राजस्थानमा बन्दी बनाएर राखिएका थिए चिनियाँ मूलका ३ हजार मानिस !

डिसी नेपाल
२१ भदौ २०७७ १५:४९
48
Shares

काठमाडौं। कुरा १९ नोभेम्बर १९६२ को हो । अचानक दिउँसोमा शिलोंगको डन बस्को स्कुलमा भारतीय सेनाको एक टोली पुग्यो र उनीहरुले त्यहाँ पढिरहेका चिनियाँ मूलका विद्यार्थीहरुलाई एक ठाउँमा जम्मा गर्न सुरु गरे । उनीहरुमध्ये उक थिए १६ वर्षका यिंग शेंग वांग । भोलिपल्ट अपरान्ह साढे ४ बजे भारतीय सैनिकको एक टोलीले शिंगको घरको ढोका ढक्ढक्यायो । उनीहरुले परिवारलाई आफूसँग हिँड्न भने । सिपाहीहरुले शिंगका पितासँग भने साथमा केही सामान र पैसा राख्नू ।

त्यस दिन यिंग शेंग वांगको परिवारलाई, जसमा उनका मातापिता चाइ दाजुभाइ र जुम्ल्याहा दिदीबहिनी थिए, हिरासतमा लिइयो । उनीहरुलाई शिलोंग जेल लगियो । इतिहासको यो घटनाबारे ‘द देवली वालाज’ नामको किताबका लेखक दिलिप डिसूजा भन्छन् ‘१९६२ मा भारत र चीनबीच युद्ध भएको थियो । त्यतिबेला भारतमा बसिरहेका चिनियाँ मूलका मानिसहरुलाई शंकाको दृष्टिले हेर्न थालिएको थियो । यीमध्ये धेरैजसो ती मानिसहरु थिए जो भारतमा पुस्तौंदेखि बसिरहेका थिए र केवल भारतीय भाषा बोल्थे ।

भारतका तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले ‘डिफेन्स अफ इण्डिया एक्ट’मा हस्ताक्षर गरेका थिए जसअनुसार कुनै पनि व्यक्तिलाई दुश्मन देशको मूलको भएको शंकाको आधारमै गिरफ्तार गर्न सकिन्थ्यो । यसअघि अमेरिकाले पनि १९४२ मा पर्ल हार्बर आक्रमणपछि त्यहाँ बसिरहेका करिब १ लाख जापानीहरुलाई यस्तै गरी हिरासतमा लिएको थियो ।

वांग परिवारलाई ४ दिन शिलोंग जेलमा राखेपछि गुवाहाटी जेल पठाइयो । त्यहाँ ५ दिन बिताएपछि उनीहरुलाई रेलवे स्टेशन लगियो । त्यहाँ एउटा ट्रेनले उनीहरुको प्रतिक्षा गरिरहेको थियो । यो ट्रेन माकुम स्टेशनबाट सुरु भएको थियो । त्यो ट्रेनमा हिरासतमा लिइएका सयौं चिनियाँ मूलका मानिसहरुमध्ये ‘द देवली वाला’ पुस्तककी सह लेखिका जोय माकी आमा एफा मा पनि थिइन् ।

एफा मा भन्छिन् ‘यो यात्राको क्रममा हरेक यात्रीलाई अढाइ रुपैयाँ प्रतिदिनको दरले भत्ता दिइएको थियो । बालबालिकाहरुले सवा १ रुपैयाँ प्रतिदिनको हिसाबले भत्ता पाउँथे । दिउँसोतिर ट्रेन हिँडेको थियो र तीन दिनको सफर तय गर्दै राजस्थानमा कोटा जिल्ला नजिकै देवली पुगेको थियो । हामीसँग सिलिगुडी पुलिसका ८ जवान पनि थिए । उनीहरुले हामीलाई डिब्बाको ढोकाको नजिक नजान र कुनै पनि प्लेटफार्ममा नओर्लिन सावधान गराएका थिए । केही स्टेशनहरुमा जब ट्रेन रोकिन्थ्यो, हामीमाथि गोबर फ्याँकिन्थ्यो ।’

यिंग शेंग वांग भन्छन् ‘एक स्टेशनमा करिब डेढ सयदेखि २ सय ग्रामीण जम्मा भए । उनीहरुका हातमा चप्पलहरु थिए र उनीहरु ‘चिनियाँ फिर्ता जाउ’ भन्दै नारा लगाइरहेका थिए । उनीहरुले हाम्रो ट्रेनमा चप्पल र ढुंगा हान्न सुरु गरे । हामीले दौडेर आफ्नो डिब्बाका झ्यानहरु बन्द गर्यौं । हामी सोचिरहेका थियौं कि भीडलाई कसरी थाहा भयो कि यो ट्रेनमा चिनियाँहरु छन् ? पछि थाहा भयो यो ट्रेनको बाहिर एनिमी ट्रेन (दुश्मन रेल) लेखिएको थियो ।’ यो घटनापछि ट्रेन स्टेशनभन्दा केही पहिले नै रोकिन थाल्यो ताकि ट्रेनमा यात्रा गरिरहेका मानिसहरुको लागि खाना बनाउन सकियोस् ।

यो घटनाका विषयमा एउटा अर्को किताब ‘डुइङ टाइम विथ नेहरु’ लेख्ने यिन मार्श लेख्छिन् ‘मेरा पिता मान्नुहुन्थ्यो कि हरेक स्टेशनमा ट्रेन रोकिने कारण यो थियो कि भारत आफ्ना नागरिकलाई देखाउन सकोस् कि उसले चिनियाँहरुलाई भारतमाथि आक्रमण गरेको सजाय दिएर उनीहरुलाई जेलमा हालिरहेको छ ।’ मार्श अगाडि लेख्छिन् ‘बेलुकी मेरा पिताले ट्रेन अटेन्डेन्टसँगबाट केही परौंठा लिएर आउनुभयो । हामी अरु परौंठा खान चाहन्थ्यौं तर तिनीहरुमा आटा थियो र हामी सबैको भागमा १–१ परौठा मात्र पर्यो । त्यसपछि हामीलाई चिया दिइयो तर त्यसको स्वाद यति खराब थियो कि हामीले नपिएरै छाड्यौं ।’

तीन दिनेपछि रातको समयमा ट्रेन देवली पुग्यो । प्रशासनले क्याम्पको बाहिर एउटा टेबल राखेको थियो जहाँ हरेक व्यक्तिको विवरण लेखिँदै थियो कि उसँग कति नगद राशी वा सुन छ । सबै कैदीहरुलाई नम्बर र परिचय पत्र दिइएको थियो । उनीहरुलाई चिया र ब्रेड दिइयो तर ब्रेड यति कडा थियो कि त्यसलाई चियामा डुबाएर मात्र खान सकिन्थ्यो ।

दिलिप डिसुजा भन्छन् ‘त्यहाँ सैनिकले पाल टांगेर गएका थिए । त्यो नोभेम्बरको महिना थियो । त्यहाँ बस्ने कैदी जाडोले काँपिरहेका थिए । उनीहरुसँग न्यानो कपडा थिएन । हिँड्ने बेला उनीहरुलाई भनिएको थियो कि उनीहरु आफ्नो साथमा केवल एक जोडी कपडा मात्र लिएर हिँडुन् । उनीहरु निकै थाकेका थिए त्यसैले चिसो हुँदाहुँदै पनि उनीहरु निदाए । त्यहीबेला आधा राततिर महिलाहरुको आवाज सुनियो ‘सर्प ! सर्प !’ सबैजना उठेर बसे ।’

यो क्याम्पमा खाना बनाउने ठेक्का बाहिरी मानिसहरुलाई दिइएको थियो । उनीहरुसँग यति धेरै मानिसका लागि खाना बनाएको कुनै अनुभव थिएन । सुरुमा कैदहिरुलाई आधा पाकेको भात र डढेको तरकारी दिइयो । यो सिलसिला करिब २ महिनासम्म चल्यो । पछि जब मानिसहरु रिसाउन थाले त्यसपछि कमाण्डेन्टले हरेक परिवारलाई राशन दिने व्यवस्था सुरु गर्यो र उनीहरुलाई आफ्नो खाना आफैं बनाउन भनियो ।

साप्ताहिक राशनमा कहिलेकाहीँ अण्डा, माछा र मासु पनि दिइन्थ्यो । ‘द देवली वालाज’ पुस्तकको सह लेखिका जोय मा भीनछन् ‘हरेक व्यक्तिलाई हरेक महिना ५ रुपैयाँ दिइन्थ्यो जसलाई उनीहरु साबुनm टुथपेस्ट र निजी सामान लिनको लागि खर्च गर्न सक्थे । केही परिवारले त पैसा बचाउँथे किनकि उनीहरुलाई थाहा थिएन भविष्यमा उनीहरुसँग के हुनेवाला छ । यिन शेंग वांग भन्छन् ‘दिन त जसोतसो बित्थ्यो तर म रात काट्न सक्दिनथें । म अँध्यारोमा ओच्छ्यानमा सुतेर आकाशतिर हेर्ने गर्थें । म केवल यही सोच्थें कि म कहिले यहाँबाट छुटेर आफ्नो घर जाउँला ।’

यिन शेंग वांग अगाडि भन्छन् ‘गर्मीबाट बच्नको लागि म र मेरा साथीहरुले बोरा भिजाएर झ्यालमा टाँग्थ्यौं जसबाट कोठामा अँध्यारो र केही शितल होस् । त्यहाँ एउटा कुराको कुनै कमी थिएन – पानीको । बोरा भिजाएर हामीलाई लाग्थ्यो कि हामी आफ्नो जीवन राम्रो बनाउनको लागि केही त गर्दैछौं ।

क्याम्पमा मनोरञ्जनको एकमात्र साधन हुन्थ्यो हिन्दी फिल्मको प्रदर्शन । त्यहाँ हिन्दी फिल्म देखाउनको लागि मैदानमा स्क्रिन लगाइन्थ्यो र कैदीले आफ्नो कोठाबाट चारपाइ तानेर ल्याउँथे अनि त्यसमा बसेर फिल्म हेर्थे । जोय भन्छिन् ‘रिक्रिएसन रुपममा अखबार त आउँथे तर तिनीहरुमा प्वाल हुन्थे किनकि चीनसँग सम्बन्धित र राजनीतिक समाचारलाई काटेर अखबारबाट अलग गरिन्थ्यो । हामी पोस्टकार्डमा अंग्रेजीमा पत्र लेख्थ्यौं । हामीलाथर्् थाहा भएको थियो कि खाममा पठाइएका पत्र ढिलो पुग्थे किनकि तिनीहरुलाई सेन्सर गर्न दिल्ली पठाइन्थ्यो ।’

देवली क्याम्पमा बसेका अर्का एक बन्दी स्टिभेन वेन भन्छन् ‘अधिकारीहरुले क्याम्पमा बस्नेहरुलाई न कुनै भाँडा दिए न मग वा चम्चा । हामी या त बिस्कुटको टिनको डिब्बमा आफ्नो खाना खान्थ्यौं वा पातमा । हामीलाई यो देखेर निकै धक्का लाग्यो कि भान्छेहरुले चामल नपखाली सिधै बोराबाट भाँडामा खन्याएर उसिन्थे । त्यहाँ निकै धेरै मानिसहरुको लागि खाना बन्थ्यो त्यसैले खाना या त आधा पाकेको हुन्थ्यो या डढेको हुन्थ्यो ।

यिम मार्श लेख्छिन् ‘मानिसहरु लाइनमा उभिएर व्यग्रतापूर्वक आफ्नो खानाको प्रतिक्षा गर्थे । त्यसैले भान्छेले समयभन्दा पहिल्यै चुलोबाट खाना उतार्थे । कैयौं पटक त हामीले खाना लिएपछि त्यसलाई फेरि उमाल्थ्यौं । एक पटक हामीले मिट करी पायौं । तर त्यो मासु यति कडा थियो कि हामीलाई लाग्यो हामीले पुरानो छाला खाइरहेका छौं । पछि हामीलाई यो थाहा पाएर निकै धक्का लाग्यो कि हामीलाई बुढो उँटको मासु खुवाइएको थियो । जब हामीले यसको विरोध गर्यौं त्यसपछि हामीलाई उँटको मासु दिन बन्द भयो ।’

देवली क्याम्पमा बसेका अर्का एक व्यक्ति माइकल चेंग भन्छन् ‘म क्याम्पमा पाइने खानाको स्वाद कहिल्यै भुल्न सक्दिन किनकि उनीहरु खानामा तोरीको तेल प्रयोग गर्थे । अहिले पनि जब म आफ्नो कुनै साथीकहाँ खाना खान जान्छु र उनीहरुकहाँ तोरीको तेल प्रयोग हुन्छ अनि मलाई देवली क्याम्पमा बिताएका दिन याद आउँछन् । जब हामीले आफ्नो खाना आफैं बनाउन लाग्यौं त्यसपछि म टाढा गएर दाउरा खोजेर ल्याउँथें । तर केही दिनमै त्यहाँका सबै दाउरा सकिएका थिए । त्यसपछि हामीले रुखका जरालाई इन्धनको लागि ल्याउन थाल्यौं । हामी गुलेलीले कैयौं चरा पनि मार्थ्यौं ताकि हामी तिनीहरुलाई खान सकौं ।’

मार्श यिन लेख्छिन् ‘मेरो परिवारले मलाई भाँडा माझ्ने जिम्मेवारी दिएका थिए तर हामीसँग भाँडा माझ्न कुनै साबुन थिएन । मैले भारतीय फिल्ममा ग्रामीण महिलाहरुले खरानीले भाँडा माझेको देखेकी थिएँ । मैले पनि त्यही तरिका अपनाएँ र मेरा भाँडा चम्किन थाले । तर जब पछि मलाई क्याम्पबाट छाडियो मेरो हातको त्वचा खराब भयो । मेरो हातबाट मेरो छाला यसरी खस्न थाल्यो जसरी प्याजका बोक्रा खस्छन् । कैयौं वर्षको उपचारपछि मेरो यो समस्या ठिक भयो ।

शौचालयमा कुनै छत हुँदैनथ्यो र कैयौं पटक उनीहरु वर्षिरहेको पानीको बीचमा त्यहाँ जानु पर्थ्यो । सधैं नाश्तापछि उनीहरुको एउटै काम हुन्थ्यो फुटबल खेल्नु । रोचक कुरा यो थियो कि पूरै क्याम्पमा केवल एउटा मात्र फुटबल थियो । जोय माकी आमा एफा माले उनलाई बताएकी थियन् कि १९६३ मा भारतका तत्कालीन गृहमनत्री लाल बहादुर शास्त्री देवली क्याम्पमा आएका थिए । जब हामीलाई उनीसँग भेटाइयो उनले भने कि जो भारतमा बस्न चाहन्छन् उनीहरु उकतर्फ र जो चीन जान चाहन्छन् उनीहरु अर्कोतर्फ उभिउन् ।

मेरा पिता र मेरी आमा भारतमा बस्नेहरुतिर उभिएका थिए तर यसपछि केही पनि भएन । केही महिनापछि मेरी आमाले क्याम्पका कमाण्डेन्ट आरएच रावसँग सोध्नुभयो कि गृहमन्त्रीले हामीसँग बाचा गर्नुभएको थियो कि जो मानिसहरु भारतमा बस्न चाहन्छन् उनीहरुलाई घर उठाइनेछ । कमाण्डरले केही सोचेर जवाफ दिएका थिए ‘तपाइँले भन्नुभएको थियो तपाइँ भारतमा बस्न चाहनुहुन्छ । जुन जमिनमा तपाइँ उभिनुभएको छ त्यो पनि त भारत हो ।’

यी बन्दहिरुमध्ये अधिकांशले करिब ४ वर्ष देवली जृलमा बिताए । केही मानिसहरुको मृत्यु यही क्याम्पमा भयो भने जोय मा जस्ता केहीले यहाँ जन्म पनि लिए । न चीन सरकारले उनीहरुबारे चासो राख्यो, भारत सरकारले पनि उनीहरुलाई त्यहाँ राखेपछि एक किसिमले बिर्सियो । रफीक इलियासले भने यो पूरै प्रकरणमा एक डक्युमेन्ट्री फिल्म बनाए – ‘बियोन्ड बार्ब्ड वायर्सः अ डिस्टेंट डन । १९३१ देखि नै ब्रिटिश सरकारले देवली क्याम्पको प्रयोग राजनैतिक बन्दीहरुलाई राख्नको लागि गर्थ्यो ।

४० को दशकमा जयप्रकाश नारायण, श्रीपद अमृत डांगे, जवाहरलाल नेहरु र बीटी रणदिवेलाई यहाँ कैदीको रुपमा राखिएको थियो । दोस्रो विश्वयुद्धमा जर्मन, जापानी र इटलियन युद्ध बन्दीहरुलाई पनि यहाँ राखिएको थियो । १९४७ को विभाजनपछि पाकिस्तानबाट भागेर आएका १० हजार सिन्धीहरुलाई पनि केही दिनको लागि यहाँ राखियो । १९५७ मा यसलाई सीआरपीएफको एक क्याम्प बनाइयो र यहाँ उसका २ बटालियन तैनाथ गरियो । १९८० मा यसलाई सीआइएसएफलाई दिइयो । १९८४ देखि यो सीआइएसएफको भर्ती प्रशिक्षण केन्द्रको रुपमा काम गरिरहेको छ ।

केही दिनपछि चीनले थाहा पायो कि भारतले चिनियाँ मूलका मानिसहरुलाई बन्दी बनाएर देवलीमा राखेको छ । चीनले ती मानिसहरुलाई आफ्नो देशमा बोलाउने प्रस्ताव दियो । धेरै बन्दीहरुले यो प्रस्तावलाई स्वीकार गरे र उनीहरु चीन गए । धेरै मानिसहरु चीन जान चाहँदैनथे किनकि चीनमा खडेरी परेको हल्ला फैलिएको थियो ।

धेरै मानिसहरु यसकारण पनि चीन जान चाहँदैनथे किनकि उनीहरुले चीनको कम्युनिस्ट सरकारको विरोध गरेर ताइवानको सरकारको समर्थन गरेका थिए । तर जब उनीहरुले देखे कि भारतमा उनीहरुको कुनै भविष्य छैन, त्यसपछि उनीहरुले पनि चीन जाने निर्णय गरे । यी मानिसहरुका कैयौं पुस्ता भारतमा बसेका थिए र उनीहरु केवल भारतीय भाषाहरु हिन्दी, बांग्ला वा नेपाली बोल्थे । यस्तोमा चीन उनीहरुको लागि चीन उत्तिकै विदेशी देश थियो जस्तो भारतको लागि कुनै अफ्रिकी देश ।

जेलबाट छुटेपछि जब यी मानिसहरु आफ्नो पुरानो घर पुगे ती घरमा अरुले कब्जा गरिसकेका थिए । धेरै मानिसहरुले अमेरिका, क्यानडा र अन्य देशहरुमा बस्ने निर्णय गरे । यीमध्ये धेरै परिवार आज पनि क्यानडाको टोरन्टो शहरमा बस्छन् । उनीहरुले ‘एसोसिएसन अफ इण्डिया देवली क्याम्प इनटर्निज १९६२’ नामको एक संस्था बनाएका छन् । २०१७ को सुरुवातमा उनीहरुले क्यानडामा भारतीय उच्चायोगबाहिर प्रदर्शन गरेर भारत सरकारको त्यो दुर्व्यवहारको लागि माफी माग्नुपर्ने माग राखे ।

द देवली वालाज पुस्तकको लेखक दिलिप डिसुजा भन्छन् ‘जब उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको एक पत्र उच्चायोगका अधिकारीहरुलाई दिने कोसिस गरे अधिकारीहरुले त्यसलाई लिन अस्वीकार गरे । उनीहरुले त्यो पत्र उच्चायोगको गेटमा टाँसेर फर्किए । ती सबै मानिसहरुले उस्तै टिसर्ट लगाएका थिए जसमा देवली क्याम्पका चित्र छापिएका थिए । फर्किने क्रममा संगठनका मानिसहरुले यिन शेंग वांगसँग एउटा गीत गाउन फर्माइस गरेपछि लाग्यो उनले कुने चिनियाँ गीत सुनाउनेछन् ।

तर, त्यही बेला यिंक शिंग वांगले ‘दिल अपना और प्रित पराइ’ फिल्मको गीत सुरु गरे ‘अजीब दास्ताँ है ये, कहाँ शुरु कहाँ खतम…’ यो सुन्नासाथ कैयौं को आँखामा आँसु आए । दिलिप भन्छन् ‘यसका दुई कारण थिए । एक यो कि चिनियाँ भारतीय जसले कैयौं दशक पहिले दुखद परिस्थितिमा भारत छाडेका थिए, ओटावाबाट टोरन्टो जाँदै गर्दा चलिरहेको बसमा एउटा पुरानो हिन्दी गीत गाइरहेका छन् । अर्को, मलाई महसुस भयो कि चिनियाँहरुको अनुहार र छालाको रंगको बारेमा मेरो धारणा धेरैथोरै त्यही थियो जसले एकपटक वांग र ती हजारौं चिनियाँहरुलाई देवली हिरासत क्याम्प पठाएको थियो । उनीहरुको गल्ती केवल यत्ति थियो कि उनीहरु चिनियाँजस्ता देखिन्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.