आइसोलेसन विस्तार

डिसी नेपाल
२५ भदौ २०७७ १८:०६

काभ्रेपलाञ्चोक । समुदायस्तरमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा यहाँका स्थानीय तह आइसोलेसन विस्तारमा जुटेका छन् । धुलिखेल नगरपालिकाले हालैमात्र ५० बेडको आइसोलेसन तयार गरेको छ । स्थानीयस्तरमा सङ्क्रमण बढ्दै गएपछि बनेपा नपाले भदौ पहिलो साता ५० बेडको आइसोलेसन व्यवस्थापन गरेको थियो ।

धुलिखेलले १०० बेडको क्यारेन्टिन सञ्चालन गरेको धुलिखेलस्थित सञ्जीवनी उच्च माविलाई ५० बेडको आइसोलेसनमा व्यवस्थित गरिएको नगरपालिकाले जनाएको छ । “अस्पतालले मात्रै बिरामीको व्यवस्थापन गर्न नसक्ने भएकाले सङ्क्रमितको उपचारका लागि आवश्यक उपकरणसहित आइसोलेसन ब्यवस्थित ग¥यौँ, आजैदेखि बिरामीको व्यवस्थापन शुरु गरेका छौँ”, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनले समुदायमा सङ्क्रमण फैलन नदिई रोकथामका सबै उपाय सञ्चालन गरिने बताए ।

एउटै वडामा २५ सम्ममा सङ्क्रमण देखिएपछि तत्काल आइसोलेसन व्यवस्थित गरिएको नगर स्वास्थ्य शाखाले जनायो । “समुदायका ५१ जनाको परीक्षणमा २५ जना सङ्क्रमित देखिएपछि तत्काल नगरपालिकाले निर्णय गरी आइसोलेसन व्यवस्थापन गरेको हो”, शाखा संयोजक सन्दिप केसीले भने । सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’अन्तर्गत नगरपालिकाले प्रारम्भिक चरणमा एक हजारको कोरोना भाइरस परीक्षण शुरु गरेको छ । सोअन्तर्गत १७० को परीक्षण गरिएको केसीले जानकारी दिए । हालसम्म धुलिखेलमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ छ ।

बनेपा नगरपालिकाले बनेपास्थित प्राविधिक शिक्षालय भवनमा भदौ पहिलो साता ५० बेडको आइसोलेसन व्यवस्थित गरेको थियो । समुदायस्तरमा सङ्क्रमण फैलिएकाले स्थानीय तह आफैंले आइसोलेसन बनाउनुपर्ने आवश्यकता देखिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताए ।

यसैबीच, जिल्लाभित्र कोरोना भाइरस् सङ्क्रमणको जोखिम समुदायस्तरमा देखिएपछि करिब तीन महिनाअघि नै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टको संयुक्त बैठकले स्थानीय तहलाई आइसोलेसन कक्ष बनाउन पटक पटक आग्रह गर्दै आएको जनाएको छ । “सबै स्थानीय तहलाई आइसोलेसन कक्ष व्यवस्थित गर्न आग्रह गर्दै आएका छौँ, केहीले मात्रै बनाएका छन्, अन्यले बेवास्ता गरेको देखियो”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले भने ।

झाका अनुसार स्थानीय तहले आइसोलेसन नबनाए जिल्लाका अस्पतालले सङ्क्रमित धान्नसक्ने अवस्था रहन्न । पोष्ट र केन्द्रले सबै स्थानीय तहलाई प्रारम्भिक चरणमा १० बेडको आइसोलेशन कक्ष तयार गर्न पटक पटक आग्रह गर्दै आएको हो । यहाँका १३ स्थानीय तहमध्ये आठले आइसोलेसन निर्माण गरेका छैनन् । बनेपाले ५० बेड र धुलिखेल नपाले ५० बेड, पाँचखालले सात, पनौतीले छ तथा नमोबुद्धले छ बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् । मण्डनदेउपुर नगर तथा खानीखोला, महाभारत, रोशी, बेथानचोक, तेमाल, भुम्लु र चौंरीदेउराली गाउँपालिकाले हालसम्म आइसोलेसन व्यवस्थित गरेका छैनन् ।

जिल्लामा हालसम्म ३६८ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये दुईको मृत्यु भएको छ भने १८१ उपचारपछि घर फर्किएका छन् । अन्य १८५ सक्रिय सङक्रमितमध्ये १४५ अस्पताल आइसोलेशन र ४० होम आइसोलेशनमा उपचाररत रहेको पोष्टले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.