय सञ्चालनमा ल्याइएको एम्बुलेन्स पनि बिग्रिएर थन्किएको र अहिले गाउँपालिकामा एम्बुलेन्स सेवा नै नरहेको उनको भनाइ छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले पनि यो वर्ष एम्बुलेन्स किन्ने बताए । “गाउँपालिकाले पहिले नै किनिसक्थ्यो, केही संस्थाबाट सहयोगको आश्वासन आएपछि ढिलो भयो, अब आफैँ भए पनि किन्छौँ, अरूको बाटो हेर्दैनौँ”, उनले भने ।

निसीखोलाको केन्द्र सदरमुकाम बागलुङ बजारदेखि ११७ किमीको दूरीमा छ । तमानखोला अझ टाढा छ । ताराखोला गाउँपालिकाले आउँदो दशैँअगावै एम्बुलेन्स खरिद गरिने जनाएको छ । “एम्बुलेन्स खरिदका लागि सूचनासमेत प्रकाशित भइसकेको छ”, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने।

गलकोट समाज जापानको आर्थिक सहयोगमा किन्न लागिएको एम्बुलेन्स गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुनेछ । गाउँपालिकाको सहयोग लिएर चलाएको एम्बुलेन्स गत महिनादेखि बिग्रेर थन्किएको छ । एम्बुलेन्स नहुँदा गाउँपालिकाले अहिले कोरोना सङ्क्रमितका लागि भाडाको पिकअप जीप प्रयोग गरिरहेको छ । काठेखोला गाउँपालिकाले पनि नेपाल रेडक्रस सोसाइटी बिहुँकोट शाखाको एम्बुलेन्स व्यवस्थापन गरेर सञ्चालन गरिरहेको छ ।

“रेडक्रससँग सम्झौता गरी एम्बुलेन्स चलाइएको छ, अहिले गाउँपालिकाको आफ्नै एम्बुलेन्स छैन, अब किन्ने योजना बन्ला”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले भने। सङ्कटका बेलामात्र नभएर सामान्य स्थितिमा समेत एम्बुलेन्स सेवालाई तयारी हालतमा राख्नुपर्ने उनको भनाइ छ ।

गलकोट–१ का अध्यक्ष वीरजङ्ग भण्डारीले प्राथमिक स्वास्थ्य केन्द्र र एउटा निजी अस्पतालको एम्बुलेन्स सञ्चालन गरे पनि नगरपालिकाको आफ्नै एम्बुलेन्स नरहेको बताए । गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि गलकोट सेवा समाजको आर्थिक सहयोगमा खरिद गरिएको थियो ।

कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालकले नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भए । स्थानीय तहसँग आफ्नै एम्बुलेन्स, आफ्नै चालक भएका भए त्यो स्थिति आउने थिएन । अहिले पनि स्थानीय तह अस्पताल, रेडक्रसलगायत सङ्घसंस्थाले चलाएका एम्बुलेन्सका भरमा छन् ।

कतिपयले सवारी साधन भाडामा लिएर सङ्क्रमित बोक्न प्रयोग गरेका छन् । आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.