पूर्वमाओवादी नेतालाई तक्मा दिन ओलीको निर्देशन
काठमाडौं। सशस्त्र विद्रोहमा हतियार बोकेर हिडेका एकजना पूर्वमाओवादीका नेता लोकेन्द्र विष्ट मगरलाई नेपाल सरकारले तक्मा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ गते बिहीबारको मन्त्रिपरिषद्को बैठकमा विष्टको नाम विभुषण, पद्वी अर्थात तक्माको लिष्टमा नपरेपछि तत्काल उनको नाम थप गर्न बैठकमै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए।
पूर्वनिर्धारित विषयहरुमा उल्लेख नभएको तर मुख्यसचिव रेग्मीले ठाडो प्रस्तावका रुपमा पेश गरेको विभूषण प्रदान गर्ने व्यक्तिहरुको नाम छनौटसम्बन्धी प्रस्ताव हेर्दै प्रधानमन्त्री ओलीले पूर्वमाओवादी नेता विष्टको नाम छुटाउनु नहुने धारणा राखेका थिए।
मन्त्रिपरिषद्ले झण्डै २ सयको संख्याका व्यक्तिहरुलाई तक्मा दिने गरी निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाकै मन्त्रालयका तर्फबाट तयार गरिएको लिष्टमा थापाकै पूर्वसहकर्मी विष्टको नाम थप गर्न ओलीले निर्देशन दिनुपरेको एउटा रमाइलो दृश्य मन्त्रिपरिषद्को बैठकमा देखिएको पूर्वएमालेसम्बद्ध एक मन्त्रीले डिसी नेपाललाई बताए।
कृषिमा उल्लेखनीय योगदान गरेको आधारमा ओलीको सिफारिसमा विष्टले राज्यबाट तक्मा सम्मान पाउने भएका हुन्। तर, विष्टलाई दिइने तक्मा कुन श्रेणीको हो भन्ने चाहिँ खुलेको छैन। विष्टका फेसबुक स्ट्याटसहरु हेर्ने हो भने अधिकांश राजनीतिक स्ट्याटसमा ओलीलाई व्यंग्य गरिएका बढी नै शेयर गरिएका भेटिन्छन्।
तत्कालीन नेकपा माओवादीका पोलिटव्युरो सदस्य हुँदै पार्टीको नेतृत्वदायी स्थानसम्म पुगेका र देशको पर्यटनमन्त्री समेत भइसकेका विष्ट यतिबेला पार्टी राजनीति छाडेर दुर्लभ र औषधिजन्य ड्रागन फ्रुटसँगै, दुर्लभ तर स्वास्थ्यका लागि अति आवश्यक मानिएको कालो धानको खेती गर्दै आएका छन्।
नेकपा एमाओवादी विभाजित भई टुक्रा टुक्रामा पुगेपनि नेतृत्वले नचेतेको भन्दै इमान्दार कार्यकर्ताहरुलाई छिछि र दुरदुर गर्ने, नक्कली सुकिला मुुकिलाहरुलाई काखी च्याप्ने गरेको आरोप तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगाउने पार्टीका पदहरु त्याग्ने स्वघोषणा गरेका थिए।
त्यसयता उनी राजनीतिप्रति वितृष्णा जनाउंछन् र उपयोगी फलफूल, तरकारी र अन्य बाली लगाएर अहोरात्र कृषि कर्ममा दत्तचित्त भएर कृयाशील हुन्छन्। सेप्टेम्बर आठ तारिकका दिन त्यस्तै एउटा फेसबुक स्ट्याटस लेख्दै विष्टले ‘टाउकेहरु लाउके भएर राजनीति गरी खानुभन्दा, आफ्नै टाउकोले टेकेर नाकले जोतेर स्वाभिमान र हिम्मतले खाइन्छ र बाचिन्छ कमरेड’ भन्दै राजनीतिप्रति वितृष्णपूर्ण तर आफ्नो श्रमप्रति गर्व गर्ने कुरा लेखेका थिए।







डिसी नेपाल








Facebook Comment